रियो छमछमी ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

0
Shares

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी सो रियो छमछमी ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन्। बुधबार बेलुकी भएको प्रतिस्पर्धाबाट कोहलपुरका रोशन विश्वकर्मा बाहिरिएपछि अब बाँकी १० प्रतिस्पर्धीबीच स्पर्धा हुने भएको छ। मेगा अडिसनका लागि काठमाडौं आएका २ शय ७५ प्रतियोगीमध्ये विश्वकर्मा ११औं बन्न सफल भएपनि दर्शकको भोटका आधारमा भएको मूल्यांकनबाट प्रतियोगिताबाट बाहिरिएका हुन्। टप ११ राउन्डसम्मको सहभागीका रूपमा रहँदा धेरै कुरा सिक्न पाएको भन्दै उनले खुसी व्यक्त गरे।

भूसतही प्रसारणमार्फत् ७२ भूभाग तथा स्याटेलाइटमार्फत् संसारका १ सय ४० भन्दा बढी देशमा र लाइभ स्ट्रिमिङमार्फत संसारभर नै पहुँच रहेको यो कार्यक्रम दर्शकले रुचाउँदै आएका छन्। प्रतियोगितामा मन पर्ने प्रतिस्पर्धीहरूलाई एसएमएसमार्फत भोटिङ गर्ने व्यवस्था गरिएको रियो छमछमी ३ निर्माण कोर कमिटी सदस्य तथा नेपाल टेलिभिजनका कार्यकारी अधिकृत रामबाबु अधिकारीले जानकारी गराए। उनले छमछमीको चौथो र पाँचौ शृंखलासमेत प्रायोजन सम्झौता भइसकेको बताए।

हरेक बुधबार बेलुकी ८ः४० बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियो छमछमी ३ सोही दिन राति ११ः३० बजे र बिहीबार दिउँसो २ः२० बजे पुनः प्रसारणमार्फत् वा लाइभ स्ट्रिमिङमार्फत् हेर्न सकिन्छ। रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ।