“पार्टीको नेतृत्व नै फेर्नुपर्छ”


प्रदीप पौडेल
नेता, नेपाली कांग्रेस

निर्वाचनअघि पहिलो पार्टी रहेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ तेस्रो पार्टीमा सीमित हुन पुगेको छ। पार्टीले देशव्यापी रूपमा पराजित भोगेपछि पार्टीभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने बहस शुरू भएको छ। नेतृत्वले निर्वाचनको समीक्षासमेत गर्नका लागि तयार नभएको भन्दै पार्टीभित्रका युवाहरूले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने बहस अगाडि बढाएका छन्। निर्वाचनमा पराजित हुनुको मुख्य कारण नेतृत्वको नै कमजोरी रहेको निष्कर्षसहित युवा नेताहरूले पार्टीका केन्द्रीय समितिको बैठकमा फरक दस्तावेज नै पेस गर्ने गृहकार्य अगाडि बढाएका छन्। चुनावी रणनीतिबिना नै निर्वाचनमा जानु, उम्मेदवार छनोटमा गुटगत रूपमा छनोट गर्नु, पार्टीभित्रैबाट अन्तरघात हुनु नै निर्वाचनमा कांग्रेस पराजित भएको निष्कर्ष निकाले पनि नेतृत्वले अझैसम्म आधिकारिक रूपमा समीक्षा बैठकसमेत बोलाउने जाँगर देखाएको छैन। यसै विषयमा प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ ‘क’ बाट थोरै मात्र मतले पराजित हुनुभएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडलेसँग निर्वाचनमा कांग्रेसका पराजय, मतपरिणामप्रति असन्तुष्टि राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुको कारण र आगामी दिनमा कांग्रेसभित्र युवाहरूले खेल्ने भूमिकालगायतको विषयमा केन्द्रित भएर नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः

निर्वाचनको मत परिणामप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत नै जानुभयो नि ?

निर्वाचन भनेको एकै भोटले पनि हारजित हुने विषय हो। गोला थुतेर पनि चित्त बुझाउनुपर्छ। निर्वाचन ५ भोटले हारियो भन्ने ठूलो कुरा होइन। बढी मत ल्याउने जित्ने पद्धतिको पक्षपाति हामीहरू हौं।१७औं लटमा गनिएको ५ वटा बाकसभित्र २३ सय २८ मत खसेको भनेर मुचुल्का उठाइएको छ। तर गणनामा २३ सय ७० मत भेटियो। ४२ मत बढी कहाँबाट आयो ? उडेर आएर बाकसमा खस्यो ? ४२ मत सिधा फर्जी मत देखिएको छ।

त्यसको बारेमा निर्वाचन आयोगलाई जानकारी गरायौँ। तर निर्वाचन आयोगले जबरजस्ती परिणाम घोषणा गर्यो। हामीले तोडफोड र जुलुस गरेनौं। घोषणा गर्नका लागि पनि रोकेनौं। त्यसको कानुनी उपचार खोज्नतिर लाग्यौं। अहिले केस अदालतमा पुगेको छ। सर्वोच्च अदातलले त्यससम्बन्धी कागज पेश गर्न निर्वाचन आयोगलाई भनेको छ। पद्धतिलाई परिस्कृत गराउने पनि मेरो उद्देश्य हो। यस्तो खालको घटना हुँदै गर्दा निर्वाचन आयोग र अदालतले के भन्छन् त ? सिधै बदमासी देखिएको छ। यस्तो प्रणालीको अन्त्य नगर्ने हो भने खोट देखिन्छ। अदालतले जे निर्णय गर्छ आफ्नो ठाउँमा छ। तर मेरो भनाइ खसेको भन्दा बढी मत देखिए पनि त्यसलाई त सिधै बदर गर्नुपर्ने होइन र भन्ने हो। यस्तो प्रणालीलाई परिष्कृत बनाउन मुद्दा हालेको छु। के निर्णय आउँछ पर्खेर बसेका छौं।

खासमा भएको के थियो ?

