पुष्करलाल श्रेष्ठ
नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनमा कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि सरकार बनाउन तयारी भइरहेका बेलामा कम्युनिस्टले राजनीति नै गर्न नपाउने देश स्लोभाकियाबारे लेख्दै छु।
मध्ययुरोपको नेपालजस्तै सानो भूपरिवेष्टित देश स्लोभाकियामा माक्र्सवादी–लेनिनवादी विचारधारा बोकेकाले त राजनीतिक पार्टीसमेत खोल्न नपाउने कुरा त्यहीँ पुगेपछि मात्र थाहा पाइएको हो।
स्लोभाकियाको इतिहास बुझ्दा दशौं शताब्दीसम्म यो मुलुक हँगेरीकै अधीनमा रहेछ। पहिलो विश्वयुद्धमा हँगेरी पराजित भएसँगै यहाँ शासन गरिरहेका राजासमेत पदच्यूत भएपछि स्लोभाकिया अलग्गिएर चेकसँग मिल्न पुगेको थियो। स्लोभाकिया चेकसँग मिलेपछि नै दुई देशको नाम जोडेर चेकोस्लोभाकिया बनेको हो।
सन् १९३९ पछि नाजी जर्मनीको मध्ययुरोपमा निकै बोलवाला थियो। चेकोस्लोभाकियामा त झन् त्यस बेला नाजी जर्मनीहरूको हालिमुहाली नै थियो। यही बेला जर्मनीका तानाशाह हिटलरको उक्साहटमा परेर उसकै साथ लिई स्लोभाकिया चेकोस्लोभाकियाबाट छुटेर स्वतन्त्र राष्ट्र बन्यो। दोस्रो विश्वयुद्धमा हिटलरको नराम्ररी पराजित भएपछि पुनः स्लोभाकिया चेकसँग मिल्न बाध्य भयो। त्यसपछि फेरि यसको नाम चेकोस्लाभाकिया नै रहन गयो। यसरी दुई देशको पुनर्मिलन भए पनि दोस्रो विश्वयुद्धमा जर्मनीलाई नराम्ररी हार चखाएको तत्कालीन सोभियत संघले चेकोस्लोभाकियालाई कठपुतलीजस्तै बनाएको थियो। सोभियत संघको अधीनमा आएपछि चेकोस्लोभाकियामा लादेको जबरजस्ती कम्युनिस्ट शासन नै पछि गएर त्यहाँका जनतामा कम्युनिजमप्रति घृणा जगाउने प्रमुख कारण बन्न पुगेको थियो।
चेकोस्लोभाकियाका जनतामा कम्युनिस्ट व्यवस्थाप्रति बढ्दै गइरहेको घृणा र विरोधले उग्र रूप लिएपछि सन् १९८९ मा यो मुलुक कम्युनिस्ट शासनबाट मुक्त भएको थियो। चेकोस्लोभाकियामा कम्युनिस्ट व्यवस्था अन्त्य गर्नका लागि त्यहाँका विद्यार्थीले ठूलो भूमिका निर्वाह गरेका थिए। त्यस बेलाका बलियो सोभियत संघको समेत केही जोड नचलेको संसारमा ‘भेलभेट’ नामले चर्चित चेक विद्यार्थीको यो शान्तिपूर्ण आन्दोलनमा नेपालमा जस्तो विद्यार्थीले कुनै भौतिक संरचनाहरू तोेडफोड नगरीकनै चेकोस्लाभाकियाबाट कम्युनिस्ट शासन अन्त्य गर्न चेक विद्यार्थी सफल भएका थिए। सायद जनतामा कम्युनिस्टप्रति ठूलो वितृष्णा जागेर नै होला, फेरि कम्युनिजम फैलने डरले १ जनवरी १९९३ मा स्लोभाकिया एकपटक फेरि चेकोस्लाभाकियाबाट छुटेर स्वतन्त राष्ट्र बनेको हो।
कम्युनिस्टहरूले राजनीति गर्न नपाइने बाहेक अहिले स्लोभाकियाको राजनीतिक व्यवस्था नेपालसँगै हुबहु मिल्छ भन्दा हुन्छ। नेपालभन्दा एक प्रदेश मात्र बढी अर्थात् ८ वटा प्रदेश भएको स्लोभाकिया नेपालमा जस्तै मल्टी पार्टी सिस्टम भएको गणतान्त्रिक संसदीय व्यवस्था भएको देश हो। यहाँ पनि नेपालमा जस्तै राष्ट्रपति देशको प्रमुख भए पनि कार्यकारी अधिकार भने सबै प्रधानमन्त्रीमा निहित रहेको छ। बहुमतको आधारमा संसद्बाटै चुनिने संसदीय दलका नेतालाई नेपालमा जस्तो राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथग्रहण गराउने चलन छ। अहिले स्लोभाकियाका राष्ट्रपति एन्डे«ज किस्का हुनुहुन्छ भने रबर्ट फिको प्रधानमन्त्री हुनुहुन्छ।
४९ हजार वर्गकिलोमिटर क्षेत्रफलमा पैmलिएको स्लोभाकियाका धेरै कुरा नेपालसँग मिल्दाजुल्दा छन्। नेपालजस्तै भूपरिवेष्टित तर प्राकृतिकरूपमा अत्यन्त सुन्दर देश स्लोभाकिया पनि नेपालजस्तै पहाडी मुलुक हो। यहाँ नेपालमा जस्तै प्रशस्तै गुफा पाइन्छन्। स्लोभाकियाको सुन्दर प्राकृतिक दृश्य, पुराना क्यासलहरू, स्की पार्क र आकर्षक आर्किटेक चर्च तथा दरबारहरू हेर्न बर्सेनि सरदर ५० लाख पर्यटक आउने गरेका छन्। यहाँको सबैभन्दा राम्रो र प्रसिद्ध बोजानिज क्यासलमा त हलिउड र बलिउडका चलचित्रहरू सुटिङ गर्न होडबाजी नै हुने गरेको छ।
हाम्रो सगरमाथाको उचाइभन्दा लगभग ४ गुणा होचो गेभरिला चउस्की स्टिक पर्वत शृंखला हेर्न पनि यहाँ थुप्रै पर्यटक आउने रहेछन््। विश्वकै धेरै गुफा भएको यो मुलुकमा ३० वटा ठूला गुफा पर्यटकका लागि खुला राखिएको छ। यसबाहेक जताततै आकर्षक पार्क देखिने स्लोभाकियामा ९ वटा त ठूला–ठूला राष्ट्रिय पार्क छन्। तीमध्ये सन् १९४९ मा बनेको विश्वकै चर्चित ताट्रा राष्ट्रिय पार्क त यहाँ पुगेपछि हेर्न छुटाउनै नहुने पार्क हो। काठमाडौंको काष्ठमण्डपमा जन्मेको र बच्चैदेखि घरवरिपरि जता गए पनि मन्दिरै मन्दिर देखिरहेको यस लेखकलाई स्लोभाकियाको जुनसुकै टोलमा गए पनि मन्दिरजस्तै सुन्दर चर्चहरू देख्दा घरि–घरि आफू जन्मे–हुर्केका ठाउँको याद आइरहेको थियो।
पचास लाख मात्र जनता भएको सानो मुलुक भए पनि स्लोभाकिया हाल विश्वको ४०औं धनी मुलुक हो। चेक गणराज्य, अस्ट्रिया, पोल्यान्ड र युक्रेनले घेरिएको स्लोभाकिया युरोपको ठूलो अर्थतन्त्र भएको देश हो। सन् २००८ मार्च महिनामा यहाँका अर्थमन्त्रीले अब स्लोभाकिया विदेशबाट सहयोग लिने होइन, दिने देश बनिसकेको भनी गर्वका साथ भाषण गरेका थिए। पूर्ण प्रेस स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता र नागरिक स्वतन्त्रताका कारण यो देशमा अहिले निकै शान्ति छ। सधैं गृहयुद्ध भइरहने छिमेकी मुलुक युक्रेनका धेरै मानिस शान्त भएकै कारण यहाँ आएर बस्न रुचाउँदा रहेछन्।
