कलाकर्मीको जोड: भ्रष्टाचार निर्मूल पार, इमानदार होऊ

0
Shares

सरकारले गर्ने मुख्य काम भनेको बाटोघाटोको निर्माण र विस्तार, बत्ती र पानीको सुविधा तथा सुरक्षा हो। सरकारले यतिमात्र हेरिदियो भने अरू सबै कामा जनताले गर्नेछन्।
विदुर गिरी
पटक–पटकको क्रान्ति र आन्दोलन, अस्थिर सरकार र राजनीति। यिनै कारण मुलुकका लागि आर्थिक समृद्धि कहिल्यै प्राथमिकताको विषय बन्न सकेन। बहुदलीय प्रजातन्त्र र लोकतन्त्रपछिको संघीय गणतन्त्रपछि अब पालो भएको छ आर्थिक समृद्धिको। कलाकर्मीहरूको नजरमा असल नियत र इमानदारिता तथा भ्रष्टाचारबाट मुक्ति पाएमात्र देशले आर्थिकरूपमा काँचुली फेर्न सक्नेछ। नेपाली फिल्म तथा कला क्षेत्रका कलाकारले निष्ठा र इमानदारिता प्रदर्शन गर्दै भ्रष्टाचार निर्मूल पार्न सके देशले आर्थिकरूपमा उन्नति गर्न सक्नेमा जोड दिएका छन्।

‘नेताहरू देशलाई भ्रष्टाचारमुक्त गर्नतिर लाग्नुपर्छ। भ्रष्टाचारको अन्त्यमात्र गर्न सके पनि देशले उन्नति गर्न सक्नेछ। सरकारले गर्ने मुख्य काम भनेको बाटोघाटोको निर्माण र विस्तार, बत्ती र पानीको सुविधा तथा सुरक्षा हो। सरकारले यति मात्र हेरिदियो भने अरू सबै काम जनताले गर्नेछन्’, हास्यव्यंग्य अभिनेता तथा समाजसेवी मदनकृष्ण श्रेष्ठ भन्छन्– ‘जनताले आ–आप्mनो ठाउँबाट गर्नुपर्ने काम र कर्तव्य पूरा गरिरहेका पनि छन्। मजदुरले मजदुरी गरिदिएका छन्, चालकले गाडी गुडाइदिएका छन्। शिक्षासेवी र स्वास्थ्यसेवीले स्कुल कलेज, अस्पताल चलाइदिएका छन्। उद्योगपति र व्यापारीले कलकारखाना र उद्योग चलाइदिएका छन्। यो सबैको मेनेजमेन्ट गर्ने सरकारले हो।’ मदनकृष्णले थपे– ‘सरकारले गर्नुपर्ने दायित्व पूरा नगरिदिएर हो। अहिलेको चुनावमा वाम गठबन्धनले जितेको छ। अब स्थायी सरकार होस्, भ्रष्टाचार रोकियोस्। सबै कुरा ठीक हुन्छ, आर्थिक समृद्धि पनि हुन्छ। तर, अब पनि स्थायी सरकार भएन र भ्रष्टाचार रोकिएन भने देश कहिल्यै सुध्रिँदैन।’

अर्का हास्य अभिनेता दीपकराज गिरी सबै तहमा इमानदारिता हुने हो भने आर्थिक समृद्धि टाढा नभएको ठोकुवा गर्छन्। ‘मलाई लाग्छ पियनले पियनकै काम हन्डे«ड पर्सेन्ट गरिदिए, मन्त्री, प्रधानमन्त्रीले इमानदारिता साथ आफ्नो काम गरिदिए पुग्छ। तर, यहाँ त पियनले पियनको काम नै गर्दैन, अरू थोक पनि गर्छ। मन्त्री, प्रधानमन्त्रीले इमानदरीपूर्वक काम गरिदिँदैनन्’, गिरी उदाहरण अघि सार्छन्– ‘म कलाकार हुँ तर कलाकारिता मात्र गर्दिनँ। राजनीति पनि गर्न थाल्छु। प्रशासक, कर्मचारी, नेता, मन्त्री, प्रधानमन्त्रीदेखि लिएर आम नागरिकले व्यक्तिगत लाभ नलिई शतप्रतिशत आफ्नो जिम्मेवारी पूरा गरिदिए मुलुक समृद्ध हुन समय नै लाग्दैन। जिम्मेवारी बहन नगर्नु र इमानदार नहुनुले गर्दा आर्थिक समृद्धि हुन नसकेको हो। यतिमात्र हुने हो भने विकास टाढाको विषय नै होइन।’