जहाँ गणना गरिएको थियो, त्यहाँ ४ वटा बाकसको मत खन्याइयो। २ को गणना सकिएपछि एउटा त्यहाँ लगेर खन्यायो। एउटै प्रदेशको मतपत्र २ ठाउँमा गणना गरिएको थियो। एकातिर गणना गर्दा पहिला हसिँया हतौडा गणना भयो। त्यहाँ रुखको चाङ बाँकी राखेको थियो। अर्कोतिर गणना गर्दा रुख पहिला गणना भयो। हसिँया हतौडाको चाङ बाँकी राखेको थियो। हसिँया हतौडा गणना गर्दा करिब ७ सय मत आयो। ७ सयका ७ विटा र सय नपुगेको सानो विटा बाँकी रह्यो। अनि सय नपुगेको विटा उतातिर पास गरेर गणना गर्न बाँकी रहेको हसिँया हतौडामा थपियो। ४२ मत २ पटक गणना गरिएको कुरा आएको छ। पुष्टि गर्ने खासै आधार त भेटिएको छैन्। अब ४२ मत कहाँबाट आयो त ? कुनै न कुनै विधिबाट ४२ मत धाँधलीपूर्ण रुपबाट बढी देखिएको छ। मैले ३७ मतले जितेको अवस्थालाई ५ मतले हराएको बनाइएको छ।

सोचेजस्तो परिणाम नआएपछि युवा पुस्ताले नेतृत्व परिवर्तनको माग गरिरहेको देखिन्छ, सम्भव होला ?

कांग्रेसलाई जनताले स्वीकार नगरेका हुन् कि ? कांग्रेस पार्टी हारेको हो कि नेतृत्व हारेको हो ? यो कुराको पहिला छानबिन गर्न जरुरी छ। समानुपातिक र प्रत्यक्षमा हाम्रा उम्मेदवारहरूले ल्याएको भोट हेर्दा पार्टीप्रति धेरै ठूलो वितृष्णा हो भन्ने देखिँदैन। हामीले निर्वाचनको समयमा आवश्यक रणनीति अख्तियार गर्न नसक्नु नै पार्टी पछाडि पर्नुको कारण हो। मुख्य रूपमा नाकाबन्दीको समयदेखि नै हामीले त्यसलाई बलियो ढंगले त्यो विषयलाई उठाउन सकेनौं। पूर्वसभापति सुशील कोइरालाको उम्मेदवारीले स्वाभाविक सहमतिलाई खलबल्याउने काम गरेको भन्ने विषय पनि छ। हाम्रो नेतृत्वमा सरकार बनेपछि राजदूत प्रकरण, आईजीपी प्रकरणदेखि महाअभियोग प्रकरणमा जोडिएका विषय छन्। सरकारमा रहँदा राम्रो पर्फमेन्स देखाउन नसकिएको कुरा पनि छ। निर्वाचनको दौरानमा जित्ने गरी उम्मेदवार छनोट गर्न सकेनौं।

कांग्रेसकोभन्दा पनि बढी चिन्ता आफ्नो गुटको गरियो। हामीले घोषणापत्र असाध्यै राम्रो लेख्यौं। घोषणापत्रभित्र भएका विषय हामीले जनतालाई बुझाउन सकेनौं। कांग्रेसले मुलुकका ठूला संकटलाई पार लगाएको छ। कांग्रेस समन्वयकारी क्षमता भएको पार्टी हो। नेपालमा कम्युनिस्ट केन्द्र बलियो बनाउने गरी एमाले र माओवादी केन्द्र मिलेको अवस्थाका बारेमा पनि हामीले त्यसलाई पनि चिर्न सकेनौं। कांग्रेस भर्सेस सबै भए। लोकतान्त्रिक गठबन्धनको नाममा अरूलाई पनि जोडने कोशिस गरेका थियौं। तर त्यसलाई बलियो बनाउन सकिएन। यी आदि कारणले निर्वाचन हारियो भन्ने बुझाइ हो।

कांग्रेस हार्नुमा पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको कमजोरी कहाँ–कहाँ रह्यो ?

