सम्पदा संरक्षणमा २४ नगरपालिकाहरुको ऐक्यवद्धता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न देखिएका चुनौतीहरु सामना गर्न उपत्यका भित्र रहेका १८ र उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा नगरपालिकाहरु एकमत भएका छन् । पनौती नगरपालिकामा आयोजित मेयरहरुको कार्यशाला गोष्ठीबाट उक्त निश्कर्ष सहितको घोषणापत्र जारी गरिएको छ ।
‘नगरपालिकाहरु बीचको भाईचारा सम्वन्ध कायम गर्न तथा नगरपालिकाहरु भित्र रहेका ऐतिहासिक सम्पदाहरुको संरक्षण र पुननिर्माणमा देखिएका चुनौती सामना गर्न कार्यशाला आयोजना गरिएको हो’–पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले बताए –‘विश्व सम्पदा सूचीमा प्रस्तावित गरिएको पनौती नगरपालिकाको ऐतिहासिक सम्वन्ध उपत्यकाका विभिन्न नगरपालिकाहरुसँग रहेकाले त्यसका बारेमा जानकारी गराउन पनि कार्यशाला आवश्यक ठानिएको हो ।’ पनौतीको त्रिवेणी घाटमा लाग्ने १२ वर्षे मकर मेला, ललितपुरको गोदावरीमा लाग्ने मेला, हरेक वर्ष स्वस्थानी पूर्णिमाको अवसरमा लाग्ने साँखुको जात्रासँग पनौती गाँसिएको नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनामले बताए । नगर प्रमुखहरुले ऐतिहासिक सम्पदा र संस्कृतिलाई जोगाई राख्न चुनौती थपिदै गएकाले सबै नगरपालिकाहरुले मिलेर सामना गर्नु पर्ने निश्कर्ष निकालेका छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिकाजी महर्जनले उपत्यका भित्र र बाहिर रहेका नगरपालिकाहरुको प्रमुख चुनौती ऐतिहासिक सम्पदाहरु जोगाईराख्नु भएको बताए । भुकम्पले तहसनहस भईरहेका सम्पदाहरुको पुननिर्माणका लागि सामाग्री, मजदुर लगायतको अभाव भए पनि आर्थिक अभाव हुन नदिने विश्वास दिलाए । सम्पदा क्षेत्र भित्रका नागरिकहरुलाई समेत भवन निर्माणमा सहुलियत प्रदान गर्दै नगरपालिकाहरुले आवश्यक मात्रामा मात्रै घर निर्माण गर्न दिनु पर्ने सुझाव सहभागिहरुको रहेको थियो । किर्तिपुर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका लगायत २४ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागि कार्यशाला गोष्ठीमा पुरातत्व विभाग र ख्वप कलेजका प्राध्यापक डा. विजयकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
‘झिंगटीको समेत अभाव देखियो’–पुरातत्व विभागका अनुसन्धान अधिकृत मोहन सिं लामाले भने–‘नगरपालिकाहरु भित्र निर्माण हुने घरहरु पुरानै शैलीमा निर्माण गर्न नागरिकहरु अनिच्छुक हुँदै जान थाले ।’ भुकम्प प्रतिरोधात्मक निर्माण गर्न खर्चिलो र झण्झटिलो हुने भएकाले नागरिकहरुको आर्कषण सम्पदाको संरक्षण भन्दा पनि सहजता खोज्दै जान थालेको सहभागिहरुले बताए । पनौतीमा हरेक वर्ष एक सय भन्दा धेरै जात्रा हुने भएकाले जात्राहरुको संरक्षणमा थप चुनौती देखिएको इन्जिनियर सोनामले बताए । पनौती नगरपालिकाले मात्रै सम्पदाको संरक्षणमा झण्डै आधा करोड रकम विनियोजन गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत ध्यानकुमार थापाले बताए ।

राजा भुपतिन्द्र मल्लले पनौती आफ्नो बहिनीलाई दाईजो दिएको ऐतिहासिक कथन छ । अरनिको राजमार्ग प्रयोगमा नआउँदासम्म चीन र भारतको मुख्य केन्द्रका रुपमा साल्ट ट्रेड रुटका रुपमा पनौती रहेको थियो । विश्व सम्पदाको सूचीमा प्रस्ताव गरिएको पनौतीको वडा नम्वर ७ मा मात्रै १ हजार ४ नीजि आवास र १ सय भन्दा धेरै मठ मन्दिर रहेका छन् । पनौती चिनाउने संग्राहलयको निर्माण, स्मारक संरक्षण समिति गठन, लायकु दरवारको उत्खनन र संरक्षण, होमस्टे संचालन, बैकल्पिक सडक निर्माणको प्रयास, बनभोज पार्कहरुको निर्माण जस्ता कार्य पनौतीले अगाडी सारेको प्रशासकिय अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
आर्थिक ब्यवहार, निर्माण सामाग्रीको अभाव, तालिम प्राप्त दक्ष जनशक्ति अभावका कारण पुरातत्व अनुसारको पुननिर्माण हुन नसकेको सहभागिहरुको निश्कर्ष थियो । आगामी ५ वर्ष भित्र नगर भित्रका सबै सम्पदाहरुको संरक्षण र संस्कृतिको जगेर्नाका लागि नगरपालिकाहरुले छुट्टै कार्यक्रम संचालन गर्ने निश्ष्कर्ष निकालेका छन् ।