मध्यपहाडी लोकमार्गमा बाल श्रमिक

0
Shares

सन्तोष अधिकारी, गोरखा
राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्गमा बाल श्रमिक लगाइएको पाइएको छ। मध्यपहाडी लोकमार्गको गोरखा जिल्लाको टारिफाँट–मसेल–घ्याम्पेसाल क्षेत्रमा खटिएका मजदूरहरू बालबालिका रहेको पाइएको हो। कानुनले १८ वर्षमुनिका बालबालिकाहरूलाई श्रममा लगाउन नपाइने भनेको छ।

जाजरकोट रक्दा गाउँका १२ वर्षका आकाश परियारले निर्माणाधीन मध्यपहाडी लोकमार्गको भीमसेन गाउँपालिकाको मसेल खण्डमा काम गर्न थालेको करिब एक महिना भयो। गाउँका अन्य दाजुभाइहरू र बाहरूसँग काम गर्न आएको उनी बताउँछन्। ‘गाउँका दाइभाइ, बाहरू काममा आएका छन्, उनीहरूसँगै आएको हो’, उनले भने– ‘कामचाहिँ गरिरहेका छौं। एक महिना हुन लाग्यो पैसा कति दिन्छ महिला बितेपछि थाहा लाग्ला।’ उनले गाउँका अन्यसँगै कक्षा पाँचमा पढ्दै गरेका साथीहरू पनि यहाँ काम गर्नको बताए। ‘गाउँमा कक्षा पाँचमा पढ्थें, पैसा कमाउन पर्छ भनेर घरबाट पनि पठाए’, उनले भने– ‘गाउँको एक जना दाइले ल्याएको हो। उसले कति पैसा दिन्छ।’

जाजरकोटको रक्दा गाउँका अर्का १४ वर्षका कमल विक पनि गोरखमा बन्दै गरेको मध्यपहाडी लोकमार्ग क्षेत्रका अर्का बाल श्रमिक हुन्। उनी पनि गाउँबाट काम गर्न आएकाहरूसँगै यहाँ आएर काम गरेको बताउँछन्।

यता मध्यपहाडी लोकमार्गको आयोजनाका प्रमुख सूर्य भाटले बाल श्रमिकहरूले काम गरेको बारे आफूलाई थाहा नभएको बताएका छन्। ‘मलाई पनि बालबालिकाहरूले त्यहाँ काम गरिरहेका छन् भनेर कसैले जानकारी दिएको थिएन, बल्ल तपाईंले थाहा दिनु भयो’, उनले भने– ‘म हाम्रो साइड इन्जिनियर र ठेकेदारमार्फत् तत्कालै त्यस्ता बालबालिका हटाउने प्रयास गर्नेछु।’ यस क्षेत्रमा ढुंगा फुटाउने, गाह्रो लगाउने, वालुवा सिमेन्ट घोल्नेलगायतका काममा बाल श्रमिक प्रयोजक गरिएको छ।

गोरखाको जम्मा मध्यपहाडी लोकमार्ग खण्डको आरुघाटस्थित बुढीगण्डकी किनारबाट लमजुङको चेपेनदी किनारसम्म ६३ किलोमिटर सडकमध्ये ३४ किलोमिटर मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमार्फत् निर्माणको काम भइरहेको छ। अन्य सडकखण्ड सडक डिभिजन कार्यालयमार्फत् बनिरहेको छ। सो सडक सात मिटर कालोपत्रेका साथै फुटपाथ र नाली गरेर करिब साढे आठ किलोमिटरको हुने आयोजना प्रमुख भाटले जानकारी दिए।

ठेकेदारसँग पनि अर्काे ठेक्का
सो आयोजना निर्माणको जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनका प्रोपाइटर सूर्यबहादुर खड्काले आफूलाई पनि त्यसबारे जानकारी नभएको भन्दै पन्छिए। ‘मलाई त्यसबारे जानकारी छैन’, खड्काले भने– ‘म आफैं फिल्डमा जान पाएको छैन। म के रहेछ बुझ्छु। हामीले पनि ठेकेदारलाई जिम्मा लगाउँछौं। उनीहरूले कोको कसरी ल्याउँछन् थाहा नै हुन्न। हामीले रकम बार्गेनिङ गरेर वाल लगाउन फेरि अर्काेलाई ठेक्का दिने हो। पछि कति क्षेत्रमा काम गर्यो त्यो हेरेर हिसाब गर्छाैं।’