कांग्रेस हार्नुमा सभापतिको मात्र दोष छ म भन्दिनँ। हामीहरू पनि अछुतो छैनौँ। हार्ने कारणहरू के के हुन् ? सरकारले गरेको निर्णयको कारणले गर्दा पनि हामीले लोकप्रियता गुमाएका छौं भन्ने हो। त्यो निर्णयमा हाम्रो सहभागिता कहाँ थियो त ? टिकट वितरणको सन्दर्भमा संसदीय बोर्ड नै वैधानिक प्रक्रिया पूरा गरेर बनाइएन। म केन्द्रीय सदस्यकै दोष कहाँनिर छ त ? अब पहिला त हारको कारण पत्ता लगाउनुपर्यो। मूल नेतृत्व, केन्द्रीय समितिसँग जोडिएको छ कि ? त्यसको आधारमा विश्लेषण गर्नुपर्छ। सबै कुराको छिनोफानो गर्न हामीले समीक्षा शुरु गर्नुपर्छ। समीक्षाको शुरुआत केन्द्रीय समितिको बैठकबाट हुनुपर्छ। केन्द्रीय समितिमा मात्र समीक्षा सीमित राखिनुहुँदैन। त्यसलाई अलि धेरैको सहभागितामा समीक्षा गरिनुपर्छ। यसका लागि महासमितिका बैठक बोलाइनुपर्छ भनेर हामीले भनेका छौं। महासमितिको बैठकमा पुगेपछि निर्वाचनको समीक्षा गर्ने, हारको कारण पत्ता लगाउने, ती कारणहसँग कोको जोडिएका छन् त ? त्यसको बारेमा बहस गर्नुपर्छ।

मैले पहिले पनि सोधेको थिएँ, सम्भव छ त नेतृत्व परिवर्तन गर्न ?

कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ। पार्टीभित्रको विकृति र विसंगति अन्त्य गरेर पार्टीलाई सुदृढ रूपमा विकास गर्नुपर्छ। एउटा सुदृढ र व्यवस्थित कांग्रेस निर्माण गर्न के–के गर्न आवश्यक छ त ? हामीले पद्धतिसंगत रूपमा कांग्रेसलाई अगाडि बढाउन जरुरी छ। विधानलाई सिरानमा राखेर पार्टी अगाडि बढाउनुपर्ने आवश्यकता छ। व्यक्तिलाई प्रधानतालाई होइन विधिको प्रधानतालाई स्थापित गर्न जरुरी छ।

संगठनात्मक पद्धतिलाई २१औं शताब्दी सुहाउँदो आधुनिक बनाउन आवश्यक छ। २००७ सालमा विपी कोइरालाले निर्माण गरेका सैद्धान्तिक विषयहरूलाई समयसापेक्ष परिवर्तन गर्न आवश्यक छ। लोकतान्त्रिक समाजवाद भनेको के हो ? त्यो बारेमा प्रष्ट हुन आवश्यक छ। कांग्रेसका कतिपय नेताहरू पुँजीवादतिर ढल्किएकोजस्तो देखिएको छ। त्यो बाटो हो लोकतान्त्रिक समाजवादको बाटो विपीले भनेको जस्तै हो ? त्यो बारेमा प्रष्ट हुन आवश्यक छ। नेपालको राजनीतिमा नयाँ मनोविज्ञानको विकास गर्नु जरुरी छ। सबै कुरामा परिवर्तन आवश्यक छ। यो कुरा के पुरानो नेतृत्वबाट सम्भव छ त ? पुरानो नेतृत्व हामीले विश्वास गर्ने अवस्थामा छ त ? सबै कुरा परिवर्तन गर्छु भन्ने तर नेतृत्व परिवर्तन नगरी यो विश्वसनीय हुन सक्छ त ? उहाँहरूले मौका पाउनुभो। मौका पाउँदा यी काम किन गर्न सक्नुभएन त ? कसले रोकेको थियो त ? सबै कुरामा सुधार गर्नका लागि पुरानो नेतृत्वबाट सम्भव छैन। नेतृत्व परिवर्तन नै गर्नुपर्छ।

कांग्रेसभित्र गुटबन्दी झ्याङ्गिँदा अहिलेको परिणाम आएको हो र ?

