बस दुर्घटनामा ३ को मृत्यु



सल्यान, (नेस)
सोमबार सल्यानमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। १३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी सल्यानले जनाएको छ। मृत्यु हुनेमा वागचौर–१० सल्यानकी ७ वर्षीया छन्चरी विक, रुकुम मुसिकोट नगरपालिकाकी पुष्पा खड्का खत्री, रुकुम पेउघाका भीमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रुकुमबाट तुलसीपुरतर्फ जाँदै गरेको मालिका कालिका यातायातको ना५ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहामनजिकै भाटाखोलामा सोमबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो।

घाइते हुनेमा सल्यान ढोरचौर गाउँपालिका निवासी सीता कसेरा, सोही ठाउँका २२ वर्षीय डिल्लीराम लामिछाने, अस्मिता कसेरा, रुकुम मुसिकोट नगरपालिका–१ का १८ वर्षीय विवेक हमाल, त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीया दीपशिखा वली, मुसिकोट नगरपालिका–३ का केदार, सोही ठाउँको ७ वर्षीय बालक अंकित केसी रहेका छन्।

यस्तै गरी २४ वर्षीया विमला रावत, रुकुम त्रिवेणी गाउँपालिकाकी १६ वर्षीया विन्दु वली, सानोभेरी गाउँपालिका–६ का ६ वर्षीय बालक गौरव रावल, मुसिकोट नगरपालिका–३ की ४ वर्षीया आयुशा केसी, दाङ घोराही उपमहानगरपालिका बस्ने धनसरा र सोही ठाउँका १८ वर्षीय मदनकुमार वली रहेको सल्यानका प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिनुभएको छ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने सामान्य घाइतेको श्रीनगरस्थित मेडिकहलमा उपचार भइरहेको विकले बताउनुभयो। ७ जना भने सामान्य उपचारपछि घर फर्किएको उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्