ओलीद्वारा भट्टराईको प्रशंसा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई नेपाललाई अँध्यारो युगबाट उज्यालो युगमा ल्याउने आफ्नो पितातुल्य पुस्ता भएको बताउनुभएको छ।

भट्टराईको ९४औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो– ‘उहाँ राणा शासनको अँध्यारोबाट उज्यालो युगमा ल्याउने पितातुल्य हुनुहुन्थ्यो।’ भट्टराईसँग आफूले संगत गरेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘किसुनजी सादगी र साह्रै खुला हुनुहुन्थ्यो।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीले हलो आफू जोत्ने किसान परिवारबाट हुर्केर आएकाले आफूसँग अहंकार असम्भव भएको भन्दै दम्भ र अहंकार ठूला घरानाको प्रवृत्ति भएको पनि बताउनुभएको थियो। उहाँले आफूले शासक नठान्दैमा भ्रष्टाचार र कुरीतिलाई भने नसहने पनि बताउनुभएको थियो। ‘मसँग अहंकार छैन भन्दैमा करप्सनप्रति पनि म लल्लुराम होइन’ –ओलीले भन्नुभयो।

सो अवसरमा एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयलाई लिएर चुनावी प्रतिस्पर्धामा सामेल भएपछि हारजित राजनीतिको धर्म भएको र हारजितलाई लिएर प्रणालीलाई असर पार्न नहुने बताउनुभएको थियो।