सिलाई कटाइबाट आत्मनिर्भर बन्दै एकल महिला

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । कालिकोट खाँडाचक्र नगरपालिका– १ का ५० बर्षिया जुना सुनार एकल महिला हुन् । उनी एकल महिला भएको लामो सघर्षपछि सिलाई कटाईको सीप सिकिन् । अहिले उनी आफुले सिकेको सीप आफु जस्तै अरु एकल महिलालाई सिकाउँदै आएकी छन् ।

बिगतमा समाजले नराम्रो दृष्टीकोणले हेर्ने गरेको र अहिले सीप भएकै कारणले सम्मानित ढंगले बाच्नु परेको सुनारले बताइन् । ‘विगतमा समाजले हेयको भावले हेर्ने गरेको थियो ।’ उनले भनिन्,–‘अहिले समाजमा सम्मानित भएर बाच्न पाएको छुँ ।’

शुरुमा सिलाई कटाईको सीप सिकेर सिलाई कटाई पसल थापेकी सुनारलाई आफुले मात्र आत्मनिर्भर भएर बाचेर केही भएन जस्तो लाग्यो रे ! आफु जस्तै समाजमा एकल महिलाहरुको पीडा कस्तो होला उनीहरुलाई पनि सीप सिकाउन पाएको भए केही समाजमा सम्मानित भएर बाच्न पाउने थिए भन्ने सोचेर आफ्नै एकल प्रयासमा गाउँका ४ जना एकल महिला आफ्नै पसलमा राखेर सीप सिकाउन थालेको बताइन् ।

‘आफु जस्तै पीडामा परेका महिलालाई सीप सिकाएर केही बाच्ने आधार हुने थियो भन्ने शुरुमा लाग्यो ।’ उनले भनिन्–‘गाउँका ४ जना एकल महिलालाई आफ्नै पसलमा निशुल्क सिलाई कटाईको तालिम दिए ।’

सुनारले जिल्लाको रास्कोट नगरपालिका–८ का २८ बर्षिया एकल महिला दर्पना तिरुवा, खाँडाचक्र नगरपालि–४ ताडीका २७ बर्षिया कर्णशिला पाण्डे, खाँडाचक्र नगरपालिका –११ बदालकोटका लक्ष्मीमा तिरुवा र खाँडाचक्र नगरपालिका २ का तस्वीरा शाहीलाई सिलाई कटाईको तालिमसँगै आफैसँग राखेर पसल चलाई रहेकी छन् ।

सघर्ष नगरि केही पनि हुदैँन भन्ने थाहा पाएपछि सुनारले ‘मानव अधिकारका लागि एकल महिला समुह’ समेत गठन गरेकी छन् । उनले एकल महिलालाई आत्मनिर्भर बनाउन बिभिन्न संस्थामा गएर एकल महिलालाई बिभिन्न सीप सिकाउनका लागि यसै संस्था मार्फत काम गर्दै आएको छिन् । बिभिन्न संस्थामा सीप सिकाउन केही सहयोग गरिदिनु प¥यो भनेर संस्थागत रुपमा जाने गरेको र हाल जिल्ला विकास समितिमार्फत संचालित ड्रिल्प र प्यापले बताइन् ।

‘सघर्ष नगरी केही नुहुदो रहेछ ।’ उनले भनिन्,–‘अहिले केही संस्थाहरुले सहयोग गर्न थालेका छन् ।’
हाल उनले संचालन गरेको सिलाई कटाई पसलमा ५ जना दिदि बहिनीले संचालन गर्दै आएका छन् । पसलमा रहेको ५ जनाले दैनिक आम्दानी भएको रकम बराबर बाड्ने गरेका छन् ।

जिल्लाको रास्कोट नगरपालिका–८ फुकोटका २८ बर्षिया एकल महिला दर्पना तिरुवाले पनि यसै पसलमा काम गर्छिन् । उनले जुना सुनारबाट नै सिलाई कटाईको तालिम सिकेकी हुन् । दुई छोरीकी आमा समेत रहेकी तिरुवा कलिलै उमेरमा बिधुवा बन्दा छोरीको हेरचाह र पढाई लेखाईमा समस्या र कसरी छोरीलाई पाल्ने चिन्ताले सताउन थालेपछि आत्मनिर्भर छोरीहरुको लालन पालनका लागि सीप सिक्न थालेको बताइन् ।