एउटा राजनीतिक पार्टी गुटविहीन हुनैसक्दैन। तर गुट निर्माणको आधार के हो ? हामी नमिलेको गुट निर्माणको प्रक्रियाको कुरा हो। एउटा व्यक्तिलाई बलियो बनाउनका लागि हामीले जरैदेखि गुट निर्माण गरेका छौं। फलानो दाइलाई नेता बनाउनको निम्ति हामी जरैदेखि विभाजित छौं। गुटबन्दी विचार र सिद्धान्तको लागि भन्दा पनि आफूले अवसर लिनका लागि मात्र छ। पदीय हैसियत निर्माण गर्नका लागि छ। गुटबन्दीको प्रक्रिया सुधार गर्न जरुरी छ। हामीले विचार योजना, कार्यक्रमसँग जोडेर लैजानुपर्छ।

पराजयसँगै सभापतिले नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भन्न खोज्नुभएको हो ?

यो सम्बन्धित व्यक्तिसँग पनि निर्भर गर्ने विषय हो। पार्टीले हार्दैमा पदमा बस्न नमिल्ने कानुनी विषय त भएन। पहिलो कुरा निर्वाचनमा कांग्रेस कमजोर भएको यथार्थ कुरा हो। यसलाई स्वीकार गरेर नेतृत्वले यसको कारण पत्ता लगाउने कोशिस गर्नुपर्दथ्यो। केन्द्रीय कार्य समितिको बैठक निर्वाचनको परिणाम आएको एक हप्ताभित्र हुनुपर्दथ्यो। त्योभन्दा पछाडि केन्द्रीय कार्यसमितिको बैठकसँगै महासमितिको बैठकको मिति मूल नेतृत्वले इच्छा राखेर तोकिएको भए पार्टी सुधारको निम्ति मूल नेतृत्व नै जागरुप भएको देखिन्थ्यो। तर बैठकका लागि हामीले नै दबाब सृजना गर्नुपर्ने। त्यो परिस्थिति आफैंमा स्वभाविक छैन्। यसले हाम्रो नेतृत्वलाई अझ बढी अलोकप्रिय बनाउँछ भन्ने लाग्छ। पुरानो नेतृत्वले पार्टीभित्र विश्वास गर्ने अवस्था पनि सृजना नगर्ने, पदमा पनि बसिरहने ? त्यसो हुँदा कांग्रेस अग्रगमनको बाटोतिर जान र उचाइमा पुग्न सक्दैन। अर्को निर्वाचनसम्म हामीले कांग्रेसको अहिले आएको मतमा १५ लाख मत प्लस गर्नुपर्ने छ। त्यो चुनौती सामना गर्ने गरी कांग्रस निर्माण गर्नुपर्ने जरुरी छ। हामी समृद्धि र सबल कांग्रेस निर्माण गर्न चाहान्छौं।

अब पार्टीमा युवाको भूमिका के हुन्छ त ?

पार्टीमा केन्द्रीय समिति र महासमितिको बैठक हुन्छ। महासमितिको बैठकबाटै अगाडिको बाटो तय गर्छौं। हामी विशेष महाधिवेशन पनि जान सक्छौं।४ वर्षअघि नै विशेष महाधिवेशन बोलाउनुपर्छ। किनकि अहिले गाउँ तहमा अहिले हाम्रो पार्टीको संरचना छैन। सबै ठाउँमा हाम्रो संरचना निर्माण गर्न जरुरी छ। छिटोभन्दा छिटो महाधिवेशनमा लैजाने हाम्रो प्रयास हुन्छ। अनि बैठकमा कांग्रेसको नीतिगत योजनासहितको खाका प्रस्तुत गर्छाैं। नेतृत्व, योजना नीति, कार्यसम्पादन स्कुलिङ कस्तो हुनुपर्छ ? त्यो सबै कुरामा समयसापेक्ष सुधार गरेर अगाडि जानुपर्छ। नेतृत्वको ठाउँमा व्यक्ति परिवर्तन मात्र हुनुपर्छ भन्ने हाम्रो भनाइ होइन। नेतृत्व सबल र सक्षम हुनुपर्छ। यो योजना कार्यान्वयन गर्नका लागि हामी फेहरिस्त दस्तावेज नै पेश गर्छाैं।

कस्तो खालको लिखित दस्तावेज नै पेस हुँदै छ ?

