दूरसञ्चार पूर्वाधारमा नयाँ फड्को

0
Shares

नेपाल समाचारपत्र
काठमाडौ
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबार व्यावसायिक सञ्चालनमा आएको छ। एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले फाइबर लिंकको शुभारम्भ गर्नुभयो।

मन्त्री बस्नेतले देशव्यापी रूपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको बताउँदै चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री बस्नेतले लिंक निर्माण गर्ने दुई देशको मुख्य प्राथमिकतामा रहेको काठमाडौं–केरुङ रुट सञ्चालनमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा जलविद्युत् विकास र रेलवे सम्पर्कमार्फत् थप सम्बन्ध विस्तार हुने बताउनुभयो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महवपूर्ण भूमिका खेल्ने भएकाले सो लिंकको सम्पर्कले अरू व्यावसायिक आयामको बाटो पहिल्याउने बताउनुभयो।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको उल्लेख गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक प्रायोजनका लागि पनि अझ विस्तार गर्न आश व्यक्त गर्नुभयो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय वर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउँदै आएको बताउँदै हाल वायरलेसतर्फ फोरजी तथा वायरलाइनतर्फ फिक्स ब्रोडब्यान्डको विस्तारसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आबद्धताले अहम् भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले सो लिंकमार्फत् कम्पनीका सेवाको उपलब्धता र विश्वसनियतामा अझै अभिवृद्धि हुने अपेक्षा गर्नुभयो।

चाइना टेलिकम ग्लोबलका मुख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिकासम्म जोड्ने बताउनुभयो। सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीको बजार विस्तारमा सहयोग पुर्याउने बताउनुभयो।