स्मार्ट सिटी समृद्धिको आधार

0
Shares

सन्तोष खनाल

स्थानियतह निर्वाचनदेखि शुरुभएको स्मार्ट सिटीको कुरा प्रदेश र संघको निर्वाचनसँगै विस्तारै हराउँदै छ। सबैजसो दलले बनाएको चुनावी नारा नारामै सीमित हुन लागेको जस्तो देखिएको छ। चुनावी नाराको रूपमा नेताले बोलेजस्तै स्मार्ट सिटी बनाउने कुरा सामान्य छैन। यतिबेला भौतिक संरचना र सुविधाले स्मार्ट सिटी हुने कुरा चर्चा चलिरहेको छ।

विकसित देशमा हुने स्मार्ट सिटी भनेको सुविधा सम्पन्न, मोभिलिटी पनि सुपर फास्ट हुन्छ। तर, हामीकहाँ निर्माण हुने स्मार्ट सिटी भन्नाले आधारभूत पुनर्संरचनासहितको भौतिक पूर्वाधार हुनुपर्छ। प्रत्येक घर सडक सञ्जालसँग जोडिनुपर्छ। नाला र ढलको उचित व्यवस्थापन हुनुपर्छ।

शुद्ध पानीको प्रयाप्तता हुनुपर्छ। वातावरणीय हिसाबले मानव अनुकूल वातावरण हुनुपर्छ। उच्च शिक्षा हासिल गर्ने एकेडेमिक इन्स्टिच्युट, उत्पादनमूलक उद्योगको विकाससँगै सबै नाागरिक आईटी सिस्टमले जोडिएको हुनुपर्छ। स्थानीयलाई विश्वव्यापीकरण गरिनुपर्छ। खरिद प्रविधिको प्रयोग, स्मार्ट ट्रान्सपोटेसन, मोविलेसन फास्ट, ग्यासको प्रयोग वातावरण उपर्युक्त हुनुमात्रै हैन आम जनता पनि स्मार्ट हुनु जरुरी छ। जनताको सोच पनि स्मार्ट हुनु जरुरी छ। भौतिक सुविधामात्रको सिटी स्मार्ट हुन सक्दैन। मानवीय सोच र चेतना पनि स्मार्ट भएमा सिटी स्मार्ट हुन सक्छ।

भौतिक पूर्वाधार आवश्यक छ भने परिपूरकको रूपमा मानवीय सोच जरुरी छ। सामाजिक प्राणी मानव जबसम्म व्यवहारिकरूपमा सामाजिक बन्न सक्दैन तबसम्म स्मार्ट सिटी साँच्चिकै स्मार्ट सिटी बन्नै सक्दैन। जथाभावी फोहोर फाल्ने अनि शहर फोहोर भयो भनेर चिच्याउने सोच परिवर्तन गर्नु जरुरी छ। अति ग्रामीण क्षेत्रलाई स्मार्ट सिटी घोषणा गर्न अन्य क्षेत्रमा भन्दा गाह्रो हुन्छ। स्मार्ट सिटी रातारात हुने कुरै हैन।

आम नागरिकले बुझ्नुपर्ने कुरा स्मार्ट सिटीका लागि कार्य थालनी मुख्य कुरा हो। चुनावमा भोट बटुल्न वर्ष दिनमा मुहार फेर्ने भनेझैं रातारात केही हुँदैन। ५ वर्षमा, १० वर्षमा १५ वर्षसम्म मात्रै नभएर २०औं २५औं वर्ष लाग्न सक्छ। ५ वर्षमा बेसिक इन्फास्टर्कचरको काम गर्न सकिन्छ। १० वर्षमा हेर्नलायक हुन्छ भने १५ वर्षमा जनसंख्या र जनघनत्व पनि बढ्दै जान्छ। अहिले सरकारले शुरुआत गरेको पालुङटार क्षेत्र, तनहुँ, लमजुङ र गोर्खा क्षेत्रलाई स्मार्ट सिटीका रूपमा लैजाने र लुम्बिनीलाई लैजाने काम अघि बढेको छ।

यसलाई शुरुआतीको रूपमा लिन सकिन्छ। अन्य शहरमा स्मार्ट सिटीका सन्दर्भमा सम्भाव्यता अध्ययन भइरहेको छ। अम्मरगढी, दैलेखको दुल्लु, पालुङटार क्षेत्रलगायतका शहरहरूलाई स्मार्ट सिटीका रूपमा लैजान सम्भाव्यता अध्ययन भइरहेको छ। स्मार्ट सिटीको काम चाँडो सम्पन्न गर्न अध्ययनको काम सँगसँगै निर्माणको काम पनि लैजानुपर्छ र योजनाबद्धरूपमै बजेटको विनियोजन गर्नुपर्छ।

