इटहरी तताए राजेशपायलले

0
Shares

अमेरिकामा इन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राशेजपायल राई लामो समयपछि इटहरीमा देखा परे। पुस महिनाको चिसोमा इटहरीको जनता स्कुलको मैदानमा जम्मा भएका खचाखच दर्शकका बीच कार्यक्रम सञ्चालिका इक्सा मादेनले राजेशपायलको नाम उद्घोष गरेपछि राति ८ बजे स्टेजमा देखा परेका राईले फेरि फेरि नाइँ नभन्नु ल बोलको गीतबाट प्रस्तुति शुरू गरे।

माहोलअनुसार आफ्नो प्रस्तुति दिन खप्पिस राईले तिम्ले बाटो फेरेउ अरे, एकासी दुकासी, उकालीमा जाँदाजाँदै, म त मर्छु कि क्या हो ठूली, तिमी मन दिन्छु, किन यति धेरै माया लाग्छ नि हौ, मैले मायाले दिएको चिनालगायत डेढ दर्जन बढी गीत प्रस्तुत गरेर दर्शक उफारेका थिए।

उनले आफूजस्तै सदावहार गीत दर्शन नमस्ते गाउँदै नया वर्ष सन् २०१८ लाई स्वागत गरी आफ्नो प्रस्तुति बिट मारेका थिए। सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा भएको कन्र्सटमा राजेशसँगै पूर्वका चर्चित लोकदोहोरी गायिका अञ्जु गौतम, यु ट्युबबाट कभर भिडियो गाउँदै लोकप्रिय बनेको पूर्वेली ठिटो पल लिम्बु, गायक डिल्ली फोम्बो, बबिन लिम्बुलगायत गायकगायिकाको प्रस्तुति रहेको थियो।

करिब ४ हजार दर्शकबीच साँझ ६ बजेबाट शुरू भएको कन्सर्ट ढिलो रातिसम्म चलेको थियो।