चिसोले बनायो प्राकृतिक कला

0
Shares

हेटौंडा, (नेस)
केही दिनदेखि देशभर चिसो बढेको छ। प्रायः वर्षेनी हिउँ पर्ने मकवानपुरको थाहानगरका दामन, पालुङ र सीमभञ्ज्याङमा जाडो निकै छ। बिहान र साँझ मात्र होइन, दिउँसोसमेत चिसो सिरेटोले स्थानीयलाई सताएको छ। त्यस क्षेत्रमा तलाउ, पोखरी र इनारको पानी जम्नु त सामान्य नै हो, बगिरहेको साना कुलो र धाराबाट झरिरहेको पानीसमेत जम्ने गरेका छन्। जमेको पानीले बिरुवामा बनाएका संरचना हेर्दा मनै प्रफुल्ल हुन्छ। झट्ट हेर्दा सिसाले बनाइएका सामग्रीजस्ता देखिन्छन् ती। तर, यो कुनै मानवीय कला नभएर अत्यधिक चिसोका कारण स्वतः बनेका कलात्मक आकृति हुन्।