गाउँपालिका कार्यालयमा लगाइएको ताला खुलेन

0
Shares

राम धामी, डडेल्धुरा
गाउँपालिकाको केन्द्र सार्ने जनप्रतिनिधिको निर्णयपछि गत बिहीबारदेखि तालाबन्दी गरिएको नवदुर्गा गाउँपालिकाको कार्यालयमा सोमबार पनि ताला खुल्न सकेन।

स्थानीयले हाल बगाल भन्ने स्थानमा रहेको कार्यालय सार्न नहुने भन्दै तालाबन्दी गरिएको विषयमा सोमबार आन्दोलनरत स्थानीय र जनप्रतिनिधिबीच संवादमार्फत समस्या समाधान गर्ने तयारी थियो। छलफल गरेर समस्या समाधान गर्ने भनिए पनि गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्ट र उपाध्यक्ष डम्बरी कोली छलफलमा सहभागी हुन नसकेपछि छलफल निष्कर्षमा पुग्न नसकेकाले तालाबन्दी कायमै रहेको आन्दोलनरत स्थानीयले बताएका छन्।

यस सम्बन्धमा नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले आफू अकस्मात् धनगढी आउनुपर्ने काम परेकाले छलफलमा सहभागी हुन नसकेको बताउनुभयो। उँहाले गाउँसभाबाट सबैको पायक पर्ने स्थान सफल्ला बामचौरमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेपछि हाल गाउँपालिका कार्यालय रहेको स्थानका केही बासिन्दाहरूले विरोध गरेर तालाबन्दी गरेकाले तालाबन्दी खोल्न आफूले पहल गर्ने बताउनुभयो। आन्दोलनरत स्थानीयले भने गाउँपालिका अध्यक्ष विष्टले बहुमतको आडमा जनभावना विपरीत गाउँपालिकाको केन्द्रविन्दु सार्ने निर्णय गरेकाले बाध्यताबस आन्दोलनमा उत्रनुपरेको बताउँदै आएका छन्।
डेढ महिनादेखि डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरूले लगाएको तालाबन्दी अझै खुल्न सकेको छैन। तालाबन्दी खुलाउन नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकले दिएको सुझावसमेत कार्यान्वयन भएन भने तालाबन्दी खोल्न जिल्लास्थित सबै राजनीतिक दलहरूले गरेको आग्रहलाई आन्दोलनरत पक्षले स्वीकार गरेको छैन।

अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरसभाबाट बजेट तथा नीति र कार्यक्रमहरू पारित नगराई स्वैच्छिक शैलीमा काम गरेको, भवन आचारसंहिता विपरीत नगरकार्यपालिकाको भवन निर्माण भइरहेकामा नगर नेतृत्वले सच्याउन नचाहेको र नगर कार्यपालिकालाई निर्णय प्रक्रियामा सहभागी नगराएकालगायत विभिन्न आरोप लगाउँदै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र नगर कार्यपालिका सदस्यहरूले नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

नगरपालिकाले स्थानीय प्रशासनमार्फत बल प्रयोग गरेर तालाबन्दी खुलाउने प्रयास गरे पनि सफल हुन सकेन। निर्वाचित वडाध्यक्षबाट नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुभन्दा पनि संवादमार्फत समस्याको सामाधान गर्न जिल्लास्थित राजनीतिक दलहरूले आन्दोलनरत जनप्रतिनिधिलाई आग्रह गरेका थिए। नगरपालिकाको नेतृत्वले पनि सबै जनप्रतिनिधिरूसँग छलफल र सहकार्य गरेर अघि बढ्नुपर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूले सुझाएका थिए।

तालाबन्दी खुलाउन नगरपालिकाले प्रयास गरिरहे पनि तालाबन्दी खुलाउन नसकिएको अमरगढी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। तालाबन्दी गरिएपछि नवदुर्गा गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ भने अमरगढी नगरपालिकाले भने कार्यालय प्राङ्गणबाटै सेवाप्रवाह गरिरहेको छ। केही दिन पहिले भागेश्वर गाउँपालिकाको कार्यालयमा समेत निर्वाचित वडाध्यक्षहरूले तालाबन्दी गरेका थिए।
जनप्रतिनिधि आएपछि स्थानीय सरकारबाट थुप्रै काम हुने अपेक्षा गरेका सर्वसाधारणहरू जनप्रतिनिधि नै तालाबन्दीमा सक्रिय हुन थालेपछि दिक्क लागेको बताउँछन्। स्थानीय निर्वाचनका बेला थुप्रै काम गर्ने आश्वासन दिएर विजयी भएका जनप्रतिनिधिहरू सर्वसाधारणप्रति जवाफदेही र जिम्मेवार बन्न नसकेकाले आम नागरिकले सास्ती बेहोर्नुपरिरहेको स्थानीय अगुवा हरिप्रसाद पनेरु बताउँछन्।