थ्रीस्टार बाहिरियो, आर्मी सेमिफाइनलमा


नेपाल समाचारपत्र, काठमाडौं । थ्रीस्टार क्लबको फुटबलमा पुनरागमन क्वाटरफाइनल सम्म मात्रै सीमित भएको छ । धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत थ्रीस्टार क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबसँग २–१ ले हारेको हो । यो नतिजासँगै थ्रीस्टार बाहिरियो भने आर्मी सेमिफाइनलमा पुगेको छ । आर्मीले यस वर्ष तीन प्रमुख प्रतियोगितामा उपाधि जितिसकेको छ ।

खेलको छैटो मिनेटमा नै आर्मीले अग्रता लिएर थ्रीस्टारमाथि दवाव राखेको थियो । नवयुग श्रेष्ठले गरेको यो गोल पहिलो हाफको एक मात्र गोल थियो । दोस्रो हाफ शुरु भएको चौथो मिनेटमै आर्मीले सुमन अर्यालको गोलमार्फत् अग्रता दोब्बर पा¥यो ।

यद्दपि ५३ औं मिनेटमा निराजन खड्काले गोल गरेर थ्रीस्टारलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसपछि गोल नहुँदा आर्मीले अन्तिम चारमा स्थान बनायो ।
थ्रीस्टार १४ महिनापछि फुटबलमा फर्केको थियो । ललितपुरे क्लबले प्रतियोगितामा पहिलो खेलमा झापा ११ लाई ३–१ गोलअन्तरले हराएर सुखद शुरुवात गरेको थियो ।