हेटौंडामा म्युजिकल नाइट हुँदै

0
Shares

हेटौंडा, (नेस)। हेटौंडामा राष्ट्रिय कलाकारको जम्बो टोलीले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले देशमा पहिलोपटक गर्न लागेको म्युजिकल नाइट २०७४ मा संगीत, फिल्म तथा हास्य विधासँग सम्बन्धित कलाकारहरू प्रस्तुतिका लागि हेटौंडा आउने भएका हुन्।

नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसाथ नेपाल उद्योग वाणिज्य महासंघको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ पुस २१ गते आयोजना हुन लागेको म्युजिकल नाइटमा अञ्जु पन्त, राजनराज शिवाकोटी र युवराज चौंलागाईंले गायकी प्रस्तुत गर्नेछन् भने हास्य विधाका चर्चित अनुहार जितु नेपाल र केदार घिमिरे ‘माग्ने बुढा’ ले कमेडी प्रस्तुत गर्नेछन्। कार्यक्रममा महासंघ केन्द्रीय सदस्य, फोरम संयोजक तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निरुता सिंह, श्वेता खड्का, नीता ढुंगाना, यशराज गराच आदिले नृत्य प्रस्तुत गर्नेछन्। कार्यक्रममा देशका चर्चित अन्य कलाकारको पनि उपस्थिति रहने बुधबार यहाँ आयोजित पत्रकार भेटमा जानकारी गराइएको छ।

मुलुकभित्र आर्थिक⁄व्यावसायिक गतिविधि सुस्त रहेको अवस्थामा स्थानीय आर्थिक गतिविधि विस्तारका साथै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ महासंघले यस प्रकारका कार्यक्रमको आयोजनामा विशेष जोड दिएको अधिकारीले बताए। सबै प्रकारका निर्वाचन सम्पन्न भएर मुलुक आर्थिक समृद्धिको एकल सूत्रमा अगाडि बढ्ने तरखरमा रहेको बेला आयोजना हुने यस्ता कार्यक्रमले आर्थिक समृद्धिको अभियानलाई सफल पार्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा महासंघको छ। हेटौंडाको रिगल रिसोर्टमा हुने सांगीतिक कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतिको समयावधि करिब ३ घण्टाको रहने नेउवा महासंघ उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए। गीत⁄संगीतका माध्यमबाट स्थानीय तहमा स्थानीय आर्थिक गतिविधि विस्तारका साथै सेवामूलक उद्योग⁄व्यवसाय र स्थानीय तहमा पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने अपेक्षा लिइएको कार्यक्रम संयोजक नरेन्द्र महर्जनको भनाइ छ।