चौधरी सांसद बन्न अयोग्य



काठमाडौं, (नेस)
अन्ततः फरार रहेकै अवस्थामा चुनाव जितेका राष्ट्रिय जनता पार्टीका रेशम चौधरी सांसद बन्नबाट अयोग्य ठहरिएका छन्। आइतबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चौधरीलाई सांसद बन्नबाट रोकेको हो।

सर्वोच्च अदालतद्वारा जारी आदेशमा भनिएको छ– ‘आफूविरुद्व कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी राख्ने यी निवेदक (रेशम चौधरी) ले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पुर्जीसमेतको अवज्ञा गरिरहेको प्रस्ट देखिन्छ। अदालती प्रक्रियालाई छलेर कसैले पनि प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउँछ भन्नु कदाचित मिल्दैन। अभियोग लागेका व्यक्तिले कानुनबमोजिम सफाइ लिनुपर्ने हुन्छ।’

वारेन्ट जारी भएको अवस्थामा पक्राउ नपरेका अभियुक्तविरुद्ध म्यादी पुर्जी जारी हुने जनाउँदै फरार अभियुक्तलाई प्रहरीले जहिलेसुकै पक्राउ गरी अदालनमा दाखिल गराउन सकिने आदेश दिएसँगै चौधरीलाई पक्राउ गर्ने बाटो खुलेको हो। कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनुपर्ने माग गर्दै आफ्ना भाइ मिट्ठु चौधरीमार्फत सर्वोच्च पुगेका थिए। चौधरीविरुद्ध अहिले पनि कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता छ।

प्रतिक्रिया दिनुहोस्