नेतृत्वको चर्को आलोचना



रामकृष्ण चापागाईं, काठमाडौं
राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वको चर्को आलोचना गरेका छन्। सभापति शेरबहादुर देउवाले निर्वाचन हारको समीक्षा अर्को बैठकमा गरौं भन्दै राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुन आग्रह गरे पनि केन्द्रीय सदस्यहरूले हारको समीक्षा गर्दै नेतृत्वको आलोचना गरेका हुन्।
बैठकमा सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तिको लागि सिफारिसप्रति असन्तुष्टि प्रकट गरेका छन्। बिहीबारबाट शुरू भएको केन्द्रीय समिति बैठक आज शुक्रबार पनि जारी रहने छ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले कांग्रेस नेतृत्व रणनीतिकरूपमा अघि बढ्न चुकेको भन्दै हालै सम्पन्न निर्वाचनमा पराजित हुनुको मुख्य कारण नेतृत्वकै कमजोरी भएको औंल्याएका छन्।

केन्द्रीय सदस्य दीपक गिरीले सरकारले तोकेको राजधानीप्रति असन्तुष्टि जनाउँदै बैठक नै बहिष्कार गर्नुभएको छ। केन्द्रीय सदस्य कमला पन्तले जानकारी दिएअनुसार नेता गिरीले ५ नम्बर प्रदेशको राजधानी दाङलाई नबनाएको भन्दै सरकारको नेतृत्व गरिरहेका सभापति देउवाको चर्को आलोचना गर्नुभएको थियो। प्रदेशको राजधानी बनाउन आएको सुझावलाई समेत लत्याएर सरकारले प्रदेश राजधानी तोकेको भन्दै केन्द्रीय सदस्य गिरीले बैठकमा आक्रोस पोख्नुभएको थियो।

सरकारले तोकेको प्रदेशराजधानीप्रति असन्तुष्ट भई सडकमा ओर्लिएका जनतालाई कसैले रोक्न नसक्ने गिरीको भनाइ थियो। बैठकमा बस्न सभापति देउवाले गरेको आग्रहलाई समेत बेवास्ता गर्दै केन्द्रीय सदस्य गिरी बैठकबाट बाहिरिनुभएको थियो।

बैठकमा सरकारले नियुक्तिका लागि सिफारिस गरेको प्रदेश प्रमुखको आलोचना गर्दै केन्द्रीय सदस्य कल्याण गुरुङले प्रदेश प्रमुखलाई मण्डलेको संज्ञा दिनुभएको थियो। बैठकमा नेतृत्वको कार्यप्रति आलोचना गर्दै केन्द्रीय सदस्यहरूले कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नसमेत सभापति देउवालाई दबाब दिएका थिए।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफू संसदीय समिति र कार्यसम्पादन समितिको सदस्य भए पनि समानुपातिकतर्फको सूचीसमेत हेर्न नपाएको गुनासो पोख्नुभएको थियो। पार्टी नेतृत्वले केन्द्रीय समितिको बैठकको निर्णय विपरीत आफूखुसी निर्णय गर्दै अघि बढेकाले विधिसम्मत पार्टी सञ्चालन गर्न पनि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई सुझाव दिएका थिए।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले त पार्टी नेतृत्व राजनीतिक भ्रष्टाचारमा लागेको भन्दै सभापति देउवाले गुटगत राजनीति गरेको सङ्केत गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्व असफल भएको बताउनुभएको थियो।

देउवा पक्षका केही नेताले भने नेतृत्वको बचाउ गर्दै आरोप प्रत्यारोप गरेर पार्टी कमजोर बनाउन नहुने धारणा राखेका थिए। सभापति देउवा निकट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले सभापतिलाई मात्र दोष दिएर हुँदैन भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो। हालै सम्पन्न निर्वाचनको बारेमा बोल्दै उहाँले अहिले कांग्रेसको मत प्रतिशत बढेको भए पनि सन्तोषजनक नभएको बताउनुभएको थियो। मत प्रतिशत बढे पनि ठूलो पार्टीको हैसियत कायम गर्न सकेनौं भन्दै डा. महतले भन्नुभयो– ‘अर्को निर्वाचनमा कम्तीमा पनि ४५ प्रतिशत मत पुर्याउनुपर्छ।’ पहिलेको नेतृत्वको भन्दा नराम्रो काम भएको छैन भन्दै उहाँले कांग्रेसमा आन्तरिक एकता जरुरी भएको बताउनुभएको थियो।
आज बस्ने बैठकमा प्रत्येक प्रदेशमा भएका केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा समष्टिगतरूपमा प्रस्तुत गर्न भनिएको छ। राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका मतभार कम भएकाले कसरी अगाडि बढ्ने भन्नेबारेमा आजको बैठकले निर्णय लिने बताइएको छ। हालै सम्पन्न निर्वाचनको हारको बारेमा वितृत समीक्षा राष्ट्रिय सभा निर्वाचन निर्वाचनपछि गरिने सभापति देउवाले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्