प्रशिद्ध परशुराम धामको विकासका लागि गुरुयोजना निर्माण गरिदैं

0
Shares

राम धामी, डडेल्धुरा । प्रशिद्ध परशुराम धामको समग्र विकासका लागि सहरी विकास मन्त्रालय मार्फत गुरुयोजना निर्माण कार्य शुरु भएको छ ।

परशुराम नगरपालिकाको मागअनुसार मन्त्रालयले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटी मार्फत परशुराम धामको विकासका लागि विस्तृत गुरुयोजना निर्माण गर्न थालेको हो । परशुरामधामको विकास गरेर नगर क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन मार्फत नगरबासीहरुको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले गुरुयोजना निर्माण कार्य शुरु गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले बताए ।

नगरपालिकाको आग्रह अनुसार मन्त्रालयले गुरुयोजना निर्माणका लागि चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरेको उनले जानकारी दिए । परशुराम धामको विकासगरि धार्मिक पर्यटन पर्वद्धन गर्ने मुख्य नाराका साथ चुनावी प्रतिष्प्रर्धाबाट परशुराम नगरपालिकाको नगरप्रमुख बनेका साँउदले आफ्नो ५ बर्षे कार्यकालमा परशुरामधामको विकास गरेर प्राचीन शिद्धबाबा गुफा देखि परशुराम क्षेत्र र भागेश्वरधुरा क्षेत्रसम्म धार्मिक पर्यटन करिडोर निर्माण गरिने परशुराम नगरपालिकाले जनाएको छ ।

प्रशिद्ध परशुराम धामको विस्तृत गुरुयोजना निर्माणका लागि विज्ञहरुको टोलीले अध्ययन शुरु गरिसकेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी दिए । “हिन्दुधर्मावल्म्वीहरुको आस्थाको केन्द्र परशुराम धामको समग्र विकासका लागि गुरुयोजना निर्माण कार्य शुरु भइसकेको छ ।” उनले भने, “परशुराम धामको विकासका लागि स्थानीयस्तरबाट पनि थुप्रै काम शुरु भएका छन् ।”

परशुराम क्षेत्र विकास समितिका अनुसार परशुराम नगरपालिकाको सहयोगमा हाल परशुराम धाममा भब्य यज्ञशाला भवन, विवाह मण्डप, गौशाला र ४८ फिट अग्लो भगवान परशुरामको मुर्ती निर्माण भइरहेको छ । परशुराम धामसम्म पुग्ने पक्की सडक सञ्जाल निर्माणका साथै अन्य भौतिक पुर्वाधार विकासका कामहरु स्थानीयस्तरबाट भइरहेका छन् ।

परशुराम –३ त्रिशुलेडाँडामा रहेको प्राचीन शिद्धबाबा गुफा मन्दिर देखि परशुराम धाम र भागेश्वरधुरा सम्म धार्मिक करिडोरको विकास गर्न सकिएमा बर्षेनी लाखौं भारतीय पर्यटकहरु भित्र्याउन सकिने नगरप्रमुख साँउदले बताए । सिमावर्ती भारतीय मन्दिर पुर्णागिरीमा बर्षेनी करौडौ भारतीय श्रद्धालुहरु आउने गरेका छन् । पुर्णागिरी मन्दिरमा पुजाआजा गरेपछि अनिवार्य रुपमा शिद्धबाबा दर्शन गरे मात्रै मनोकामना पुरा हुने धार्मिक विश्वासका कारण हाल पुर्णागिरी मन्दीर पुग्ने दर्शनार्थीहरु कञ्चनपुर पुगेर शिद्धबाबा दर्शन गर्ने गरेको धार्मिक अगुवाहरु बताउछन् ।

“प्राचिन शिद्धबाबा मन्दिर परशुराम नगरपालिकामै पर्छ,” नगरप्रमुख साँउदले भने, “पुर्णागिरीको दर्शन गर्ने श्रद्धालुहरुलाई प्राचीन शिद्धबाबा मन्दिरसम्म पुग्न महाकाली नदीमा पुलको आबश्यकता छ ।” महाकाली नदीमा पुल निर्माण गर्न भारतको उत्तराखण्ड सरकारसँग सम्झौता भइसकेको बताउदै नगरप्रमुख साँउदले महाकाली नदीमा पुल निर्माण भएसँगै पुर्णागिरीका सबै दर्शनार्थीलाई प्राचिन शिद्धबाबा मन्दिरसम्म पुगाउन सकिने र शिद्धबाबा मन्दिर पुग्ने दर्शनार्थीलाई परशुरामधाम ल्याउन सकिने जानकारी दिए ।