अभिनेता, गीतकार तथा निर्देशक नीर शाह निष्ठा र इमानदारिता कायम हुन सके देश विकास हुन सक्ने देख्छन्। ‘सबैजनासँग व्यापक मात्रामा पेसागत निष्ठा हुनुपर्छ। आर्थिक समृद्धिको कुरा गर्दा पेसागत निष्ठाको कुरा अगाडि आउँछ। हर कोही मानिस र पेसाका लागि इमानदार हुनुपर्छ। ब्युरोक्र्याट्स र पोलिटिसियनमा सबै ठूलो खाँचो नै यो देखिएका छ’, शाह भन्छन्– ‘अरू क्षेत्रजस्तै हाम्रो कला क्षेत्रमात्र अलग भएर रहन सक्दैन। यसमा पनि इमानदारिता र निष्ठाको कुरा लागू हुन्छ। यही सिद्धान्तले काम गर्छ। हामी पनि विस्तारै इमानदारिता र निष्ठा गुमाउँदै गएका छौं। यो पटक्कै राम्रो संकेत होइन।’

OLYMPUS DIGITAL CAMERA

निर्देशक तथा अभिनेता निश्चल बस्नेत निर्णायक तहमा बस्नेहरूको नियत ठीक भए आर्थिक उन्नति चाँडै हुने ठान्छन्। ‘देशको आर्थिक विकास गर्ने भए धेरै ठाउँ छ, तर यसका लागि सबैभन्दा पहिला निर्णायक तहमा बस्नेहरूको नियत ठीक हुन पर्यो। माथिल्लो लेभलको नेतादेखि लिएर तल्लो लेभलका कामदारसम्ममा असल नियत देखिँदैन। यदि सबैमा राम्रो गर्छु भन्ने सोच आयो भने आर्थिक उन्नति टाढा छँदै छैन’, निश्चल भन्छन्– ‘जुन क्षेत्रमा पनि त्यही हो। कला क्षेत्रबाट हामीले जे भइरहेको छ त्यो उठान गर्ने हो। सबै फिल्म कमर्सियल हुँदैनन्। आम जनमानसलाई इन्सपायर गर्ने फिल्म पनि अलि–अलि बनिरहेको छ। तर, त्यस्तो सोच राख्ने मेकरको अलि खाँचो छ। फिल्मले समाजलाई दिने भनेको राम्रो मेसेज हो। हामी पनि काममा इमानदार हुनुपर्यो। इमानदारीपूर्वक गरेको सानो प्रयासले पनि ठूलो रिजल्ट ल्याउँछ।’

अभिनेता तथा रंगकर्मी हरिहर शर्मा पनि इमानदारितालाई नै जोड दिन्छन्। ‘मुखले बोलेर, भाषण गरेरमात्र हुँदैन, कामै गरेर देखाउनुपर्छ। नीतिगतरूपमा पनि स्पष्टता हुनुपर्छ। त्यसपछि जनताको विश्वास र साथ लिएर सबैले आ–आफ्नो ठाउँबाट इमानदारपूर्वक काम गर्यो भने राष्ट्रलाई समृद्ध बनाउन कत्ति पनि समय लाग्दैन’, शर्माको भनाइ छ– ‘राजनीति, उद्योग, कलाकारिता सबै क्षेत्रबाट इमानदारीपूर्वक काम भयो भने देश समृद्ध हुन सम्भव छ। फिल्म उद्योग पनि शक्तिशाली उद्योगिक क्षेत्र हो। यसबाट कतिले रोजगारी पाएका छन्, यस क्षेत्रमा अरबौंको लगानी भएको छ। सांस्कृतिक उत्पादन गर्ने क्षेत्र कम महत्वपूर्ण हुन्छ र? सेवामूलक यो क्षेत्रलाई पनि राज्यले महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्छ। देश विकास र पूर्वाधारको साथसाथै चलचित्र क्षेत्रको पनि उन्नति भयो भने आम्दानी हुन्छ, बढ्छ। आम्दानी भए क्रयशक्ति बढ्छ।’