हामीले केन्द्रीय कार्यसमितिको बैठकमा पनि पार्टी निर्माणको खाका ल्याउँछौं। महासमितिको बैठकमा कांग्रेस सुधारको मार्गचित्रसहितको दस्तावेज पेश गछौं। २१औं शताब्दीमा लोकतान्त्रिक समाजवादी भनेको के हो ? नेपाल कस्तो बनाउने ? पार्टीका नेताहरू कसरी संगठनप्रति उत्तरदायी हुनेछन् ? सम्पूर्ण रूपमा नेतृत्वले विधानको पालना गरेर कार्य सम्पादन गर्ने कसरी हुनेछ ? क्रियाशील सदस्यको दायित्व के हो ? यी सबै कुराको मार्गचित्रसहित हामी आउनेछौं।

विशेष महाधिवेशन बोलाउने सम्भावना पनि छ ?

महासमितिका सदस्यहरूले विशेष महाधिवेशनको आवश्यकता देख्नुभयो भने हुन्छ। व्यक्तिगत रूपमा मैले आवश्यकता देखेको छु। तर प्रक्रियागत रूपमा अगाडि बढने कुरा हो। लामो दुःख योगदान गरेको नेतृत्व सम्मानजनक ढंगले बाहिरिन चाहन्छ भने अभिभावक बन्न चाहन्छ भने किन बाटो बन्द गर्ने ?

पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज एक कानले सुनेर अर्को कानले उडाउने प्रवृत्ति छ पनि भनिन्छ नि ?

मैले कुनै व्यक्ति विशेषलाई दोषी देखाउन खोजेको होइन। कोही नेतृत्वले विधान उल्लङ्घन गर्ने अरूहरू त्यसको साक्षी बस्ने। मूल नेतृत्वबाट आफूले लिन सकिन्छ भनेर त्यो कमजोरीलाई पनि नऔंल्याइदिने। हाम्रो पार्टीभित्र संस्थापन पक्ष त छँदै छ। पार्टीभित्रको प्रतिपक्ष पनि कमजोर भएर गयो। लोकतान्त्रिक विधिलाई मान्ने पार्टीभित्र यो खालका कमजोरी, विकृति र विसंगतिको अन्त्य हुन नसक्नुको कारण यही हो। हामीले समीक्षा गरेर सुदृढ ढंगले अगाडि बढाउनुपर्छ।

निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने चर्चा पनि शुरू भएको छ नि ?

अन्तरघातको विषयमा सबैभन्दा मूल नेतृत्व नै दोषी छ। गुटको कार्यकर्ता भएपछि जे कुरामा पनि छुट दिने व्यवस्था छ। तलको कार्यकर्ताले धेरै ठूलो वदमासी गर्दा पनि माथिका नेताले संरक्षण गर्छ भने उसले पार्टीको पक्षमा कसरी काम गर्छ ? जुन दिन पार्टीलाई आवश्यकता पर्छ त्यसदिन पार्टीलाई गम्भीर घात गर्छ। माथिल्लो नेतृत्वको संरक्षण भएको कारणले अन्तरघात हुने हो। यसमा तलका कार्यकर्ता दोषी छैनन्। माथिदेखि नै बिग्रिएको छ। यो नेतृत्वले कसैलाई पनि कारबाही गर्नै सक्दैन।

कारबाहीका बारेमा सबै पक्षमा विधानको पालना भएको हुनुपर्यो नि ? यस्तो छिद्र राखेर पार्टी सञ्चालन गरेको नेतृत्वले कसलाई कारबाही गर्न सक्छ ? एउटा प्रक्रियाबाट नेतृत्वमा पुग्ने। अनि नेता भएर कुर्सीमा बसेपछि गुटको मात्र चिन्ता गर्ने ? गुटका कार्यकर्तालाई मात्र अवसर दिने ? कहाँ छैन यो पार्टीमा बेथिति ? सबै तहमा बेथिति छ।

कांग्रेसले निर्वाचनमा वाम गठबन्धनको बढी विरोध गर्यो, आफ्नो एजेन्डा जनतालाई बुझाउन सकेन भन्ने आरोप पनि छ नि ?

