नाकामा प्रयोगशाला नहुँदा नेपालको निर्यात व्यापारमा समस्या



उत्तम नेपाल, भद्रपुर ।

भारतले नाकामा कृषिजन्य खाद्यवस्तु परीक्षणको व्यवस्था नगरेका कारण नेपालको निर्यात व्यापारमा समस्या हुने गरेको छ । झापाको पूर्वी काकडभिट्टा नाकासँग जोडिएको भारतको पानीट्यांकी र त्यसको आसपासमा खाद्यवस्तु परीक्षण नभएकाले परीक्षणका लागि कलकत्ताकै ल्याब पुर्याउनुपर्ने भएकोले नेपाली कृषिजन्य वस्तु निर्यातमा समस्या भएको हो ।

भारतले नाकामा परीक्षणको प्रबन्ध नगर्ने, नेपालको प्रयोगशालाको रिपोर्टमा भरोसा पनि नगर्ने भारतीय कार्यशैलीले नेपाली कृषिवस्तुको अन्तराष्ट्रिय व्यापार सधैँ जोखिमपूर्ण बन्दै आएको छ । ताजा सागसब्जी, अदुवा, फलफूल परीक्षणका क्रममा भारतीय पक्षले कम्तीमा एक सातादेखि १५ दिनसम्म समय लगाइदिने भएकोले तत्कालै बजार पुर्याउनुपर्ने खालका कृषिवस्तु बजार नपुग्दै सड्ने समस्या हुने गरेको नेपाली व्यवसायीले गुनासो गरेका छन् । परीक्षणका लागि लाग्ने लामो समयकै कारण हरेक वर्ष हजारौँ टन कृषिवस्तु बिग्रिने गरेको उनिहरुको भनाइ छ ।

नेपाली पक्षले लामो समयदेखि नाकामै ल्याव टेष्ट गर्ने व्यवस्था गरिदिन आग्रह गरेपनि नेपाल भारतले व्यवस्था नगरेका कारण व्यापारमा समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य केशवराज पाण्डेले बताए । अहिले पनि परीक्षणका लागि कलकत्ता नै पुर्याउनु पर्ने बाध्यता रहेको पाण्डेको भनाइ छ । निजी क्षेत्र र सरकारी तहबाट हुँदै आएको यस्तो आग्रह धेरै अघिदेखि जारी रहेपनि नाकामा प्रयोगशाला नराख्ने भारतीय शैलीले नेपाली पक्ष आजित बनेको उनले बताए ।

निर्यात व्यापारमा संलग्न व्यवसायीहरुका अनुसार ल्याव परीक्षणका लागि नेपालका कृषिवस्तु कलकत्ता लैजाँदा रिपोर्ट ज्यादै छिटो आउँदा पनि कम्तीमा एक साता लाग्ने गरेको बताउँछन् । रिपोर्ट आउन धेरैजसो १२ देखि १५ दिन लाग्ने गरेको मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए । ज्यादै छिटो आउँदा एक साता लाग्ने भएपनि सो समयसम्ममा धेरै कृषिवस्तु बिग्रिने, सडिने जोखिम धेरैपटक भएको उनको भनाइ छ ।

सागसब्जी, अदुवा र सुन्तला जस्ता फलफूलका ट्रक हप्ता दिनभन्दा बढी समय नाकामा रोकिँदा जुनसुकै बेला बिग्रने उनको भनाइ छ । भारतीय पक्षले आफ्नो नाकामै परीक्षणको व्यवस्था गर्नुपर्यो कि नेपालको रिपोर्टलाई मान्यता दिनुपर्यो । अन्यथा हाम्रो मुख्य निर्यातजन्य वस्तुकै अन्तर्रा्ष्ट्रिय व्यापार झन्झटिलो र खतरायुक्त रहनेछ  उनले भने।

नेपालका खाद्य प्रयोगशालामा खानयोग्य भनेर प्रमाणित भएका कृषिवस्तु काँकरभिट्टा नाका हुँदै भारतको पानीट्यांकी नाका पुग्छन् । त्यसक्रममा भारतीय पक्षले अधिकांश खाद्य वस्तुको परीक्षण गर्ने गरेको छ । पूर्वको काँकरभिट्टा नाका भारतसँगै भूटान र बंगलादेशसँग नेपालको व्यापार कारोबार भइरहेको त्रिदेशीय ट्रान्जिट पनि हो । तर, भारतसँगको व्यापार हिस्सा ८० प्रतिशतभन्दा बढी छ । त्यसमा पनि नेपालबाट निर्यात हुने सामग्रीमा बढी भाग कृषिवस्तुकै छ । त्यसैमा रहेको झन्झट अन्त्य गरिदिन नेपाली पक्षले गर्दै आएको माग भारतीय पक्षले सधैँ पर सार्दै आएको छ । यसमा नेपालको सरकारी तहबाट भने जति चासो नदेखाइएको गुनासो निर्यातकर्ताहरुको छ । केहि हप्ता अघि झापा आएका भारतीय राजदूत मञ्जीवसिं पुरीले नाकामा प्रयोगशालाको व्यवस्था तत्काल मिलाउने आश्वासन दिएका थिए ।

पूर्व राजदुतहरु शिवशंकर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद लगायत धेरैले प्रयोगशाला राख्ने वचन दिए पनि त्यसलाई व्यवहारमा अनुवाद भने नगरेको व्यापारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्