राष्ट्रिय पुरुष फुटबलः पुलिस र आर्मी फाइनलमा


 

दाङ। यहाँ जारी २८ औँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबारदेखि दाङमा शुरु भएको प्रतियोगिताको आजको सेमिफाइनलमा नेपाल पुलिस क्लब एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुलिसका तर्फबाट सन्तोष हेमरोनले पहिलो हाफको आठौँ मिनेटमा गोल गरी अग्रता लिएका थिए । त्यसको आठ मिनेटपछि एपिएफका दीपक खड्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ८७ औँ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै पुलिसको जीत निश्चित बनाएका थिए ।

यसैगरी आज बिहान भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब सुदूरपश्चिमलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा २० औँ मिनेटमा सुदूरपश्चिमाञ्चलका मनिराम पुनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा लगातार गोल खाँदै पराजित हुन पुग्यो ।

आर्मीका तर्फबाट दोस्रो हाफको २४ औँ मिनेटमा अरिक विष्टले गोल गर्दै बराबरी गरेका थिए । त्यसको तीन मिनेटपछि आर्मीकै राजीव गुरुङले गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाएका थिए । प्रतियोगिताको फाइनलमा यही माघ ६ गते नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।