स्लोभाकियामा एउटा यस्तो वेश्यालय पनि रहेछ, जहाँ सित्तैमा सम्भोग गर्न पाइन्छ। यस वेश्यालयमा सम्भोग गर्न धेरै पुरुष मरिहत्ते नै गर्छन्। यस वेश्यालयमा सम्भोग गर्नका लागि पुरुषले एउटा सर्तको भने पालना गर्नुपर्ने हुन्छ। जुन सर्त हामीजस्ता नेपालीलाई स्वीकार्य नहुन पनि सक्छ। यस वेश्यालयका यौनकर्मी महिलासँग यौनक्रीडा गरिरहेको भिडियो खिच्न मञ्जुर हुने पुरुषले मात्र यहाँका महिलासँग सित्तै यौनक्रीडा गर्न पाउँछन्। त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यावसायिकरूपमा बिक्रीवितरण गर्न सकिने कुरामा राजी हुनुपर्ने यस वेश्यालयको नियम स्वीकार्ने पुरुषहरू भने यहाँ निःशंकोच पुग्न सक्छन्। यस कुराले पनि स्लोभाकियाले आफ्ना नागरिकलाई कुन हदसम्म स्वतन्त्रता दिएको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ।
लगभग शतप्रतिशत जनता साक्षर रहेको स्लोभाकियामा तुलनात्मकरूपमा युरोपका अन्य मजदुरभन्दा शिक्षित भए पनि यहाँका मजदुरले कम ज्यालामा काम गर्ने, करको दर पनि निकै कम, लगानी–मैत्री कानुन र मुलुक पनि शान्त भएकाले स्लोभाकिया बाहिरी राष्ट्रका लागि राम्रो लगानी गर्न सकिने देश हो। सायद यही कारणले होला, जर्मनीको भक्सवागन, फ्रान्सको पर्जियो र दक्षिण कोरियाको कियाजस्ता विश्वप्रसिद्ध मोटर कम्पनीका गाडी एसेम्बल गर्ने प्लान्टहरू स्लोभाकियामा देख्न पाइन्छ। अहिले जागवायर, ल्यान्डलोभरजस्ता अटोमोबाइल प्लान्ट पनि यसै वर्ष यहाँ आउने बताइएको थियो।
यसै गरी इन्टरनेट फ्रिडमका कारण सामसुङ, एप्पलको फक्सकन, इसेटजस्ता विश्वका चर्चित आईटी कम्पनीका विशाल कम्पनी पनि यहाँ आएर काम गरिरहेका छन्। युरोपका धेरै मुलुकमा जस्तै हरेक जनताका लागि निःशुल्क स्वास्थ्य र शिक्षाको सुविधा भएको स्लोभाकियामा ६ वर्षदेखि १६ वर्षसम्मका लागि शिक्षा अनिवार्य गरिएको छ। २६ वर्ष नाघिसकेकाले स्नातक र ३० वर्ष नाघिसकेकाले स्नातकोत्तर गर्न चाहेमा भने आफ्नै खर्चले पढ्नुपर्ने रहेछ। सन् १९१९ मा बनेको कोमनियोस स्लोभाकियाको सबैभन्दा ठूलो विश्वविद्यालय हो। जनताको स्वास्थ्यलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर हेरिने भएकाले यस देशका जनता निकै स्वस्थ र दीर्घायु पनि रहेछन्। सुत्केरी महिलाका लागि यो मुलुक स्वर्ग नै भन्दा हुन्छ। सुत्केरी भएपछि यहाँ २ सय ४० दिनसम्म तलबी बिदा पाइन्छ।
