ब्याडमिन्टनमा नेपाली जोडी फाइनलमा


काठमाडौं, (नेस)
काठमाडौंमा जारी नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा आयोजक नेपालका तर्फबाट मिक्स डबल्सतर्फ फाइनलको यात्रा तय गरेको छ।

शनिबार मिक्स डबल्स सेमिफाइनलमा दीपेश धामी र शोभा गौचनले जित हात पारेपछि फाइनलमा पुगेको हो। नेपाली खेलाडी एक पछि अर्को गर्दै प्रतियोगिताबाट बाहिरिएको अवस्थामा दीपेश र शोभाले नेपालको लागि पदक पक्का गरेका छन्। दीपेश र शोभाको जोडीले राखेपको कभर्डहलमा भएको खेलमा मलेसियन जोडी एभेसगारन भसीगरन र दर्शीनी भसीगरनलाई २१–१७, १६–२१, २२–२० को तीन सेटमा पराजित गरेको थियो। नेपाली जोडीले आज हुने फाइनलमा भारतका खेलाडी भी डेभलेकर र हरिका भेलुडर्थीसँग खेल्नेछन्।

भारतीय जोडीले नेपालकै खेलाडी नङसलदेवी तामाङ र रत्नजीत तामाङको चुनौती समाप्त गरेको थियो। प्रतियोगितामा सिंगल्सतर्फ क्वाटर फाइनलसम्म पुग्ने दीपेश एक्लो खेलाडी हुन्। नेपालका नम्बर एक पुरुष खेलाडी रत्नजीत मेन्स सिंगल्सको तेस्रो चरणमै पराजित भएका थिए। त्यस्तै वोमेन्स सिंगल्सतर्फ नेपालकै नम्बर एक महिला खेलाडी नङसलको यात्रा पनि दोस्रो चरणसम्म पनि पुग्न सकेन।