उहिले प्रौढ कक्षा अहिले सरसफाई कक्षा

0
Shares

धनवीर दाहाल, रुकुम
चौरजहारी नगरपालिका–८ की प्रेमकुमारी मल्ल कुनै बेला प्रौढ कक्षाकी विद्यार्थी थिइन्। उनलाई उनको परिवारलगायत छिमेकीले पनि प्रौढ पढ्नुपर्छ भनेपछि साथीहरूसँगै साँझ बिहान चौतारीमा प्रौढ पढ्न जान्थिन्। प्रेमकुमारी मात्र होइन उनका धेरै साथीहरू प्रौढ कक्षामा सहभागी भएर शिक्षा लिइरहेका थिए।

कुनै बेला यस्तो समय थियो गाउँ–गाउँमा अधिकांश अधबैंसेदेखि वृद्धवृद्धासम्मले प्रौढ शिक्षा पढिरहेका हुन्थे, तर अहिले जमनाअनुसारको काम हुँदै छ। प्रौढ पढ्ने उनै मानिसहरू यतिबेला स्वास्थ्य र सरसफाईका कक्षा सञ्चालन गरिरहेका छन्। उतिबेला साक्षर अभियानले अभियानकै रूप लिएको थियो भने यतिबेला सरसफाई अभियानले ठूलो रूप लिएको छ। चौरजहारी निवासी प्रेमकुमारी जस्तै अन्य स्थानीय पनि पुख्र्यौली कृषि खेती गर्दै आएका थिए। मल्लको गाउँले भन्दा ४ वर्ष पहिला जति बेला गाउँमा रूवाबासी चलेको थियो। कारण झाडापखालाले गाउँलेको अकालमा ज्यान जाने गरेको थियो। सो समयमा गाउँमा सरसफाईको कुरा त के चपी समेत थिएनन्। स्थानीय खुल्ला ठाउँमा दिसा–पिसाब गर्दथे।

रुकुम र जाजरकोटमा झाडापखालाले ठूलो रूप लिएका बेला साविकको कोटजहारीमा हाल चौरजहारी नगरपालिका–८ मा पनि निकै ठूलो समस्या भएको थियो। त्यसपछि चर्पी निर्माण र सरसफाई अभियानले तीव्र गति लिन थालेको हो। चर्पी निर्माण भएसँगै त्यसको प्रयोग र सरसफाई सचेतनाका कुराहरू आवश्यक पर्ने भएपछि ग्रामीण खानेपानी कोष विकास समिति फन्डबोर्डको सहयोगमा छिमेकी संगठन नेपाल र ग्रामीण आधारभूत विकास परियोजनाले सरसफाई कक्षा सञ्चालन गर्न थालेका हुन्।

खानेपानी नभएका ठाउँहरूमा खानेपानी पुर्याउने काम पनि भइरहेको छ भने स्वास्थ्य र सरसफाईका कक्षाहरू पनि हरेक टोल–टोलमा भइरहेको छिमेकी संगठन नेपालका टिम लिडर मदन थापाले बताए। चौरजहारी–८ की स्थानीय प्रेमकुमारीले जब गाउँमा सबैका घर–घरमा चर्पी बन्यो अनि आफूले पनि बनाएको र आजभोलि सरसफाई कक्षामा सहभागी हुने गरेको बताइन्। उनी भन्छिन्– ‘गाँउमा संस्थाले सरसफाईका कुराहरू सिकाएपछि म तथा हाम्रो परिवार सचेत बन्यो।’

‘आजभोलि हाम्रो परिवारमा जुठ्यान, मज्यान, धुवाँरहित चुलो तथा व्यवस्थित मलखाद तथा गोठ व्यवस्थापन छ। मैले यी कुरा थाहै पाएको थिएन। जब हामीले सरसफाई शिक्षा पायौं तब विभिन्न समूहमा सहभागी भयौं र धेरै कुरा थाहा भयो। खास फोहरको कारण रोग लाग्ने कुरा थाहा भयो’– उनले भनिन्।

यतिबेला प्रेमा कुमारी मल्ल यति बेला आफूले लिएको सरसफाई कक्षाबाट अरुलाई सिकाउने भएकी छन्। आफ्नो घर समाजमा धेरै कुरा सिकेर व्यवहारमा ल्याएपछि उनले हरेक बैठकहरूमा तथा छलफल कार्यक्रमहरूमा सबैभन्दा पहिला सरसफाईका कुराहरू भन्ने गर्दछिन्। आफ्नो परिवारलाई मात्र होइन समाजलाई समेत सरसफाईका कुरा सिकाउने भएकी छन्। कोटजहारीमा यतिबेला प्रेमा कुमारीजस्तै धेरै महिलाले आफू मात्र होइन अरुलाई समेत सरसफाई र स्वास्थ्यका कुरा सिकाउने भएका छन्। यसमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति तथा नियो नेपालको मुख्य देन रहेको स्थानीयको भनाइ छ।

ग्रामीण खानेपानी कोष विकास समितिको सहयोगमा नियो नेपाल र आरबीपीले कार्यक्रम सञ्चालन गरेका रुकुम पश्चिमको चौरजहारी नगरपालिका (साविकको कोटजहारी र खोलागाँउ गाविस) र रुकुम पूर्वको सिस्ने गाउँपालिका र भुमे गाउँपालिका (साविकको रुकुमकोट गाविस) मा यति बेला स्वास्थ्य तथा सरसफाई कक्षाहरू सञ्चालन भइरहेको ग्रामीण आधारभूत विकास परियोजना रुकुमका अध्यक्ष केशवचन्द्र समालले नेपाल समाचारपत्रलाई जानकारी दिए।