वास्तवमा ‘स्मार्ट सिटी’ भनेको त्यस्तो शहर हो, जहँँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ। यसलाई पूर्ण व्यवस्थित शहरको रूपमा परिभाषित गरिन्छ। आधुनिक शहरमा आवश्यक पर्ने कुनै पनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ। यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारका रूपमा राखिएको हुन्छ।

शहर ठूलो भएपछि सबैभन्दा ठूलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनुपर्छ। हरेक काम छिटो छरितो हुनुपर्छ। शहरका हरेक कुनामा सीसी क्यामेरा जडान, कन्ट्रोल रुममा बसेर शहरको गतिविधि निगरानी, विभिन्न स्थानमा डाटा सेन्टर हुनु जरुरी छ। अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनुपर्छ। कुनचाहिँ पार्किङस्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाइने व्यवस्था स्मार्ट सिटीमा हुनु जरुरी छ। टेली उपचारको प्रयोग व्यापक हुनुपर्छ। सडकमा साँझ, राति र बिहानमा आवश्यकअनुसार फरक–फरक चमक हुने विशेषखाले बत्तीको व्यवस्था हुनुपर्छ।

हरेक घरमा पानी र बिजुलीको खपत कति भइरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिने व्यवस्था हुनुपर्छ। अत्याधुनिक फोहोर व्यवस्थापन हुनुपर्छ। शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भनेर हेर्न कार्यालयमै बसेर हेर्न सकिने र व्यवस्थापन गर्न सकिने हुनुपर्छ।

स्मार्टफोन एप्लिकेसनबाट सबैभन्दा नजिक रहेको ट्याक्सीलाई घरसम्मै बोलाउन सकिनेमात्रै हैन पानी, पार्क र हरियालीले सुन्दर र आकर्षक र पूर्ण वातावरणमैत्री हुनु पनि जरुरी हुन्छ। जनता, सरकार, अर्थतन्त्र, आवागमन, वातावरण र जीवनस्तरलाई स्मार्ट बनाएमात्र सिंगो शहर स्मार्ट बन्न सक्छ।

संसारमा न्युयोर्क, फ्रेन्च सिटी, लन्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन, टोकियो र कोपनहेगनलगायतका शहरहरू ‘स्मार्ट सिटी’ का रूपमा विकास भइसकेका छन्। ती शहरबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं। नेपाल प्रकृतिले निक्कै धनी देश हो। यहाँ वातावरण अनुकूल स्मार्ट सिटी निर्माण गर्न त्यति समस्या पर्दैन।

स्थानीय तह निर्वाचनमात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि ‘स्मार्ट सिटी’ बारे नछुटाई बोले तर कसरी स्मार्ट सिटी बनाउने भन्ने खाका कोहीबाट आउन सकेन। निर्वाचनमा विजयपछि पनि ‘फ्रि वाइफाई जोन’ का कुरा कतिले गरे भने त कतिपयले त रेललाई स्मार्ट सिटीको मानक पनि माने।

‘स्मार्ट सिटी’ को प्रमुख आधार सूचना, सञ्चार र प्रविधि नै हो यसमा दुईमत छैन। यी तीन प्रमुख तत्त्वको उचित प्रयोग गरेर शहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’ को प्रमुख अवधारणा हो। सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर शहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्तदुरुस्त नबनाइँदासम्म कुनै शहर ‘स्मार्ट’ बननै सक्दैन।

कसरी भए ?

१९९० को मध्यतिर इन्टरनेट शुरू भएपछि विभिन्न देशले ई–गभर्नेन्सको अवधारणा अघि सारे, त्योसँगै ‘स्मार्ट सिटी’ शब्दावली प्रचलनमा आयो। त्यतिबेला पनि शहरी पूर्वाधारलाई चुस्तदुरुस्त राख्नु नै स्मार्ट सिटी बन्ने प्रमुख आधार मानिन्थ्यो। कम्प्युटर उत्पादक कम्पनी आईबीएमले २०११ मा ‘स्मार्ट सिटी’ शब्दको ट्रेडमार्क पाएपछि भने यसलाई बढी सूचना प्रविधिसँग जोड्न थालिएको पाइन्छ। युरोपेली युनियनले कुनै शहर ‘स्मार्ट’ बन्नलाई ६ वटा पाटो ‘स्मार्ट’ हुनुपर्ने बताएको छ।

