अन्ततः सफलता हात लाग्यो

0
Shares

काठमाडौं, (नेस)
बबी मर्फी, वास्तविक नाम रोबर्ट कोर्निलस मर्फी, २७ वर्षीय मर्फी दैनिक करिब १८ करोड प्रयोगकर्ता भएको स्न्यापच्याट एपका निर्माणकर्ता र स्न्याप इन्कर्पोरेसनका संथापक मालिक हुन्।

ब्लुमवर्ग इन्डेक्सका अनुसार अहिले ५ अर्ब डलर सम्पत्तिका मालिक मर्फीले सन् २०११ मा इभान स्पेगलसँग मिलेर स्न्यापच्याटको निर्माण गरेका थिए। उक्त कम्पनीले २०१७ मार्चमा न्युयोर्क स्टक एक्स्चेन्जमा प्रवेश पाएको थियो। उनका व्यापारिक साझेदार इभान स्पेगल सन् २०१६ मा फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको कान्छा अर्बपतिको सूचीमा पहिलो नम्बरमा थिए भने मर्फी दोस्रो नम्बरमा थिए। कान्छा अर्बपतिको सुचीमा अधिकांशको सम्पत्ति पुख्र्यौली सम्पत्ति रहेको देखिन्छ। तर, मर्फी भने आफ्नै बलिबुतोले अर्बपति बनेका हुन्।

मर्फी लोकिप्रिय म्यासेन्जर एप्लिकेसन स्न्याप च्याटका सहसंस्थापक हुन्। जब उनले काम शुरु गरे त्यो बेला उनलाई कसैले पनि आर्थिक रूपमा सहयोग गर्ने अवस्था थिएन। स्पेगलसँग लगातार रूपमा सहकार्य गरको उनले कैयौंपटक असफलताको स्वाद चाख्नु परेको थियो।

स्टेनफोर्ड युनिभर्सिटीमा उनले गणित र विज्ञान विषयमा बीएससी गरेका थिए। मर्फी बाल्यकालमा कम्प्युटर गेम निकै नै मन पराउँथे त्यसप्रति उनको लगाव पनि थियो। विश्वविद्यालयका प्रोजेक्टका क्रममा इभानसँग उनको भेट भएको थियो। उनीहरू दुवैजना मिलेर ‘फ्युचर फ्रेसमेन’ नामक प्रोजेक्ट शुरु गरेका थिए। विश्व विद्यालयमा भर्ना प्रक्रियालाई सहज बनाउन ‘हेल्पलाइन’ का रूपमा उक्त प्रोजेक्ट शुरु गरिएको थियो। तर, उक्त प्रोजेक्टले सफलता भने पाउन सकेन। तर, मर्फीले प्रयास भने जारी राखेका थिए भने उनको दिमागमा केही ‘सानदार’ बनाउने भन्ने कुरा खेलिरहन्थ्यो। सोही क्रममा उनका साथी ब्राउनले उनलाई सँगै मिलेर म्याजेन्सर एप्लिकेसन निर्माणको लागि प्रस्ताव गरे। मर्फीले एउटा अन्तरवार्तामा भनेका छन्–‘सबै म्यासेन्जरभन्दा फरक रूपमा स्न्याप च्याटलाई स्थापित गर्नु थियो। सोही कारण हामीले म्यासेन्जरमा साटासाट गरिने हरेक कुरालाई केही समयको अन्तरालमा आफंै हट्ने बनायौं।’

मर्फी, इभान र ब्राउन मिलेर एउटा सोसल मिडिया बनाए। जसमा तस्वीर तथा लेखिएको कुरालाई आफंै हटाउँदै जान्छ। तीन जनाले नै उक्त प्रोजेक्टलाई मूर्त रूप दिन काम शुरु गरे। नाम राखियो ‘पिबाको’। अफसोच उक्त प्रोजेक्ट पनि सफल हुन सकेन। ती दिनमा मर्फीको जीवन निकै संघर्षपूर्ण थियो। उनले दैनिक १८ घण्टासम्म काम गर्थे। स्न्याप च्याटको मामलामा सबैभन्दा बढी जस आफूलाई मिलोस् भनेर मर्फीले चाहान्थे। तर, समग्रमा पिबाको सफल हुन सकेन। किनकी उक्त सोसल मिडिया केही मानिसले प्रयोग गरे पनि समग्रमा एउटा तर्क अगाडि सारियो ‘आफैं हट्दै जाने (डिलिट) हुने वस्तुलाई कसले नै प्रयोग गर्न चाहान्छ र ?’

पिबाकोको असफलतापछि उनले स्पेगलसँगको सहकार्यमा नयाँ काम शुरु गरे। नाम थियो ‘स्न्याप च्याट’। मर्फीलाई उनका दुईवटा असफलतापछि स्न्याप च्याटले सफलताका लागि थप महत्वाकांक्षा पलाएको थियो। उनीहरूले त्यो बेलासम्म मानिसको रुची र पिबाकोमा गर्नुपर्ने आवश्यक परिमार्जनको विषयलाई बुझिसकेको थिए। विस्तार स्न्यापच्याटले बजार लिँदै गयो र छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भयो। यसको सफलतापछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले खरिद गर्न चाहेका थिए। तर, यसको मूल्य ३ अर्ब अमेरिकी डलर तोकिएपछि विश्व बजारमा स्न्याप च्याटको चर्चा थप चुलियो। स्न्याप च्याटमार्फत् तस्वीरलाई परिमार्जन र सम्पादन (इडिट) गरेर पठाउने फिचर निकै लोकिप्रिय छ। उनको एउटा अनौठो बानी छ। त्यो हो, सञ्चार माध्यामबाट टाढै बस्नु रुचाउनु। यस अर्थमा स्न्याप इन्कर्पोरेसनको ‘मिडिया फेस’ का रूपमा इभान स्पेगल नै बढी देखिन्छन्।
(एजेन्सीहरूको सहयोगमा)