जोर्नी प्रत्यारोपण परिवारको प्रथम राष्ट्रिय भेला सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ। आफ्नो सेवा सञ्चालनको पाँचौं वर्ष प्रवेश गरेको उपलक्षमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभागअन्तर्गतको जोर्नी प्रत्यारोपण, स्पोर्टस् मेडिसिन तथा आर्थाेस्कोपी युनिटले आयोजना गरेको सो भेलामा जोर्नी प्रत्यारोपण गरेका बिरामी र जोर्नी प्रत्यारोपणमा सहभागी चिकित्सक सहभागी भएका थिए।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभागले अस्पतालको सेवा शुभारम्भ गरेसँगै जोर्नी प्रत्यारोपण सेवासमेत शुरू गरेको थियो।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ हाडजोर्नी, आर्थाेस्कोपी, स्पोर्ट्स मेडिसिन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले सो अस्पतालमा विगत पाँच वर्षदेखि आर्थोप्लास्टी अर्थात् जोर्नी प्रत्यारोपण गर्दै आइरहेको छ। डा. पाण्डेले विगत २१ वर्षदेखि निरन्तररूपमा सफल जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ।

यस्तो अवस्थामा फिजियो थेरापी तथा औषधिको प्रयोग गरिसकेपछि पनि उपचार नभएको अवस्थामा जोर्नी प्रत्यारोपणको विकल्प रोज्नुपर्ने डा. पाण्डेको भनाइ छ। जोर्नी प्रत्यारोपणमा कृत्रिम जोर्नीलाई शल्यक्रियाको माध्यमबाट प्रत्यारोपण गरिन्छ जसले बिरामीलाई झण्डै पहिलेकै अवस्थामा समान्य र उत्पादनशील जीवनमा फर्काउन मद्दत गर्ने उहाँको भनाइ छ। शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनःस्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ। डा. पाण्डेका अनुसार आर्थोप्लास्टीका लागि उमेरको हदबन्दी हुँदैन। ग्रान्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका छन्। यसरी जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यकाबाहिरका रहेको र तीमध्ये पनि धेरैजसो महिला भएको डा. पाण्डेको भनाइ छ।

नेपालमा नै विदेशका ठूला अस्पतालहरूको झैं जोर्नी प्रत्यारोपण सेवा उपलब्ध भएपछि आफूहरूले निकै राहत महसुस गरेको सेवाग्राहीको भनाइ छ। ‘जोर्नी प्रत्यारोपणपछि हामी अपांगताबट मुक्त भएर सहजरूपमा हिँड्डुल गर्न सक्ने भएका छौं’ –दुईवर्षअघि ग्रान्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गराउनु भएकी काभ्रेकी ६८ वर्षीया सन्चमाया तामाङले आफ्नो अनुभव सुनाउनुभयो।