भ्रष्टाचारको आरोपमा पक्राउ परेका २० राजकुमार र अधिकारी रिहा


रियाद (एजेन्सी)
भ्रष्टाचारको मामिलामा गिरफ्तार गरिएका साउदी अरेबियाका २० राजकुमार तथा अधिकारीलाई रिहा गरिएको छ। वित्तीय सम्झौताको शर्त मानेपछि उनीहरूलाई सोमबार रिहा गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। रिहा हुने वित्त मन्त्रालयका एक पूर्वअधिकारी र अन्य कैयौं व्यापारी पनि भएको साउदी सरकारका एक सल्लाहकारलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

साउदी अरेबियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको मामिला अन्त्य गर्नका लागि चाँडै नै केही अन्य व्यक्तिलाई पनि रिहा गर्ने सम्भावना रहेको बताइएको छ।यसै महिनाको शुरूमा साउदी सरकारले भ्रष्टाचारको आरोपमा १ सय ५९ जनालाई गिरफ्तार गरेको थियो। तीमध्ये धेरैजसो राजकुमार जमानतमा रिहाइका लागि सहमत भएका थिए। गत महिनाको शुरूआतमा भ्रष्टाचारको आरोपमा कैयौं राजकुमार र ४८ जना विद्यमान तथा पूर्वमन्त्रीलाई गिरफ्तार गरिएको समाचार आएको थियो।

यसैबीच अधिराज्यका वरिष्ठ खलिफाका तर्फबाट भ्रष्टाचारविरुद्ध लडाइँ लड्न इस्लामिक जिम्मेदारी भएको विज्ञप्ति जारी गरिएको थियो। भ्रष्टाचार नियन्त्रण कमिटीलाई भ्रष्टाचारीलाई गिरफ्तारीको वारेन्ट जारी गर्न, उनीहरूको खाता रोक्का गर्न र जफत गर्न सक्ने अधिकार भएको सरकारले जनाएको थियो।

उक्त कमिटीले फन्डको पनि जाँच गर्न सक्ने र फन्डको ओसारपसारमा पनि रोक लगाउन सक्ने बताइएको छ। यस प्रकारका मामिला न्यायालयमा नगएसम्म कमिटीले ती फैसला गर्न सक्छ।

शाही आदेशमा कमिटीको गठन केही व्यक्तिको गलत क्रियाकलाप, जनतालाई भन्दा आफ्नो फाइदालाई मात्र बढी जोड दिने र सार्वजनिक कोष चोरीको जाँचका लागि गरिएको उल्लेख छ।

साउदी अरेबियामा लामो समयदेखि नागरिकहरूले सरकारमा रहेका व्यक्तिहरूले सार्वजनिक कोषको गलत प्रयोग गरिरहेको गुनासो गर्दै आइरहेका थिए।

युवराजले विगत दुई वर्षदेखि विश्वभरिबाट लगानीलाई आकर्षित गर्न चाहेका छन्। उनी देशलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न चाहन्छन्। यसको मुख्य उद्देश्य तेल आम्दानीमा मात्र अर्थतन्त्रको निर्भरता हटाउनु रहेको बताइएको छ।