भारतीयको विकल्पमा चिनियाँ इन्टरनेट

0
Shares

दीपेन्द्र थापा, काठमाडौँ
चिनबाट ल्याइएको अप्टिकल फाइबरको इन्टरनेट नेपालमा जोडिएको छ। १५ वर्षको प्रयासपछि नेपाल र चीनबीच अप्टिकल फाइबर इन्टरनेट जोडिएको हो।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंंकको शुक्रबारबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। चीनसँगको इन्टरनेट लिंक कनेक्सनपछि भारत र चीन दुवै देशमार्फत् विश्वसँग जोडिने नेपालको सूचनामार्ग निर्माण भएको छ। फाइबरमा सिग्नलहरू लाइटको रूपमा परिवर्तन भएर ३ लाख किलोमिटर प्रतिसेकेन्डको गतिमा प्रवाह हुन्छ।

अप्टिकल फाइबरबाट नेपाल भित्रिने अनलिमिटेड ब्यान्डविथ इन्टरनेट चीनको जिलोङबाट रसुवागढी नाका हुँदै ल्याएको हो। १ दशमलव ५ जीबीपीएस प्रतिसेकेन्डको गतिमा नेपाल भित्रिएको हो। रसुवाबाट गल्छी हुँदै काठमाडौं आएको चिनियाँ नेट देशका अरू ठाउँ विस्तार हुनेछ। भदौभित्रै अप्टिकल फाइबर जोड्ने भनिए पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको थियो।

सन् २००३ को डिसेम्बर ३ मा नेपाल सरकार र चिनियाँ सरकारबीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्गअन्तर्गत काठमाडौंदेखि खासा झाम्सुङसम्म १ सय ५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार चीनबाट ल्याइएको इन्टरनेट सेवा भारतको विकल्पमा ल्याइएको हो। उहाँले भारतीय इन्टरनेटमा समस्या हुँदा वैकल्पिक बाटोका रूपमा उक्त अप्टिकल फाइबरलाई लिइएको बताउनुभयो।चीनबाट विस्तार गरिएको नेट छोटो रुटबाट ल्याएको र गुण्स्तरीय सेवा प्रवाह हुने उहाँको विश्वास छ।

नेपाल टेलिकमले यसका लागि ४ हजार मिटरको उचाईमा ३० किलोमिटर थप रुटको काम गरेको थियो। तर, विभिन्न ठाउँमा काटिएको फाइबर रुटलाई खनेर समयमा मर्मत गर्न नसक्दा चिनियाँ इन्टरनेट भदौमा आउने भनिएपनि विभिन्न प्राविधिक कारणले समयमानै निर्माण सम्मपन्न गर्न सकेको थिएन। भूकम्पका कारण काठमाडौं–तातोपानी रुट क्षतिग्रस्त भएपछि काठमाडौं–रसुवागढी रुटका लागि आवश्यक एडिएसएल (अल डाइलेक्ट्रिक सेल्फ सपोटिङ) लिंक निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो।

हाई अल्च्युटमा फाइबर विस्तार गर्नु परेकाले समयमानै निर्माण सम्पन्न नभएको टेलिकमले जनाएको छ।अन्तर्राष्ट्रिय ब्यान्डविथ भौगोलिक कठिनाईका कारण नै समयसीमामा ल्याउन कठिनाइ भएको थियो।
चीन–नेपाल अप्टिकल फाइबरमार्फत् इन्टरनेट जोडिएपछि नेपाल पूर्ण रूपमा भारतबाट आउने रुटमा निर्भर रहने अवस्थाको समेत अन्त्य भएको छ।

त्यस्तै आगामी दिनमा मल्टिपल बाटो बनाउँदै जाने टेलिकमको योजना रहेको छ। अन्त्र पनि कहाँ–कहाँ सम्भावित बाटो हुन सक्छ टेलिकमले अध्ययन गरिरहेको टेलिकमले जनाएको छ। सन् २०१३ डिसेम्बर २३ मा वैकल्पिक रुटको रूपमा नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिस्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौता भएको थियो।

चिलिमेसम्म एडिएसएस केवलमा विस्तार गरिएको, चिलिमेबाट रसुवागढीसम्म एरिल केवलमा पेटबाल विस्तार गरिएको छ भने रसुवाबाट केरुङ–सिगासे–लासा हँुदै हङकङमा जोडिएको छ। योसँगै नेपालको नेट भरपर्दाे र सस्तो बन्ने नेपाल टेलिकमको दाबी छ। हाल टेलिकमले विराटनगर, वीरगन्ज, भैरहवा नाकाबाट अप्टिकल फाइवरमार्फत् भारतीय कम्पनीहरू टाटा, एयरटेल, बीएसएनएल र रिलायन्सबाट २५ जीबीपीएस प्रतिसेकेन्डको इन्टरनेटले जोडेको थियो। भारतको मुम्बई हुँदै सिङगापुरमा इन्टरनेट विस्तार गरिएको थियो।