७ महिनादेखि सुनारसँग सिलाई कटाईको सीप सिकिरहेकी तिरुवा अब आफु सिलाई कटाई अब्बल भएको र आत्मनिर्भर बन्दै गएको बताइन् । ‘७ महिनाको सिलाई कटाई तालिमले मैले धेरै सीप सिकेको छुँ । ’ उनले भनिन्,–‘अब मैले कसैको मुख ताक्नु पर्दैन् ।’
दुई जना छोरीहरुलाई गाउँको माइती घरमा नै छाडेर सदरमुकाममा सीप सिक्नलाई आएकी तिरुवा अब सीप सिकेर आत्मनिर्भर बनेको छोरीहरुलाई पढाउने इच्छा रहेको बताइन् । ‘अब आफुलाई आफैले पाल्न सक्छुँ ।’ उनले भनिन्,–‘छोरीहरुलाई पढाउने धोको पनि पुरा हुने भयो ।’
सामुहिक रुपमा संचालन गरेको सिलाई कटाई पसलमा अहिले ५ जनासँगै काम गर्ने गरेको, सबैलाई पैसा दैनिक आम्दानी गरेको रकम बाडीचुडी लैजाने गरेको तिरुवाले बताइन् । ‘दैनिक आम्दानी ५ जना बैनीले मिलेर बाड्छौं’ उनले भनिन् ।

सीप सिकेका कारणले समाजमा अहिले बिगतको भन्दा अरुको हेर्ने दृष्टीकोणमा फरक आएको समाज अगाडी ठाडो शिर बनाएर हिड्नु परेको तिरुवाले बताइन् । ‘सीप सिकेका कारणले कसैको अगाडी झुक्नु परेको छैन् ।’ उनले भनिन्,–‘समाजका अगाडी शिर ठाडो पारेर हिडिरहेकी छुँ ।’

सिलाई कटाईको तालिम लिइरहेकी खाँडाचक्र नगरपालिका –४ ताडीकी २७ बर्षिया कर्णशिला पाण्डेको पनि अरु जस्तै एकल महिलाको अबस्थामा रहेकी छिन् । कलिलै उमेरमा एकल महिला बनेकी उनका २ छोरा छन् । दुई छोरा स्कुल पढाउन र पालनपोषणमा समस्या भएको आफुलाई के गरौै के गरौं लागेर सिलाई कटाईको तालिमले आफुलाई बाच्ने आधार पनि हुने छोराको पालनपोषण गर्न सकिने लागेर सिलाई कटाइको तालिम लिन लागेको पाण्डे बताइन् ।

‘सानै उमेर बिवाह भयो ।’ उनले भनिन्,–‘२३ बर्षको कलिलै उमेरमा बिधुवा भएपछि छोराहरुको पालन पोषणमा समस्या भयो । त्यसलाई हल गर्न अहिले सिलाई कटाईको तालिम लिएर आत्मनिर्भर बन्दैछु ।’

सीप नै बाच्ने आधार भएको बताउने पाण्डे आफु जस्तै एकल महिलाले बाच्नका लागि सीप सिक्नु पर्ने बताउँछिन् ।
हिन्दुबादी समाजमा एकल महिलाहरुलाई बाच्नका लागि ठुलो सघर्ष गर्नुपर्ने बाध्यता रहेको र एकल महिलाले आत्मनिर्भर बन्न गरेको यो प्रयास निकै प्रंसनिय भएको नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कालिकोट पूर्वकोषाध्यक्ष दिलु बमले बताइन् ।

‘हिन्दुबादी समाजमा एकल महिलालाई बाच्नका लागि निकै ग्राहो छ ।’ उनले भनिन्,– आत्मनिर्भर लागि एकल महिलाले गरेको यो प्रयास धेरै राम्रो छ ।’

कालिकोट जिल्लामा करिब ६ हजार हाराहारीमा एकल महिला रहेका छन् । एकल महिलाहरुलाई सामाजिक सास्कृतिक मान्यताका कारणले समाजमा निकै ग्राहो अवस्था रहेको छ ।

एकल महिलाहरुलाई समाजमा रहने बिभेद हटाउन सीपमूलक तालिम दिएर रोजगार बनाउनु पर्ने जिल्ला संमन्वय समिति कालिकोटका संयोजक अनिपाल शाहीले बताए । ‘एकल महिलालाई सीपमूलक तालिम दिएर रोजगार बनाउनु पर्छ ।’ उनले भने,–‘त्यसका लागि आफुले बिभिन्न संघसंस्थाहरुलाई समन्वय गरिरहेको छुँ ।’