त्यसअनुसार, सूचना प्रविधि प्रयोग गरेर ओपन डाटा अभ्यास गर्ने सरकार, प्रविधिसँग जोडिएका व्यवसाय र वस्तुहरू उत्पादन गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री र सजिलो तथा सुलभ यातायात व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रविधि साक्षर जनसंख्या, प्रविधियुक्त स्वास्थ्य सेवाको विकास स्मार्ट सिटीका प्रमुख विशेषता हुन्।

आगामी २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसंख्या शहरी क्षेत्रमा बस्ने आँकलन छ। त्यतिबेला सुरक्षित खाना, सफा पानी र पर्याप्त ऊर्जा सबै शहरको प्रमुख समस्या हुने देखिन्छ। वातावरणीय, सामाजिक र आर्थिकरूपमा सक्षम शहर बनाउनु प्रमुख चुनौती त्यतिबेला हुनेछ। भविष्यका लागि शहरलाई अहिल्यैदेखि स्मार्ट बनाउन थालिएन भने धेरै कुरा छुट्नेछन्। त्यस कारण पनि स्मार्ट सिटीको कुरा जुन हिसाबले आए पनि यसलाई कार्यान्वयनका मामिलामा सरकार गम्भीर हुनु जरुरी छ।

शहरको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा सुधार ‘स्मार्ट सिटी’ को लक्ष्य हो। स्मार्ट सिटी बनाउन सबभन्दा पहिले शहरका प्रमुख समस्या पहिचान हुनुपर्छ। नेपालका सन्दर्भमा यसबारे गृहकार्य शुरु भएको छ। अहिलेका सुविधामा के–कस्ता स्तरोन्नति आवश्यक छ या के नयाँ कुरा थप्नुपर्छ भन्ने अनुसन्धान अहिले भइरहेको पाइन्छ। बार्सिलोना स्मार्ट अर्थतन्त्र, स्मार्ट जीवनयापन, स्मार्ट वातावरण, स्मार्ट सरकार, स्मार्ट यातायात र स्मार्ट जनताका आधारमा ‘स्मार्ट सिटी’ बनेको हो।

बार्सिलोनाका मेयर चुनिएका जर्मियर ट्रायसले आफ्नो कार्यकाल २०११–२०१५ मा करिब सय स्मार्ट परियोजना अघि बढाएका थिए। त्यही योजनाअनुसार बार्सिलोनामा ५ सय किलोमिटर लामो अप्टिकल फाइबर राखिएको इतिहास छ। नेपालमा पनि यो कामको नेतृत्व जनप्रतिनिधिले लिनुपर्छ। विश्वका कतिपय शहर कार्यकारी प्रमुखहरूको नेतृत्वमा ‘स्मार्ट सिटी’ बनेका छन्। हाल नेपालका कुनै शहर पनि स्मार्ट छैनन्। स्मार्ट सिटी बनाउन गर्नुपर्ने धेरै काम बँँकी छन्। खाल्डाखुल्डी पुर्न महिनौं लाग्ने, ढलमा बगेर बालिकाले ज्यान गुमाउनुपर्ने, सिंहदरबर क्षेत्रकै ट्राफिक बत्ती नबल्ने अवस्था हेर्दा त काठमाडौं स्मार्ट सिटी बन्ला भन्नेमा धेरैले आशंका गर्नु नौलो कुरा हैन। काठमाडौंलाई साँच्चै स्मार्ट सिटी बनाउने हो जनप्रतिनिधिले शून्यबाट काम शुरू गर्नुपर्ने अवस्था देखिन्छ। आफ्नो सेवा–सुविधाभन्दा जनताको साथ–सहयोगमा अघि बढ्ने जमर्को थालेर सबैलाई विश्वास दिलाएर काम सुचारु गरेमा सम्भव छ।

काठमाडौंको नयाँ सडक, बानेश्वर, रत्नपार्कलगायतका ठाउँलाई स्मार्ट बनाउन नसकिएला, तर अलिपरका क्षेत्रहरूलाई स्मार्ट सिटीमा रूपान्तरण गर्न सकिन्छ। भक्तपुर र ललितपुरमा पनि यही नियम लागू हुन्छ। सम्भावना बोकेका अरू शहरलाई पनि स्मार्ट बनाउन लागि पर्न सकिन्छ। त्यसका लागि प्रादेशिक संरचनामा जाँदाजाँदै स्मार्ट सिटीको अवधारणा अँगालेर व्यवस्थित बसोबासको विकासमा ध्यान दिनुपर्छ। अब सरकारले नीतिगतरूपमै स्मार्ट सिटीको अवधारणा ल्याउनुपर्छ। जनप्रतिनिधि कस्सेर जनताको साथमा अभियान चलाउनुपर्छ।