टोपी दिवस मनाइयो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
जागरुक युवा अभियान नेपालले व्गितका वर्षहरूमा झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अभियानले विगत ४ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन नेपाली टोपी दिवस मनाउँदै आएको हो। पाँचौं नेपाली टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो भने त्यहाँबाट भद्रकाली, शहीदगेट हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरेको थियो।
कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीको उल्लेख्य सहभागिता थियो। युवामात्र नभई युवतीसमेत नेपाली टोपीमा सजिएर सहभागी भएका थिए। यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने सहभागी अभियान्ताहरूले बताएका छन्।

प्रभातफेरीमा सहभागीहरूले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो सान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए। अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ भन्ने उद्देश्यले टोपी दिवसको शुरुआत भएको जागरुक युवा अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए। यस अभियानमा संयोजक घनश्याम श्रेष्ठ छन् भने अन्य अभियन्ताहरूमा रामजी बलामी, जनार्जन पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, मोहमद अजमत अलि, शिव धिताल, राजेश खत्री, लक्ष्मण लम्साल, वसन्त हुमागार्इं, जनक कार्कीलगायत छन्।

यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने अभियन्ताहरूले बताए। २०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोसाक हटाएपछि युवाहरूले राष्ट्रिय पोसाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रूपमा मनाउन थालेका छन्।