‘सबै तिर्थ पटक–पटक परशुरामधाम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ । भगवान बिष्णुका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेल्धुराको परशुराम नगरपालिका–५स्थित महाकाली नदी किनारमा रहेको छ ।

महाभारतबाट निस्किएको रंगुन नदी, चुरे पर्वत श्रखलाबाट निस्कने पुनपुना नदी र मानसरोवरबाट निस्किएको श्यामा, सरयु अर्थात महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम धामका बारेमा त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैह्यवंशी क्षेत्रीहरुको २१ चोटि संहारपछि पुनःयही क्षेत्रमा आएर तपस्यागर्दै यज्ञ गरेको कुरा स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएको छ । यो क्षेत्रमा धर्मराज युधिष्ठिरले समेत यज्ञ गरेको र धर्मको लागि द्वारको समेत निर्माण गरेको जनविश्वास रहिआएको छ ।

“हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुराम धाम मात्र एउटा यस्तो पवित्र धाम हो, जसको संसारमा अन्यत्र कहि पनि मन्दिर पाइँदैन् ।” परशुराम धामको विकासका लागि सकृय धार्मिक अगुवा रामचन्द्र चटौतले भने, “भगवान परशुराम, उनका पिता जमदग्नी, धर्मराज युधिष्ठर, भृगु र गर्ग ऋषिको तपस्थली रहेको परशुराम धाम यस्तो धाम हो जहाँ साक्षात् ईश्वरको आगमन भएको हो ।”

स्कन्द पुराणमा उल्लेख भएअनुसार सिमावर्ती भारतको चम्पावत जिल्लामा पर्ने पूर्णागीरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन । महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगामा बसेर भगवान परशुराम, शिव र बिभिन्न ऋषिहरुले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धामको पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ ।

एकातिर चूरे पर्वत श्रृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेल्धुरा सदरमुकामदेखि १ सय किलोमिटर र कञ्चनपुरको महेन्द्रनगरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ । धार्मिक पर्यटकीय दृष्टीकोणले पनि परशुराम धाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरु मध्येको रमणीय क्षेत्र मानिन्छ ।

महाकाली पारी परशुराम धाम देखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागीरी मन्दिरमा बर्षेनी आउने लाखौ धार्मिक यात्रुहरु मध्ये एक चौथाइ पनि परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुराको आर्थिक विकासमा मात्र नभएर सुदूरपश्चिमा धार्मिक पर्यटनको ठूलो विकास हुन सक्ने सम्भावना रहेका स्थानीय पर्यटन व्यवसायी इश्वरी जोशी बताउछन् ।

परशुराममा रहेको एकमात्र छोटी भन्सार कार्यालय समेत बन्द भएपछि कहिले काहीं आउने भारतीय पर्यटक समेत हाल आउन छाडेका छन् । भारतसंग सम्भौता गरेर महाकाली नदीमा झोलुंगे पुल, परशुराम धामदेखि पूर्णागिरी सम्म मोटरबाटो निर्माण गर्न सके पूर्णागीरीमा आउने लाखौ यात्रुहरु परशुराम धाम आउन सक्ने स्थानीय भुवनेश्वरी माविका प्रधानाध्यापक डम्बरसिँह थ्वालले बताए ।

धार्मिक पर्यटनका दृष्टीकोणले परशुराम धाम हिन्दूहरुको पवित्र धार्मिक स्थल भएपनि अन्य पर्यटनका दृष्टिकोणले पनि त्यो उत्तिकै महत्व राख्ने परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरा बताउँछिन । माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुराम धाममा सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट २२ ओटा देवी देवताको देउरो आउने गरेको छ । परशुराम धाममा यस क्षेत्रका बिभिन्न देवीदेवताको देउरो लैजाने र स्नान गर्ने परम्परा छ ।
माघे संक्रान्तिका साथै चन्द्र र सुर्य ग्रहण लागेको समयमा पनि यहाँ भब्य मेला लाग्ने गरेको छ ।