खानेपानीको अभावमा होटल व्यवसाय संकटमा

0
Shares

विनोद सिंह विष्ट, बैतडी
खानेपानीको अभावमा बैतडीमा होटल व्यवसायी संकटमा परेका छन्। महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित सतबाँझ बजारमा पानीको अभाव हुन थालेको हो।

२०६७ सालमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना १ वर्ष पनि नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो। योजना बनेका े वर्ष दिनमै बिग्रिएपछि सतबाँझमा रहेका १ दर्जनभन्दा बढी होटल तथा २ दर्जनभन्दा बढी घरपरिवार समस्यामा परेका हुन्।

बैतडी दार्चुलाको मुख्य व्यापारिक केन्द्र रहेको सुर्नया गाउँपालिकाको सतबाँझ बजारमा दिनहुँ दजर्नौ सवारी साधन र सयौं यात्रु आवतजावत गर्ने भएपनि खानेपानीको अभावका कारण होटल व्यवसायीले सास्ती खेप्दै आएका छन्। खानेपानीको अभाव हुँदा केही स्थानीय व्यवसायी पलायन हुन थालेका छन् भने केही गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्न बाध्य भएको होटल सञ्चालकहरूको भनाइ छ।

१० वर्षदेखि होटेल सञ्चालन गर्दै आउनुभएका स्थानीइ होटल सञ्चालक भानसिंह बोहरा पानीकै समस्याले विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ। पानी अभावमा होटल मात्र नभएर यात्रुले पनि उत्तिकै सास्ती खेप्दै आएको उहाँ बताउनुहुन्छ। अहिले होटेल व्यवसायीले चर्को मुल्य तिरेर गाडी तथा भरीयाबाट पानी बोक्न बाध्य भएका छन्। बोहोराले भन्नुभयो– ‘पानी बोक्नकै लागि १ जना भरिया राखेका छौं, पिउने पानी नै अभाव हुन थालेपछि होटलमा ग्राहक पनि राख्न छाडेका छौं।’

सतबाँझमा बजारमा हिउँदमा मात्रै नभएर बाह्रै महिना पानीको अभावमा रहने गरेको छ। गाडीबाट पानी ल्याउँदा ७ किलोमिटर टाढा सितुनवाट ल्यानुपर्ने र भरियालाई २ घण्टा टाढा चिल्लेपानीबाट पानी बोकाउनुपर्ने बाध्यता रहेको अर्का होटेलका सञ्चालक दीपेन्द्र पाण्डेयले बताउनुभयो। बोकेर ल्याएको पानीको प्रतिलिटर २ रुपियाँसम्म पर्ने गरेको छ। उहाँले भन्नुभयो–‘किनेको उक्त पानीलाई ४÷५ दिनसम्म पनि राख्ने गरेका छौं।’ जसले गर्दा विभिन्न रोग संक्रमणको जोखिम बढेको उहाँ बताउनुहन्छ। होटल सञ्चालन गरे पनि ग्राहकले मागेजती पानी दिन नसक्ने गुनासो उहाँको छ। पानीकै अभावमा राजमार्गमा चल्ने गाडी पनि जिल्लाका अन्य बजारमा गएर रोक्ने गरेका छन्।

एसियाली विकास बैंकको सहयोगमा सामुदायिक खानेपानीले सतबाँझमा २०६७ सालमा बैतडी जिल्लामै पहिलो पटक पम्प प्रणालीबाट खानेपानी आयोजना सञ्चालनमा आएको थियो। लाखौं रुपियाँ खर्च गरेर २५ केभी क्षमताको मोटर लगाएर ८ सय मिटर तल कटमोली खोलाबाट पम्पिङ गरेर ल्याएको उक्त आयोजना एक वर्ष नबित्दै बिग्रिएको थियो। आर्थिक स्रोत नहुँदा बिग्रिएको ६ वर्ष वित्दा पनि मर्मत गर्न नसकिएको उपभोक्ता समितिले जनाएको छ।

सतबाँझ बजारमा पानी समस्या रहेको बताउँदै समाधानका लागि वडा तथा गाउँपालिकावाट सक्दो सहयोग गरिने वडा अध्यक्ष हर्कबहादुर पाण्डेयको भनाइ छ। पानीको अभाव हुनु दुःखको कुरा रहेको बताउँदै उहाँले बनाएका योजनाको संरक्षण तथा मर्मत गर्न नसक्दा नसक्दा यस्तो समस्या आएको दाबी गर्नुभयो। बैतडीको सतबाँझ बजारमा मात्रै नभएर जिल्लाका अन्य बजार तथा बस्तीमा पनि खानेपानीको समस्या व्यापक रहेको छ। जिल्लाको दोगडाकेदार, पाटन, मेलौली लगायतका क्षेत्रमा पनि हिउँद शुरु भएसँगै खानेपानीको समस्या बढेको छ।