दुर्घटनामा कलाकार बिना थापाको निधन

0
Shares

बुधबार बिहान राजधानीको बत्तीसपुतलीमा भएको सवारी र्दुघटनामा परी मोडल, रङ्कर्मी तथा अभिनेत्री बिना थापाको निधन भएको छ। बा२ख ८९४ नम्बरको पानी ट्याङ्करले उनी सवार बा५५प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बिना गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो। उक्त ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं धापासी बस्ने गुल्मी मुसिकोट गाउँपालिका–२ की स्थायी बासिन्दा २७ वर्षीया बिनाले रामप्यारी, डिभोर्स, उर्वसीजस्ता फिल्ममा अभिनय गरेकी छिन्। प्रदर्शनको तयारीमा रहेको हिमाल केसी निर्देशित फिल्म पिँजडा ब्याक अगेनमा उनले सहअभिनेतृको रूपमा अभिनय गरेकी छिन्। ‘उनी सबैसँग हासखेल गरेरे सबैसँग मिलेर काम गर्ने कलाकार थिइन्। उनीसँग काम गर्ने जो–कोहीले पनि उनको व्यवहार र उनलाई भुल्न सक्दैनन्’ –निर्देशक केसीले भने। पिरतीको डोरी, दिन बित्योजस्ता दर्जनौं गीतको म्युजिक भिडियोमा अभिनय गरेकी उनी देश–विदेशमा हुने विभिन्न कार्यक्रममा नृत्य प्रतिभाका साथ प्रस्तुत हुने गर्थिन्। उनी नाटकको पनि कुशल रंगकर्मी थिइन्।