सम्पर्कमै छैैनन् १५ हजार लाभग्राही

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
२०७२ सालको भूकम्पले भत्काएको घर पुनर्निर्माणका लागि पहिलो किस्ताबापत् ५० हजार रकम लैजाने मकवानपुरका करिब १५ हजार लाभग्राही सम्पर्कविहीन भएका छन्।

उनीहरूले पहिलो किस्ताबापत् रकम लगे पनि घर निर्माण शुरू गरे/नगरेको आधिकारिक जानकारी पाउन नसकेको शहरी विकास मन्त्रालयअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ।
पुस ३ गतेसम्मको तथ्यांकअनुसार मकवानपुरमा २२ हजार ७ सय ३८ जनाले घर पुनर्निर्माणको लागि पहिलो किस्ताबापत् रकम लगे पनि ७ हजार ७ सय ५९ जना लाभग्राहीले मात्र घर निर्माण शुरू गरेको जानकारी गराएका छन्। बाँकी १४ हजार ९ सय ७९ जना लाभग्राहीले घर बनाउन शुरू गरे÷नगरेको बारेमा आफूहरूसँग जानकारी नआएको शहरी विकास मन्त्रालयअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर रविन पाठकले जानकारी दिनुभयो।

पहिलो किस्ता लगेर घर नै नबनाई बस्ने धेरै छन्। पहिलो किस्ता लगेर घर नबनाउनेहरूको तथ्यांक माग गर्दै जिल्ला समन्वय समितिमार्फत् गाउँपालिकाहरूमा चिठी पनि पठाइसकिएको छ। गाउँपालिकाबाट आधिकारिक कुराहरू आउने उहाँको आशा छ।

पहिलो किस्ताबापत् ५० हजार लगेर कतिपयले मापदण्डबाहिर रहेर घर बनाएको पनि पाइएको उहाँले बताउनुभयो। कतिपयले अरूको जग्गाको मञ्जुरीनामा लिएर ऐलानी जग्गामा घर बनाएको र कतिपयले ५० हजारले घर बन्दैन भनी पैसा लिएर घर नबनाई बसेको जिल्ला आयोजना कार्यान्वयन एकाइको भनाइ छ।

प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सिनाका अनुसार जिल्लाका प्रत्येक वडामा तथ्यांक माग गरी चिठी पठाइए पनि जानकारी आइसकेको छैन। ‘साँच्चै घर नबनाएर हेलचेक्र्याईं नै भएको हो वा हामीसम्म घर बनाउन शुरू भएको बारेमा जानकारी नआएको हो भन्ने कुरा वडाबाट आधिकारिक तथ्यांक आएपछि थाहा हुन्छ’ –तिमल्सिनाले भन्नुभयो। सबै वडाबाट आधिकारिक तथ्यांक आइसकेपछि त्यसको विश्लेषण गरी आफूहरूले ठोस योजना बनाएर अघि बढ्ने पनि तिमल्सिनाले बताउनुभयो।

मकवानपुरमा ३१ हजार ८ सय १७ जना लाभग्राहीको सूचीमा परे पनि मंसिर अन्त्यसम्ममा २३ हजार ५ सय ८० जनाले मात्र घर पुनर्निर्माणका लागि सम्झौता गरेको जनाइएको छ। पछिल्लो तथ्यांकअनुसार जिल्लामा २ हजार ३ सय ३ वटा घर निर्माण सम्पन्न भइसकेको छ। हालसम्म मकवानपुरको साविकको आग्रा र टिष्टुङ गाविसमा तुलनात्मकरूपमा धेरै घर निर्माण भएको तथ्यांकले देखाएको छ। साविकको आग्रा गाविसमा ३ सय ५ वटा घर बनिसकेका छन् भने टिष्टुङमा २ सय ६ वटा घर निर्माण सम्पन्न भएका छन्।

हेटौंडा उपमहानगरका १ सय ९५ वटा घर निर्माण सम्पन्न भएको देखिएको छ भने साविक काँकडा गाविसमा १ सय २३ र गोगने गाविसमा १ सय १ वटा घर बनेका छन्। अन्य साविकको गाविस तथा नगरपालिकामा बनेका घरको संख्या सयभन्दा कम छन्। हालसम्म ५ हजार २ सय ८२ जनाले दोस्रो किस्ताबापत् १ लाख रुपियाँ लगेर घर निर्माणको काम गरिरहेका छन् भने १ हजार १ सय ४ जनाले भने तेस्रो किस्ताबापत् १ लाख ५० हजार रुपियाँ लगेर काम सम्पन्न गर्ने क्रममा रहेको बुझिएको छ।

घर मर्मत अर्थात् प्रवलीकरणका लागि ४ हजार १ सय ५० जना लाभग्राहीको सूची तयार पारिएकोमा सबैले पहिलो किस्ताबापत् ५० हजार लिइसकेको जिल्ला इन्जिनियर पाठकले बताउनुभयो। प्रवलीकरणका लागि १ लाख रुपियाँ पाउनेमा दुई किस्ता गरेर भुक्तानी गरिनेछ।

पुनर्निर्माण प्राधिकरणले २०७५ असारसम्ममा निजी आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए पनि मकवानपुरमा उल्लेख्य प्रगति भने हुन सकेको छैन।