त्यसरी विरोध गरेर बुझाउन सकेको भए कांग्रेसको यो हालत हुने थिएन। नेपालको राजनीतिमा राम्रोसँग कुरा बुझाउन सक्ने, एकदमै धेरै प्रतिस्पर्धीको आलोचक नेता मेरो विचारमा केपी ओली हुनुहुन्छ। त्यसैगरी सँगसँगैको अर्को नेता प्रचण्ड हुनुहुन्छ। उहाँहरूको तुलनामा कांग्रेसका नेताहरूले वाम गठबन्धनको आलोचना गर्नुभो भन्ने मलाई लाग्दैन। हाम्रो सभापति कति नै बेर बोल्नुहुन्छ र ? एकदमै छोटो बोल्नुहुन्छ।

घोषणापत्रमा लेखिएको विषय देशभर भाषण गर्न को जाने ? वाम गठबन्धनप्रति लोकतन्त्रप्रतिको निष्ठा भनेर जनतालाई बुझाउन नसक्दा यो परिणाम आएको हो।

नयाँ जनमत आएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु राम्रो होइन र ?

अहिले प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजीनामा दिने बित्तिकै केपी ओली प्रधानमन्त्रीको कुर्सीमा आएर बस्नुहुन्छ जस्तो मलाई लाग्दैन। राजीनामा दिए पनि कामचलाउ सरकारको जिम्मेवार देउवाकै हुन्छ। उहाँले पनि एउटा कागजमा राजीनामा लेखेर दिन किन ढिला गर्नुभएको हो ? अहिले प्रतिनिधिसभाले पूर्णता पाएको छैन। नयाँ सरकार बन्नका लागि प्रतिनिधिसभामा पूर्णता हुनुपर्छ। अहिले कानुनी जटिलताका बारेमा एमाले अध्यक्ष केपी ओली र २ पटक सभामुख भइसक्नुभएका सुवास नेम्वाङलाई थाहा नहुने कुरै भएन।

अब कांग्रेसको भूमिका के हुन्छ ?

अबको यात्रा समृद्धितिर जोडिन्छ। सरकारले राम्रो काम गर्न खोज्यो हामीले आलोचना गर्न खोज्यौं भने हामी सकिन्छौं। त्यसैले हामीले नसकिनका लागि पनि सरकारको राम्रो नीति र कार्यक्रम ल्यायो भने समर्थन गर्नुपर्छ। हामी पनि देश बनाउन लागेका हौं। देश बनाउने अभियानमा उहाँहरू लाग्नुभो भने हामी पनि सहयोग गर्छौंं। निर्वाचनले कांग्रेसलाई विपक्षमा बस्न म्यान्डेट दिएको छ। एमाले र माओवादी मिलेनन् भने नयाँ शिराबाट गठबन्धन बन्न सक्छ। तर मेरो शुभकामना छ एमालेसँग मिलेर माओवादी अगाडि बढोस्।

वाम गठबन्धन फुटाउन कांग्रेसले घोषित रूपमा अभियान थाल्ने बताइएको छ नि, हो ?

वाम गठबन्धन टुक्रइउने हाम्रो कुनै दायित्व होइन। वाम गठबन्धन टुक्रइएपछि मात्र कांग्रेस रहन्छ भन्ने हाम्रो बझुाइ पनि छैन। कांग्रेस आफैं सबल भयो भने नेपालका सबै कम्युनिस्ट पार्टी मिल्दा पनि सक्दै सक्दैनन्। कांग्रेस पहिला सुध्रिनुपर्यो नि ? कम्युनिस्ट मिले हामी पत्तासाफ हुन्छौं भन्ने हामीलाई डर छँदै छैन। एमाले र माओवादी मिलेनन् भने प्रचण्डले शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीको प्रस्ताव गर्नसक्नुहुन्छ नि ? अहिले त कांग्रेसलाई सरकारमा जाने म्यान्डेट छैन।