नेपालमा जस्तै घनाजंगल धेरै भएकाले यहाँका जनता सिकार गर्न खूब मन पराउँदा रहेछन्। सिकारकै क्रममा जंगली बँदेलहरू धेरै मारिने भएका कारण यहाँका मानिस बँदेल र सँुगुरका मासु खूब खाँदा रहेछन्। पेय पदार्थमा यहाँका मानिसलाई वाइन मनपर्दो रहेछ, त्यो पनि ह्वाइट वाइन। हामीकहाँ जस्तो यहाँका मानिसहरू रेड वाइन खोजेर हिँड्दा रहेनछन्। पहिले अनिवार्य सेनाको तालिम लिनुपर्ने भए पनि अहिले सन् २००६ देखि यहाँका जनतालाई सेनाको तालिम लिनु अनिवार्य छैन। अमेरिकाको नेटोसँग सीधै जोडिएको स्लोभाकियामा सैनिकको संख्या जम्मा १४ हजार मात्र रहेछ।
सन् १९९९ सम्म २० प्रतिशत बेरोजगारी भएको यो देशले सन् २०१७ सम्म आइपुग्दा बेरोजगारी संख्या ६ प्रतिशतमा झार्न सफल भइसकेको छ। यो मुलुकमा जम्मा ४ प्रतिशत मात्र मुद्रास्फीतिको समस्या छ। सन् २००४ मा युरोपियन युनियनमा आबद्ध भएको स्लोभाकिया खेलकुदमा समेत अब्बल देखिएको छ। यति सानो मुलुक भएर पनि स्लोभाकियाले सन् २०१० मा भएको विश्वकप फुटबलमा प्रतिस्पर्धा गरेको थियो। आइस हकी र फुटबल लोकप्रिय भए पनि स्लोभाकहरू टेनिस, ह्यान्डबल, बास्केटबल, भलिबल र जिम्नास्टिक पनि उत्तिकै रुचि लिएर खेल्छन्। यी सबै खेलमा स्लोभाकियाका खेलाडी विश्वका कुनै पनि विकसित मुलुकका खेलाडीभन्दा कम छैनन्।
स्लोभाकिया कति सम्पन्न र शक्तिशाली मुलुक हो भन्ने कुरा त उनीहरूको पासपोर्टबाटै स्पष्ट हुन्छ। स्लोभाकियाको पासपोर्ट विश्वकै ११औं शक्तिशाली पासपोर्ट हो। यहाँको पासपोर्टले संसारका १ सय ६५ राष्ट्रमा कि सित्तै भिसा पाइन्छ, कि त अध्यागमन पुग्नेबित्तिकै भिसा पाइन्छ। त्यसैले युरोप भ्रमण गर्ने अवसर पाउँदा स्लोभाकियालाई पनि प्राथमिकतामा राख्नु राम्रै हुन्छ जस्तो लाग्छ। खास गरी अस्ट्रियाको राजधानी भियना पुग्ने जो–कोही नेपालीलाई कम्तीमा स्लोभाकियाको राजधानी बाटिस्लाभासम्म त पुग्नैपर्ने यो लेखकको सुझाव छ।
किनभने बाटिस्लाभा भियनाबाट मात्र १ घन्टा बस चढेर पुग्न सकिन्छ। त्यसैले बिहान सबेरै भियनाबाट बस चढेर बाटिस्लाभा पुग्ने हो भने दिनभरिमै स्लोभाकियाको यो सुन्दर राजधानी घुमेर फेरि आरामसँग भियना फर्किन सकिन्छ। धेरैलाई थाहा नहुन पनि सक्छ, अस्ट्रियाको राजधानी भियना र स्लोभाकियाको राजधानी बाटिस्लाभा दुई देशबीचको संसारकै सबैभन्दा नजिकको राजधानी हो। यो कुरा सुन्दर देश स्लोभाकियासमेत हाम्रो युरोप भ्रमणको सबै व्यवस्था मिलाइदिने अस्ट्रिया निवासी प्रभु श्रेष्ठ भाइले जानकारी दिएपछि थाहा भएको हो।
प्रतिक्रिया