वीरेन्द्रनगरमा बढ्दै अतिक्रमण, स्थानीय सरकार बेखबर

0
Shares

शेरबहादुर थापा, सुर्खेत
केही वर्ष पहिले घण्टाघर आसपासमा थोरै मात्र ठेला हुन्थे। उनीहरूले चाउमिन बेच्ने गर्थे। तर अहिले समय फेरिएको छ। घण्टाघरको तल्लो भागको अधिकांश क्षेत्र ठेलामय बनेको छ। अहिले त्यहाँ नास्तादेखि फलफूल र सुर्ति तथा चुरोटको धमाधम व्यापार भइरहेको छ। हप्तैपिच्छे नयाँ टहरा/घुम्ती थपिन्छन् तर स्थानीय सरकार मौन छ। उसले आफ्नै कार्यालयनजिकै भइरहेको सरकारी जमिनमाथिको अतिक्रमण न हेर्न सकेको छ, न त त्यसबारे केही बोल्नै चाहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत नयाँ भवनमा सरेको धेरै भएको छैन। नयाँ भवन अगाडि अहिले आधा दर्जनभन्दा बढी टहरा तयार भइसकेका छन्। जिल्ला प्रहरी कार्यालयले आफ्नै आँखा अगाडि दिनहुँ सरकारी जग्गा अतिक्रमण गरेकाहरूलाई केही भन्न सक्दैन। नगरपालिकाको त्यहाँ ध्यानै पुग्दैन। यी त उदाहरण मात्र हुन्। बजार क्षेत्रमै, नगरपालिकाको नाकैमा त यति जग्गा अतिक्रमण भएको छ भने अन्यत्र जहाँ नगरपालिकाको नजर नै पुग्दैन त्यहाँको हालत के होला ? आफंै अनुमान लगाउन सक्नुहुन्छ।

यहाँ रोचक कुरा त के छ भने स्थानीय तहको निर्वाचनपश्चात् स्थानीय सरकार आयो तर उसले शासन शुरू गरेको नौ महिनामै करिब दोब्बर टहरा थपिएका छन्। न त उनीहरूले सरकारलाई केही तिरेका छन् न त सडकको दायाँबायाँमा नागरिकले निर्धक्क यात्रा गर्न पाएका छन्।

वीरेन्द्रनगर–६ का एक व्यापारी नाम नबताउने सर्तमा राज्यले आफूहरूलाई समस्यामा पारिरहेको बताउँछन्। उनी भन्छन्– ‘हामीले राज्यलाई कर तिरेका छौं। मासिक १०÷१२ हजार भाडा तिरेर व्यापार गर्न बसेका छौं, तर राज्यले नै हामीलाई गाह्रो पार्दै आएको छ। हामीले भाडा, कर तिर्छौं र सामान केही महँगो पर्छ तर सडकको दायाँबाँया खुलेका घुम्तीले सस्तो दिन्छन्, र हामीलाई भाडा तिर्नै हम्मे हम्मे हुन्छ।’ राज्यले सडकको दाँयाबाँया यसरी भाडा नतिरेरै पसल गर्न दिएको खण्डमा सटर भाडामा लिई बसेका व्यापारीलाई ‘व्यापार निल्नु न ओकल्नु’ हुने उनी बताउँछन्।

जहाँ पायो त्यहीं बनाइएका यस्ता टहरा र खोलिएका पसलले शहरलाई फोहोर बनाउँदै लगेको स्थानीय रमेश सापकोटाले जनाए। उनका अनुसार यसरी दिनप्रतिदिन टहरा बनाउन दिने हो भने भोलि नगरपालिकाले चाहेर पनि सडकछेउमा बनाएका यी संरचना भत्काउन नसक्ने र यिनै टहराको आडमा फेरि राजनीति हुनसक्ने बताए। उनले तत्काल नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने अन्यथा उनीहरू संगठित भइसकेको खण्डमा हटाउन समस्या आउन सक्ने जनाए।

झण्डै ३ महिना पहिलेमात्रै एक होटल खोलेकी रीता शाही भने नगरपालिकाले आफूहरूलाई व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गर्छिन्। उनका अनुसार अधिकांशले ठेला तथा पसलहरू किनेका हुन्।

यता वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले अहिले सडकमा भइरहेको अतिक्रमणलाई कानुन बनाएर हटाउने तयारी भइरहेको प्रतिक्रिया दिए। उनले खुलामञ्चनजिकको जमिन विश्वविधालयको भए पनि ती टहरा हटाउनेबारे केही ध्यान नदिएकाले अब केही दिनमै नगरपालिकाले हटाउने जानकारी दिए। सडक च्यापेर बनाइएका टहरा वा पसलहरूलाई तत्काल हटाउनेबारे कार्यपालिकामा छलफलसमेत भएको उनले खुलाए। नगरपालिकालाई सफा र अतिक्रमणरहित बनाउनेतर्फ आफूले ध्यान दिएको उनको भनाइ छ।

जताततै सडकको छेउमा बढेको अतिक्रमणले सवारी दुर्घटना बढाएको छ भने शहरसमेत कुरुप बनाउँदै लगेको स्थानीयको भनाइ रहेको छ।