क्लिंकरको बहानामा बढ्यो सिमेन्टको मूल्य

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज,

सिमेन्टको कच्चा पदार्थका रूपमा रहेको क्लिंकरको आयात प्रभावित भएपछि वीरगन्ज क्षेत्रमा सिमेन्टको मूल्य बढाइएको छ।

भारतबाट नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिंकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलबासीले अवरोध गर्दा क्लिंकर नेपालतर्फ आयात हुन नपाएपछि यही बाहनामा सिमेन्टको मूल्य बढाइएको हो। यद्यपि, नेपाल सिमेन्ट उत्पादक संघले भने उत्पादनको लागत बढेपछि मूल्य बढाइएको दाबी गरेको छ।

घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगन्ज महानगरपालिका–२४ बहुअरीका रामकिसन देव यादवले क्लिङकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभयो। व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्रान्डको सिमेन्ट प्रतिबोरा सय रुपियाँदेखि एक सय रुपियाँसम्म बढी मूल्य राखेर बेच्ने गरेको छ। नेपाली सिमेन्ट उद्योगमा क्लिंकरको अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले बिक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएको छ।

क्लिंकरको प्रदूषणले रक्सौलबासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरूले क्लिंकर रक्सौलमा अनलोड नगरी सिधा वीरगन्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएका छन् ।

भारतीय पक्षले रक्सौलमा क्लिंकर अनलोड गर्न नदिनुको रहस्य भने बेग्लै रहेको बुझिएको छ। पहिले पहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुने गरिन्थ्यो। तर, नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनः आफ्नो पकड बनाउन भारतीय पक्षले क्लिंकर अनलोडमा समस्यमा ल्याएको सिमेन्ट व्यापारीहरू बताउँछन्।