माग्ने बूढाको खोजीमा रुवावासी

0
Shares

हेटौंडा,(नेस)। शुक्रबार राति हेटौंडमा सम्पन्न म्युजिकल नाइटमा सहभागी भई मकवानपुरे हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) हिँडेपछि एक बालक रुँदै ‘माग्ने बूढा खोई’ भन्दै स्टेजमा पुगे। वरपर हेरे, कतै देखेनन्। बालकले एकोहोरो रुँदै सोधिरहे– ‘माग्ने बूढा खै?’ कार्यक्रममा रहेका अन्य कलाकारले ती बालकलाई हामीसँग बस, आऊ फोटो खिचौं भनेर सम्झाउने प्रयास गरे। तर, मञ्चमा रहेका कोही कलाकारसँग पनि उनी फकिएनन्। केवल जसरी पनि माग्ने बूढा भेटाइदिनु भन्दै रोइरहे। कलाकार अनि आयोजकले बालकको रुवाइ साम्य पार्न माग्ने बूढाको व्यापक खोजी गरे। माग्ने बूढालाई त्यहींबाट फोन गरियो, उठेन। पछि उनी कार्यक्रमस्थल हेटौंडा रिसोर्टमा बासका लागि फर्किए।

केही बेरपछि अभिभावकसहित गएका करिब १० वर्षीय बालक अझै रुँदै गरेको देखेपछि उनले ती बालकलाई च्याप्प समाते र नरुन भने, उनी मान्दै मानेनन्। माग्ने बूढाको छातीमा टाँसिई रोइमात्र रहे। माग्ने बूढाप्रति बालकको यस्तो क्रेज देखेर कलाकारहरू अचम्ममा परे। बालकको रुवाइ माग्ने बूढाले साम्य पार्न सकेनन्। राति १० बजेको समय साँच्चै हेर्न लायक बन्यो। आगमनलाई माग्नेले हाँसेर घर जान आग्रह गरे । तर, उनी हाँसेनन्। अभिभावकले उनलाई घर लिएर गए, माग्नेबूढा रिसोर्टमै बसे।

बिहान उठ्नासाथ माग्नेलाई ती बालक आगमनको याद आएछ। सँगै काठमाडौं फर्कने कलाकार सुतिरहेका थिए। एकचोटि आगमनको घरमै गएर हाँसेको अनुहार हेरेरमात्र काठमाडौं फर्किन्छु भन्ने उनले सोचे अनि पुगे। माग्नेले आगमनलाई एउटा कलम उपहार दिँदै धेरै पढ्नु है भने। आगमन माग्ने बूढाको कुरा सुने बल्ल मुस्कुराए। हिजो त्यस्तो राएको केटो आज मुस्कुराउँदा माग्ने बूढा खुसी भए। हेटौंडा भैरवरोडस्थित आगमनको घरमा उनले कफी खाए। आगमनसँगै केहीबेर गफिए। ‘जीवनमा पहिलो पटक यस्तो फ्यान पाएँ’ –केदार घिमिरेले सुनाए।