माघ १६ मा हुने भयो कामना अवार्डस्

0
Shares

नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकले आयोजना गर्दै आएको लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते, जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ। यसअघि पुष २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गतेका लागि सारिएको हो।

कामनाले प्रकाशनको ३ दशक बढी लामो यात्रा पार गरेको अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सीजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण शहीद दिवसको सार्वजनिक बिदाका दिन पारेर आयोजना गर्न लागिएको हो। कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुनेछ।

कामनाको आयोजना तथा सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना फिल्म अवार्डस् २०७४ मा गत वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुनेछ।

सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महोत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक⁄एक जनालाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ। लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्।

अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यवस्था गरिएको छ। ती विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएअनुसार दर्शकहरूले आफूलाई मनपर्ने कलाकार र फिल्मलाई व्यापकरूपमा एसएमएस भोटिङ गरिरहेका छन्। अवार्ड समारोहका लागि तयारी चलिरहेको आयोजक कामना सिने मासिकको प्रकाशन गृह कामना न्युज पब्लिकेसन्स्ले जनाएको छ।