निर्माण सामाग्रीको अभावमा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य ठप्प

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा यस क्षेत्रमा निर्माणाधिन राष्ट्रिय गौरबका सडक आयोजना र जलबिद्युत आयोजनाहरुको निर्माण कार्य प्रभाबित भएको छ ।

नदीबाट पर्याप्त मात्रामा ढुंगा, गिटी र बालुवा उत्खनन गर्न नपाएको भन्दै क्रसर ब्यबसायीले निर्माण सामाग्री आपुर्ति नगर्दा आयोजनाहरुको निर्माण कार्य सुस्त बनेको हो ।

यस क्षेत्रमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर , मध्य मोदी, तल्लो मोदी, राहुँघाट लगायतका जलबिद्युत आयोजना र कालीगण्डकी प्रसारण करिडोर जस्ता राष्ट्रिय गौरबका योजनाहरु निर्माण भैरहेका छन । कालीगण्डकी र मोदीखोलामा स्काभेटर प्रयोग गरि प्रयाप्त मात्रा निर्माण सामाग्री उत्खनन गर्न नसकेको भन्दै स्थानिय क्रसर ब्याबसायीले निर्माण सामाग्री आपुर्ति गर्न छाडेका छन । यसले गर्दा निर्माण कार्य सुस्त बनेको निर्माण कम्पनीहरुले गुनासो गरेका छन । ‘भनेको समयमा बालुवा र गिट्टी पाउँनै सकिदैन’ कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका प्रोपाईटर ओम गौचन भन्छन ‘पुल ढलानका लागि बालुवा र गिट्टी नपाएपछि सोचे अनुसार काम गर्न नै सकिएको छैन’ उनले निर्माण सामाग्री पर्याप्त मात्रामा नहुँदा सोचे भन्दा एक बर्ष ढिलो निर्माण सक्न पनि कठिन हुने गुनासो गरे ।

पर्वतमा सञ्चालित क्रसर उद्योगहरुले नियमति रुपमा सामाग्री दिन नसकेपछि निर्माणको अन्तिम चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य प्रभाबित भएको छ । आयोजनाको सुरुङ्गमा कंक्रिटीङ्ग गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पुर्णरुपमा प्रभाबित भएको हो। आयोजनाको सुरुङ्ग निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन नसकेकाले निर्माण कार्य पुरै प्रभाबित भएको छ । ‘सुरुङ्ग खनेपछि त्यसमा बालुवा र गिट्टीको मिश्रणले कंक्रिटीङ्ग गर्नुपर्ने हुन्छ’ कम्पनीका प्रोजेक्ट म्यानेजर ध्रुब मिश्रले भने ‘बालुवा र गिट्टी नपाउँदा काम सहज रुपमा गर्न सकेका छैनौ’

यसैगरी मध्य पहाडी राजमार्ग अन्र्तगत पोखरा – बागलुङ्ग राजमार्गको स्तर उन्नतीको काम समेत नराम्रो संग प्रभाबित भएको छ । पोखरा देखि पर्वतको मालढुंगा सम्म चार खण्डमा स्तर उन्नतीको काम समेत प्रभावित भएको छ । स्तरउन्नतीमा काम गरिरहेका श्रेष्ठ–दिवा–एपेक्स जेभीका कम्पनी प्रतिनिधी काशीराज बोहराले क्रसर उद्योगले पर्याप्त मात्रामा निर्माण सामाग्री नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका छन । क्रसरमा कच्चा पर्दाथ नभएको कारण देखाएर निर्माण सामाग्री उपलब्ध नभएको उनले निवेदनमा उल्लेख गरेका छन ।

पर्वतका खोला नालाबाट आवश्यक मात्रामा कच्चा पर्दाथ निकाल्न नसक्दा निर्माण सामाग्री उपलब्ध गराउन नसकेको दक्षिणामकाली क्रसर उद्योगका सञ्चालक बिप्लब हमालले बताए । नदीबाट स्काभेटर प्रयोग गरि कच्चा पर्दाथ निकाल्न नपाउँदा मज्दुरले निकालेको सामाग्री थोरै हुने उनको भनाई छ । वातावरणीय प्रभाब नपर्ने गरी उत्खनन गर्ने ब्यबस्था भए निर्माण सामाग्री पु¥याउन सहज हुने उनको भनाई छ । ‘प्रहरी, प्रशासन र स्थानिय तहले सहज रुपमा ब्यबस्थापन नगर्दा लुकीछिपी उत्खनन गर्नढढ कठिन हुने भएकाले कच्चा पर्दाथको अभाब भएको हो’ उनले भने ‘सहज आपुर्तिका लागि उत्खनन गर्न स्थानिय तहले वातावरण बनाईदिनुपर्छ’

पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले राष्ट्रिय गौरबका आयोजनामा निर्माण सामाग्रीको अभाब भएको गुनासो नआएको बताउँदै आवश्यक मात्रामा निर्माण सामाग्री उपलब्ध गराउने वातावरण बनाउने बताए ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले वातावरणीय प्रभाब मुल्याँकन भएका ठाउँमा निश्चित मात्रामाम निर्माण सामाग्री उठाउने ब्यबस्था मिलाइएको बताउँदै केही समस्याहरु भए समाधान गरिने जानकारी दिए । ‘निर्माण सामाग्री उठाउँनै नपाउने अवस्था छैन’ उनले भने ‘कहिँकतै समस्या भएको छ भने समाधान गर्ने छौ’ ।