रंगकर्मी अशेष मल्ल हरेक क्षेत्रमा हाबी राजनीतिको अन्त्य भए देशलको समृद्धि हुने बताउँछन्। ‘मुख्य कुरा त २०६२/०६३ को आन्दोलनपछि देहन राजनीति यसरी हाबी भयो कि सबैजसो क्षेत्रमा मानिस आफ्नो काम छोडेर राजनीति गर्न थाले। आफ्नो पेसा र वर्गका लागि काम गर्नुपर्नेमा सबैजसो राजनीतिमा लाग्दा आर्थिक उन्नतिको पाटो पछाडि पर्न गयो। कुरा नेपालमा विकासका लागि बजेट नभएको होइन तर सबैजना कमिसनको चक्करमा लाग्दा बजेटअनुसारको काम हुन सकेन। चरमरूपमा भ्रष्टाचार भयो। भ्रष्टाचारमात्र रोक्न सके पनि देशको धेरै प्रगति हुन्छ’, अशेष भन्छन्, ‘अर्को कुरा देशको विकास हुन सक्ने टुरिजम सेक्टरबाट पनि हो। टुरिजमलाई बढावा दिन सक्यो भने देशको उन्नति सम्भव छ। कृषि क्षेत्रलाई अझ पहिलो प्राथमिकता दिनुपर्छ। यसो हुन सक्यो भने विदेशमा गएका नेपाली पनि फर्कन्छन्। उनीहरूलाई देशमै रोजगारीको व्यवस्था गर्न सकिन्छ।’ अशेष नाट्य र कला क्षेत्रबाट पनि राष्ट्रको उन्नति गर्न सकिने बताउँछन्। ‘हामी हाम्रो क्षेत्रबाट पनि राष्ट्रको उन्नति र विकासमा योगदान गर्न सक्छौं। यही सोचेर हामी सर्वनाम थिएटरबाट आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय महोत्सव गर्दै छौं। जसमा विभिन्न देशका रंगकर्मी भेला हुनेछन्। रंगकर्मीबाट पनि पर्यटनमा सघाउन सकिने सोचेर यसलाई थिएटर टुरिजम नाम दिइएको छ। विदेशी हिमाल पहाड हेर्नमात्र नेपालमा आउने होइनन्, थिएटर पनि टुरिजमको क्षेत्र हुन सक्छ भनेर हामी लागिपरेका छौं।’ –अशेषले भने।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी आर्थिक उन्नतिका लागि आत्मनिर्भरतालाई जोड दिन्छन्। ‘सबैभन्दा पहिलो कुरा आर्थिक समृद्धिबिना देश कहिले माथि जान सक्दैन। त्यसैले वैदेशिक दान मागेर ल्याउनुभन्दा पनि आफ्नो देशको कलकारखाना चल्ने वातावरण बनाउनु जरुरी छ। रोजगारका लागि देशबाहिर गएका युवा जनशक्तिलाई फर्काउन सक्नुपर्छ। स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ। त्यसो भयो भने युवाजनशक्तिले पनि स्वदेशमै काम पाउँछ। युवालाई विदेश जानबाट रोक्ने गरी देशको उद्योगधन्दालाई बचाउन सक्नुपर्छ’, आकाश भन्छन्– ‘हाम्रो सुगर मिल, कागज कारखाना, सिमेन्ट कारखाना, टायर कारखाना अहिले प्रायः बन्द अवस्थामा छन्। यसलाई बचाउन सकेको भए युवा जनशक्ति बाहिरिनै पर्दैन थियो।’ उनले थपे– ‘मेरो क्षेत्रबाट हामीले फिल्म निर्माण गर्ने काम गर्नुपर्ने हो गरी पनि रहेका छौं। यसबाटै आयकर बुझाउनुपर्छ। हामी चलचित्र क्षेत्रबाट टुरिजमलाई सहयोग गर्न सक्छौं। तर, सबै पक्षबाट इमानदार प्रयास हुनु आवश्यक छ।’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी नेताहरूको संस्कारमै परिवर्तन हुन जरुरी मान्छन्। ‘सबैभन्दा पहिलो कुरा त नेताहरूमा देशलाई माथि लानको लागि त्यो संस्कारको विकास हुनु जरुरत छ। सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्छ। आर्थिक समृद्धिका लागि कसैले केही गरेन भन्नुभन्दा पनि क्षेत्रबाट योगदान गर्नुपर्छ। सकरात्मक सोचको विकास हुनुपर्छ। प्रत्येक नागरिक, उद्योग व्यवसायीले पनि देशको हित सोच्नुपर्छ’, उनी भन्छन्– ‘नेताहरूले देशलाई भ्रष्टाचारमुक्त बनाउन पहल गर्नुपर्छ। कला क्षेत्रबाट पनि नेता र राज्यलाई मात्र दोष दिनेभन्दा पनि आफ्नो क्षेत्रमा इमानदारितापूर्वक सक्रियता देखाउनुपर्छ। खुट्टा तान्ने र दोष दिनेभन्दा पनि कामै गरेर अगाडि बढ्नु जरुरी छ।’

