आर्सेनल फोरेस्टसँग स्तब्ध


लन्डन, (एजेन्सी)
इंग्लिस क्लबबीच हुने एफए कपबाट डिफेन्डिङ च्याम्पियन आर्सेनल बाहिरिएको छ । एफए कपअन्तर्गत आईतबार तेस्रो चरणको खेलमा मेनेजर विनाको टोली नटिङगम फोरेस्टसँग आर्सेनल ४–२ गोलअन्तरले हारेको थियो । सिटी ग्राउन्डमा घरेलु टोलीका इरिक लिचाजले २० औं मिनेटमा गोल गरेर अग्रता लिएको तीन मिनेटपछि नै आर्सेनलले बराबरी गोल फर्काएका थिए । आर्सेनलको लागि पर मर्टेसेकरले गोल गरेका थिए ।
लिचाजले फोरेस्टलाई ४४ औं मिनेटमा गोल गरेर २–१ ले अग्रतामा राखे । बेन बे्रेरेटनले ६४ औं मिनेटमा पेनाल्टी गोल गरेपछि फोरेस्ट जितको निकट पुगेको थियो । यद्दपि डेनी वेलबेकले ७९ औं मिनेटमा गोल गरेर गोलअन्तर खुम्च्याए । तर खेल सकिन ५ मिनेटको समयमा अर्को पेनाल्टी गोल गर्दै फोरेस्टले आर्सेनललाई स्तब्ध तुल्याएको थियो । १३ पटक ट्रफी जितेको आर्सेनल १९९६ पछि पहिलो पटक एफए कपको तेस्रो चरणबाट विदा भएको हो ।