तल्लोस्वराडमा चितुवाको अनुसन्धान

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा नरभंक्षी चितुवाको अनुसन्धान थालिएको छ । नेपाल जैविक विविधता अनुसन्धान समाजले अनुसन्धान थालेको हो । तल्लोस्वराडमा वि स २०६८ सालदेखि हालसम्म २३ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् भने केही घाइते भएका छन् ।

नेपाल जैविक विविधता अनुसन्धान समाजले तल्लोस्वराड क्षेत्रको विशालपुर, उदयदेव, आमचौरा, पञ्चेश्वरलगायतका ठाउँमा फेरी दोस्रो पटक अनुसन्धान थालेको अनुसन्धान कर्ता धिरेन्द्रबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो“ चितुवाको चलखेल, आक्रमणको कारण र न्यूनिकरणको उपायबारे अनुसन्धान थालेका छौं ।”

जनतासँगको प्रत्यक्ष घरदैलो अभियान गरि चितुवको आक्रमण बारे थाहा पाउनु, त्यसको आहार–विहारलगायत वासस्थान र चेतनामुलक कार्यक्रम गरिने टोलीका अर्का सदस्य मनिदत्त भट्टराईले जानकारी दिनुभयो “जनतासँगको अन्तरक्रिया गरी चितुवाको बासस्थान पत्ता लगाइ २ दर्जन स्वचालित क्यामेरा जडान गरिनेछन् ।”

६ बर्षदेखि चितुवाको थालेको आतंक अझै नरोकिएकाले नागरीक त्रासमा बसिरहेका छन् ।

आफूहरु अहिले पनि चितुवाको त्रासमा बस्न बाध्य भएको स्थानीय करण विष्टले बताउनुभयो ‘बालबालिकालाई एक्लै विद्यालय पठाउन डर लाग्छ । उहाँले भन्नुभयोे, कतिबेला चितुवाले आक्रमण गर्छ, थाहा हुँदैन, त्रास नै त्रासमा बाच्नु परेको छ ।’

केही घाइतेहरुले अहिलेसम्म पनि राहत पाएका छैनन् । गत भदौमा मकैबारीमा घाँस काटिरहेका बेला घाइते भएकी मेलौली नगरपालिका ९ की ४० बर्षीया कुन्दादेवी भट्टले आफूले उपचार खर्चसमेत नपाएको गुनासो गर्नुभएको छ ।