भुकम्प पीडितहरुलाई पुननिर्माणको किस्तामै सास्ति

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

भुकम्प गएको ३३ महिना वितिसक्दा समेत पुननिर्माणले गति लिन सकेको छैन । पुननिर्माण गर्ने पीडितहरुले पनि राज्यले निर्धारण गरेको अनुदान रकमको किस्ता पाउनै सकेका छैनन ।

भुकम्पबाट पीडित भएका ९० हजार ४ सय ९७ भुकम्प पीडितहरु मध्ये मसिंर मसान्तसम्म २ हजार ८ सय ९३ भुकम्प पीडितहरुले मात्रै तेश्रो किस्ता प्राप्त गरेका छन् । लाभग्राहीहरुको सूचीमा रहेका मध्ये अधिकांश प्रकृयामै रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला शाखा काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । भुकम्प गएको ३२ महिनामा देखिएको यो प्रगतिले पुननिर्माण गति सुस्त देखाएको छ ।

नीजि आवास तर्फको मात्रै नभई सामुदायिक विद्यालय, गुठी, मठ मन्दिरको समेत पुननिर्माण हुन सकेको छैन । राष्ट्रिय गौरव बोकेका सम्पदाहरुको समेत पुननिर्माण हुन नसकेको हो । सर्बेक्षण गरिएका ९० हजार ४ सय ९७ घर परिवार मध्ये ७२ हजार ४ सय १७ घर परिवारको पहिचान भएको छ । पहिचान भएका लाभग्राही परिवारहरु मध्ये प्राधिकरणले ६५ हजार ७ सय ७३ घर परिवारसँग सम्झौता सम्पन्न गरेको छ । मसिंर महिनामा मात्रै ३ सय ४५ घर परिवारसँग सम्झौता भएको प्राधिकरणका प्रमुख धुर्व गैडाले जानकारी दिए । अझै प्राधिकरणले सम्झौताका लागि योग्य भनेर लाभग्राहीको सूचीमा परेका ६ हजार ६ सय ४४ घर परिवारसँग सम्झौता हुन सकेको छैन ।

सम्झौता हुन नसक्नुका थुप्रै कारण रहेको प्रमुख गैडाले बताए । आफ्नै नाममा जग्गा नहुनु, सुकुम्बासी, गुठी तथा विस्थापितहरुले सम्झौता गर्न सकेका छैनन । सम्झौता भएका मध्ये ६५ हजार ७ सय ७३ घर परिवारले पहिलो किस्ता बापतको ५० हजार रकम भुक्तानी लिईसकेका छन् । पहिलो किस्ता लिएर घर बनाउन शुरु गर्ने परिवारहरुको संख्या ११ हजार ६ सय २७ पुगेको छ । स्थानीय तहको पुनसंरचनाका कारण धेरै घरहरु पुननिर्माण हुन सकेका छैनन । नक्सापासको झण्झटिलो ब्यवस्था लगायतका कारण देखाउँदै पीडितहरुले अझै घर निर्माण शुरु गरेका छैनन । राजनीतिक दलहरुले निर्वाचनका बेला स्थानीय, प्रदेश र प्रतिनिधि सभाको समयमा भुकम्प पीडितहरुलाई टहराबाट पक्कि छानामा ल्याउने बाचालाई पनि विस्तारै कार्यान्वयन गर्दैै लैजानु पर्छ ।

पहिलो किस्ता लिएर दोश्रो किस्ताका लागि आवेदन दिने लाभग्राहीहरुको संख्या १० हजार १ सय ३८ रहेको छ । आवेदन दिएर दोश्रो किस्ता प्राप्थ नगर्नेहरुको संख्या ४ सय ८३ रहेको छ । ९ हजार २ सय ६९ जनाले दोश्रो किस्ता बापतको रकम समेत प्राप्त गरिसकेका छन् । तेश्रो किस्ताका लागि ४ हजार ४ सय ८६ ले निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३ हजार ७ सय ८ मात्रै प्रमाणिकरणमा परेका छन् । प्रमाणीकरण भए पनि तेश्रो किस्ता २ हजार ८ सय ९३ ले मात्रै प्राप्त गरेका छन् । मसिंर महिनामा मात्रै १ हजार ३ सय ६३ ले तेश्रो किस्ता प्राप्त गरे । त्यस अघि कार्तिक मसान्तसम्म १ हजार ५ सय ३० जनाले मात्रै तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् । भुकम्प गएपछि प्राधिकरणमा २३ हजार ९ सय ३९ गुनासो दर्ता भएका थिए । अधिकांश गुनासो फछर्याैट भईसकेको गैडाले बताए । २३ हजार ४ सय ८६ गुनासोको टुङ्गो लागिसकेको छ । केहि गुनासो स्थानीय तहबाटै सम्बोधन भएको छ । माघको पहिलो साताबाट छुटेका भुकम्प पीडितहरुको नामावली प्राप्त हुने छ ।

प्राधिकरणले ब्यक्तिगत आवाससँगै बस्ती विकासमा जोड दिएको छ । भौगर्भिक अध्ययन भएका जोखिमयुक्त बस्तिहरुको संख्या २७ पहिचान गरिएको छ । पुरै स्थानान्तरण गर्नु पर्ने बस्तिहरुको संख्या ३ रहेको छ । पूर्वाधार संरचना निर्माण गरी सुरक्षित गर्न सकिने बस्तिहरुको संख्या १६ रहेको प्राधिकरणले बताएको छ । जीविकोपार्जन तर्फ जिल्लामा सिकर्मी, डकर्मीहरु गरी २ हजार ९० जनालाई तालिम दिई सकिएको छ ।