विनोद सिंह विष्ट, बैतडी ।
जुनी जुनीसम्म संगै बिताउन रहर हरेक जोडीको हुन्छ तर पनि विभिन्न घटना तथा परिस्थितीले अधबैसे उमेरमै सधैका लागी छुट्नुको पिडा कस्तो होला । त्यसमाथी बस्ने घर आगोले जलेर बालबच्चाको बिचल्लीको पिडा तथा गाईबाख्रासंगै सुतेर जीवन बिताउनुपर्ने बाध्यता अर्कोतिर । यसका साथै यो चिसो मौसममा ओभानो लाग्ने ठाँउ र साँझबिहानको खानको जोहो कसरी गर्ने पिरमा हुनुहुन्छ बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंका लक्ष्मी बिजले ।
उमेरले ४० बर्ष कटिसकेकेकी लक्ष्मी पुस माघको कठ्याग्रिदो चिसोमा टिनको एउटाको कोठामा गाईबाख्रासंगै बसिरहनु भएकोछ । ८ बर्ष पहिले घरमा आगलागी भएपछि लक्ष्मीकोे यो अवस्था आएको हो ।
वरिपरी गहुँ छरेको बारी । बीचमा जस्तापाता अर्थात टीनको छाप्रो । गाईबस्तुको गोठ जस्तै घर छ लक्ष्मी बिजलेको ।
पुस माघकोे कठ्याङ्ग्रिदो चिसो होस वा वैशाख जेठको उखरमाउलो गर्मी बस्तुभाउसँगै रात बिताउनु लक्ष्मीको बाध्यता हो ।
एउटै ढोका रहेको छाप्रोको एकापट्टी गोरु र बाख्रा अनि अर्कोपट्टी आमासँगै तीनजना छोराछोरी बस्छन् । सुतेको बेला बस्तुभाउको गहुँतगोबर शरीरमा पर्नु सामान्य जस्तै हो ।
हिउँदमा टीनबाट तपतपी शीत चुहिन्छ । अनि वर्षायाममा हपहपी गर्मी हुन्छ । यही नियती भोगेर लक्ष्मी बिजलेले ८ वटा हिंउदवर्षा बिताउनुभयो ।
पहिले घरबार सबै राम्रो भए पनि श्रीमानको निधन भएपछि आफ्ना दुःखका दिन सुरु भएको उहाँ बताउनुहुन्छ । ‘श्रीमान बिते पनि छोराछोरी पाल्छु भन्ने हिम्मत थियो भावुक हुँदै उहाँले भन्नुभयो, २०६४ सालमा घरमा आगलागी भएपछि बारीको बास भएपछि हिम्मतले पनि हार खायो ।’
आगोले चारकोठे घर लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भयो । जिल्ला प्रशासन कार्यालयबाट राहत स्वरुप ७ हजार रुपैया र एउटा त्रिपाल आयो । त्यसले घर के बनोस । केही दिन छिमेकीकोमा बसे पनि सँधै त्यसरी काम चल्ने थिएन । अनि उहाँ देवरले दिएको बारीमा बस्न थाल्नुभयो ।
सडकमा सकिनसकि पुरुषले जस्तै काम गरी तथा गिट्टी कुट्ने, ढुंगा निकाल्ने काम गरेर ३५ हजार रुपैयाँ जम्मा गरेपछि उहाँले जस्तापाता खरिद गरी त्यसैले बारबेर पारेर छाप्रो बनाउनुभयो । जसमा उहाँसहित तीनजना छोराछोरी र वस्तुभाउ बसिरहेका छन् ।
श्रीमान बितेपछि देवरले भएको जग्गाजमिन सबै कब्जा गरे । आफ्नो बारीमा काम गरेर खाउ भने पनि अहिले उहाँसँग घर बनाउने जमिन पनि छैन । देवरले अंश माग्दा आफ्नो भागको जग्गा दाइले जाडरक्सी खाएर बेचिसकेको बताउने गरेको दुखेसो लक्ष्मीले गर्नुभयो । अझ अहिले त देवर लक्ष्मीका छोराछोरी आफ्नो दाइका होइनन् पनि भन्न थालेका छन् ।
तर कान्छा देवरले भने टिनको छाप्रो बनाउन ठाउँ दिएका छन् । छोराछोरीले पैसा कमाउने भएपछि पैसा दिनु भन्दै कान्छा देवरले सहयोग गरेको उहाँले बताउनुभयो । बस्नलाई घर र कमाइ खान जग्गा जमिन नभएपछि लक्ष्मीले जेठो छोरालाई कामका लागि गाउँलेको साथ लगाएर भारत पठाउनुभएको छ । अहिले एक छोरा र एक छोरी उहाँसँगै छन् । छोरी ८ र छोरा ७ कक्षामा पढ्छन् । छोराछोरीलाई कितावकापी किन्न पनि धौधौ पर्ने गरेको उहाँले बताउनुभयो ।
वस्तुभाउसँगै गोठमा बस्नुपर्दा आफ्नो र छोराछोरीको जुनी पनि गोरुको जस्तै लाग्ने गरेको उहाँले बताउनुभयो ।
समाजमा यस्ता एकल महिला निकै दुख खेपेर बसिरहेका छन् । जसको आवाज न ति ठुलाबडाको कानमा पर्छ न त कसैले देख्छ । त्यसैले यस्ता दुखमा परेका एकल महिलालाइ सानै भएपनि बस्नलाइ घर सम्म बनाइदिनु सबैको दायित्व हो । त्यसैले यस्ता एकल महिला तर्फ सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ ।
प्रतिक्रिया