ढुक्क हुनुस् लोडसेडिङ हुँदैनः प्राधिकरण

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि लोडसेडिङ नहुने जनाएको छ। विद्युत् भार व्यवस्थापन चुनौतीपूर्ण रहे पनि उचित व्यवस्थापनमार्फत् आपूर्तिलाई सहज बनाउने प्रयास सफल हुँदै गएकोले फेरि लोडसेडिङ हुने कुरा निराधार भएको जनाएको छ।

बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रूपमा लोडसेडिङ भइरहेको र हुने भन्ने समाचार निराधार रहेको जनाएको छ। अहिले औद्योगिक क्षेत्रका ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित, अघोषितरूपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणले जनाएको छ।

प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिना साथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत् आपूर्ति सुचारु गरिरहेको प्राधिकरणको भनाइ छ। आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत वितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार देशैभरि काम भइरहेको बिहीबार जारी विज्ञप्तीमा भनिएको छ।

हिउँद लागेसँगै पानीको बहाब घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत् माग बढ्ने भए पनि सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको छ। गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको प्राधिकरणले जनाएको छ।

अहिले प्राधिकरणअन्तर्गतका जलविद्युत आयोजनाबाट ३ सय ७२ मेगावाट (९२ मेगावाटको कुलेखानीबाहेक), निजी क्षेत्रबाट २ सय २० मेगावाट र भारतबाट ३ सय ७२ मेगावाट गरी कूल ९ सय ६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ। नपुग करिब ३०० मेगावाटका लागि उच्चतम् विद्युत माग हुने समयमा औद्योगिक ग्राहकको करिब तीन घण्टा विद्युत कटौती भईरहेको छ।

विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहको उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको छ। विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ अभियान सहयोग गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरण टोली भारत जाँदै

काठमाडौं, (नेस)
नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) को बैठकका लागि प्राधिकरणको टोली भारत जाने भएको छ।

यसअघि पुस ५ र ६ गते हुने भनिएको बैठकमा भारतीय टोलीले अन्तिम समयमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि नेपाली टोली भारत जान लागेको हो। तर, कहिले भारत जाने भन्ने विषय टुंगो लागेको छैन।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत् भारतबाट आयात भइरहेको १ सय ४५ मेगावाट विद्युत सम्झौता अवधि सकिन लाग्दासमेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठक बस्न नसकेपछि सम्झौता नवीकरणका विषयमा अहिले अन्योलता देखिएको छ।

हाल ढल्केबर सबस्टेशसनमार्फत् भारतबाट आयात भइरहेको विद्युत् सम्झौता अवधि पुस १६ गते सकिँदै छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) को बैठकमार्फत् विद्युत खरिद सम्झौता तथा महशुल नवीकरण गर्न पुस ५ र ६ गतेका लागि बैठक तय भएको थियो। तर, जेएससी टोलीले आकस्मिक रूपमा बैठक स्थगित भएको जानकारी प्राधिकरणलाई गराएको छ। जेएससी टोलीले बैठक स्थगन भएको जानकारी गराएपछि प्राधिकरणले विद्युत् आयात सम्झौता तीन महिना बढाउन पत्राचार गरेको छ।

भारतबाट आउने १ सय ४५ मेगावाट विद्युत् सम्झौता नवीकरण समयमा हुन नसके पनि त्यसले मुलुकको विद्युत् भार व्यवस्थापनमा कुनै असर नपर्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो। अधिकारीले भन्नुभयो– ‘प्राधिकरणको टोली चाँडै सम्झौता नवीकरणका लागि भारत जाँदैछ। ढल्केबर सबस्टेसनमार्फत् आउने विद्युत् सम्झौता नवीकरणको समय तीन महिना बढाउनका लागि हामीले पत्राचार गरिसकेका छौं।’

हिउँदयामको विद्युत् आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा नेपाल–भारत प्रसारणलाइन संरचनबाट सहजरूपमा विद्युत् आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायबाट आवश्यक सहयोग पाइरहेको प्राधिकरणले जनाएको छ। यस अर्थमा पनि ढल्केबर सबस्टेसनमार्फत आयात हुने विद्युतका विषयमा शंका उपशंका गर्न नहुने उसको भनाइ छ।