भक्तपुरमा नारायणगोपाल स्मृति साँझ हुने

0
Shares

भक्तपुर, (नेस)। भक्तपुरमा पहिलोपटक स्वरसम्राट नारायण गोपाल स्मृति साँझ हुने भएको छ। भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकको थापा पार्टी प्यालेसमा आगामी पुस २२ गते शनिबार नारायणगोपाल स्मृति साँझ २०७४ हुने भएको हो।

समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कपिल कसपालले गायक कर्णदासलगायत राष्ट्रियस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले समेत नारायण गोपालका गीतहरू प्रस्तुत गर्ने जानकारी गराए। पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रविन शाहीले कार्यक्रममा करिब ८ लाख रुपियाँ खर्च हुने तर कार्यक्रमले भक्तपुरमा पनि सांगीतिक क्षेत्रको विकासमा टेवा पुग्ने दाबी गरे। भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यका साथ एक महिनाअगाडि स्थापना भएको समाजले उक्त कार्यक्रम गर्न लागेको उनले जानकारी गराए। कार्यक्रममा गीतकार सुवासचन्द्र ढुंगेल, साहित्यकार धु्रव मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष तथा गीतकार पुष्करराज बुढाथोकी ‘साउँतेली’, समाजसेवी श्यामसुन्दर धौभडेललगायतले भक्तपुर कला र संस्कृतिको शहर भए पनि भक्तपुरमा यस्ता कार्यक्रम हुने गरेको भन्दै समाजमार्फत भक्तपुरमा पनि सांगीतिक क्षेत्रले अब फड्को मार्ने विश्वास व्यक्त गरे।