अभिनेता तथा निर्माता, निर्देशक भुवन केसी विकासका लागि भ्रष्टाचार हटाउनुपर्नेमा जोड दिन्छन्। ‘संसारका इतिहास हेर्ने हो भने बाटोघाटोको विकास नम्बर वन हुन आउँछ। त्यसपछि विकरालरूपमा रहेको भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई निर्मूल पार्नुपर्छ। जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ विकास सम्भव हुँदैन। त्यसपछि हाम्रो देशमा भएको स्रोत उपयोग गरी जलविद्युत्को विकास गर्नुपर्छ’, भुवन भन्छन्– ‘अर्को कुरा नेपाली चलचित्रलाई दूरदर्शी सोचबाट संसारभरि फैलाउनुपर्छ। हाम्रो चलचित्रलाई संसारभर फैलाउन सक्यो भने डलर, यान, पाउन्ड नेपालमै भित्रिन्छ। भाषा संस्कृति र टुरिजमको पनि विकास हुन्छ। चलचित्र भनेको केवल मनोरञ्जनमात्र होइन भनेर जान्यो भने अरबौं खरबौं कमाइ यसबाटै सम्भव छ।’

संगीतकार दीपक जंगम राष्ट्रको स्वार्थलाई सर्वोपरी ठानी लागिपरे देशको उन्नतिमा हुनेमा जोड दिन्छन्। ‘सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर प्रयास गर्यो भने देशको उन्नति असम्भव विषय हुँदैन। देशलाई कलाको र संगीतको क्षेत्रबाटै पनि आर्थिक समृद्धिको दिशामा लान सकिन्छ’, जंगम भन्छन्– ‘संगीतको क्षेत्रबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा लान सकिन्छ। हाम्रोमा जो चिज छ, त्यसले नेपालको महत्वलाई दर्शाउन सकिन्छ। यो आर्थिक वृद्धिका लागि ठूलो सोच बन्न सक्छ। मान्छेले बुझेको तर नबुझेजस्तो गरेको विषय धेरै छन्। हाम्रा मौलिक संगीत र कला संस्कृति जसलाई विदेशीहरू आश्चार्यका रूपमा लिन्छन्, बार–बार हेर्न चाहन्छन्। अरू देशमा सबैभन्दा बढी आम्दानी खेलकुद र संगीतबाट हुन्छ। हामीकहाँ यसबारे सोचिएकै छैन। यसलाई अभियानकै रूपमा लगेर थोरै समयमै धेरै कुरा गर्न सकिन्छ। अहिले त राजनीतिबाहेक केही भएको छैन। राजनीतिज्ञ जहाँ पैसा छ, त्यहींमात्र लागेका छन्। सरकारले संगीत भनेको मनोरञ्जजनको क्षेत्रमात्र भन्ने गलत बुझेको छ। आइडिया भएको मान्छे त्यहाँ जाँदैन, पुग्दै पुग्दैन। त्यसले गर्दा पनि यस दिशामा कसैको ध्यान जान सकेको छैन।’

नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा भने महिलालाई आत्मनिर्भर बनाएमात्र देशले समृद्धिको मार्ग पहिल्याउने बताउँछिन्। ‘हामी जहिले पनि आर्थिक समृद्धिको कुरा गर्छौं, तर महिला आत्मनिर्भर भएमात्र देश समृद्ध हुन्छ भन्ने कुरा बिर्सन्छौं। जबसम्म महिलाहरू आत्मनिर्भर हुँदैनन् तबसम्म देश आर्थिकरूपमा समृद्ध हुनै सक्दैन। जसले जुन ठाउँबाट जसरी जे काम गरे पनि घरभित्र लोग्नेमान्छेजस्तै आइमाई मान्छे पनि आत्मनिर्भर भएमात्र देश समृद्ध हुन्छ। पुरुष र नारी दुवैजनाले काम गरे एकजनाको आम्दानीले घर व्यवहार चल्छ भने अर्कोको वचत हुन्छ। आधा आकाश ढाकिएका नारीलाई अगाडि नबढाएसम्म देश समृद्ध हुन सक्दैन’, रेखा भन्छिन्– ‘आफ्नो सीपले भ्याएसम्म नारीले जस्तो पनि काम गर्दा हुन्छ। भरसक चेलीबेटी मान्छे बाहिर काम नगरे हुन्छ भन्ने सोचबाट हामी टाढा हुनुपर्छ। त्यो स्थिति आयो भने आर्थिक समृद्धि सम्भव छ। अहिले म तीनै महिलाहरूका विषयमा काम गरिरहेकी छु।’

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ भागवण्डाको राजनीति त्यागेर देशका लागि काम गरे मुलुक आर्थिक समृद्धिमा जाने बताउँछिन्। ‘सबैभन्दा पहिले त म र तँ, मेरो र तेरो भन्ने भावना त्याग्नुपर्यो। हामी सबैले देशका लागि भनेर काम गर्नुपर्छ। भागवण्डाको राजनीतिबाट मुक्त हुनुपर्छ’, सुचित्रा भन्छिन्– ‘चलचित्र क्षेत्रबाट पनि राष्ट्रको आर्थिक समृद्धिका लागि योगदान गर्न सकिन्छ। जग्गा जमिनको कारोबार गर्दा लाभकर लाग्छ। हाम्रो चलचित्रले पनि यति लगानी भयो, यति कमायो, यति लाभ भयो भन्ने कुरा आइरहन्छ। तर, लाभकर लाग्दैन। जग्गा जमिनमा जस्तै चलचित्रबाट भएको मुनाफामा पनि लाभकर लगाएर चलचित्र क्षेत्रबाट मुलुकलाई योगदान गर्न सकिन्छ। तर, त्यो लाभकर सही ठाउँमा सदुपयोगचाहिँ हुनुपर्छ।’
हाम्रो चलचित्रलाई संसारभर फैलाउन सक्यौं भने डलर, यान, पाउन्ड नेपालमै भित्रिन्छ। भाषा संस्कृति र टुरिजमको पनि विकास हुन्छ। चलचित्र भनेको केवल मनोरञ्जनमात्र होइन भनेर जान्यो भने अर्बौं खर्बौं कमाइ यसबाटै सम्भव छ।