सीमा सर्भे टोलीद्वारा संयुक्त अनुगमन, निकट भविष्यमा मर्मत तथा पुनर्निर्माणको काम थालिने

0
Shares

हेमन्त पौडेल, कैलाली
नेपाल भारतको संयुक्त सीमा टोलीले दुवै देशका बोडर सीमास्तम्भहरूको मर्मत तथा पुनर्निर्माणको काम गर्ने भएको छ। दुवै देशका संयुक्त टोलीले कैलाली पूर्वी सीमा क्षेत्रदेखि कञ्चनपुरको पश्चिम सीमा क्षेत्रसम्मको स्थलगत अध्ययनको काम भइरहेको सीमा सर्भे टोलीका नेपाल प्रमुख सुदर्शनसिंह धामीले बताउनुभयो। दुई सातादेखि दुवै देशका टोलीले संयुक्तरूपमा स्थलगत अध्ययनको काम भइरहेको उहाँले जानकारी दिनुभयो।

कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिकाको धनसिंहपुरबाट स्थलगत अनुगमनको काम शुरू भएको छ। पिलर नम्बर ७ सयदेखि कञ्चनपुरको ब्रम्हदेवसम्मको ८ सय ११ नम्बर पिलरसम्मका अनुगमन गर्ने कार्यक्रम रहेको टोली प्रमुख धामीले बताउनुभयो। दुई सातामा कैलालीको आधा क्षेत्रका पिलरहरूको अनुगमन भएको छ। टोलीले भारत नेपालको सीमा क्षेत्र चन्दन चौकीसम्मका स्तम्भहरू अनुगमन गरेको छ। मोहना नदीको कटानका कारण सीमा क्षेत्र अस्तव्यस्त बन्न पुगेको टोलीमा संलग्न सदस्यहरूको भनाइ छ।

भारत नेपालको सीमा मोहना नदीले छुट्याएको पाइएको उनीहरूको भनाइ छ। अधिकांश सीमास्तम्भ नदीले बगाएको र कोही ढलेको अवस्थामा देखिएका छन्। यिनीहरूको मर्मत र पुनर्निर्माणका लागि समय लाग्ने टोली प्रमुख धामीले बताउनुभयो। अनुगमनका क्रममा नदी किनारमा रहेका स्तम्भ कटानको जोखिममा रहेका छन्।

अहिले पनि नदीले जमिन कटान गरेको अवस्था छ केही समयपछि केही सीमास्तम्भहरू नदीले भत्काउने अवस्था देखेको टोली सदस्य जनकराज जोशीले बताउनुभयो। सीमास्तम्भका लागि सर्भे टोली खटिएको भए पनि भौगोलिक अवस्था सहज नभएकाले समयमा पुनर्निर्माणमा समस्या देखिएको छ।

६ महिनामा जीर्ण अवस्थामा रहेका सीमास्तम्भ पुनर्निर्माण गर्ने जिम्मेवारी लिएर आएको टोलीले अझै दुई साताभन्दा बढी अनुगमनमा नै समय जाने भएकाले तोकिएको समयमा सीमास्तम्भहरू मर्मत तथा पुनर्निर्माण हुने सम्भावना कम देखिएको छ।
सीमा सर्भेमा नेपालका तर्फबाट सुदर्शनसिंह धामी र भारतका तर्फबाट आरसी भट्टले गर्नुभएको छ। उहाँहरूले लगातार अनुगमनको काम गरिरहनुभएको छ। उहाँहरूले गरेको कामका बारेमा बुधबार भारतको पलियामा समीक्षा भएको छ। लखिमपु खीरिका डिएम शैलेन्द्रकुमार सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो।

सीमास्तम्भहरूको पुनर्निर्माणका समयमा भारतीय एसएसबी र नेपालको सशस्त्र प्रहरीको प्रत्यक्ष संलग्नतामा काम हुने जनाइएको छ। एकले जोर र अर्को देशले विजोर सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिने छ।