हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, अलबिदा चन्द्रराज शर्मा

0
Shares

विदुर गिरी, काठमाडौं

राजा महेन्द्रबाट नेपाल कला भूषण उपाधिद्वारा सम्मानित संगीतसाधक चन्द्रराज शर्मा उनैले संगीत भरेका माथिको गीतझैं कहिल्यै फेरि संगम नहुने गरी यस धर्तीबाट बिदा भएका छन्। बुधबार रातिसम्म सामान्य रहेका शर्माले बिहीबार बिहान महाराजगन्जस्थित शिक्षण अस्पतालमा जीवनकै अन्तिम श्वास फेरे। ‘हिजो (बुधबार) रातिसम्म उहाँ सामान्य हुनुहुन्थ्यो। आज (बिहीबार) दूध खान गाह्रो भएपछि १० मिनेटभित्रै टिचिङ पुर्यायौं’, शर्माका संगीतकार तथा गायक पुत्र सुदेश शर्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘अस्पताल लानासाथ उहाँलाई एक्सपायर घोषणा गरियो।’

सांगीतिक घरानामा जन्मिएका शर्माले पारिवारिक सांगीतिक माहोल पाएका कारण आफूलाई संगीत साधनामा लिन गराएका थिए। उनी संगीत शिरोमणि यज्ञराज शर्माको माइलो पुत्रका रूपमा १९९६ साल फागुन २७ गते आमा होमकुमारीको गर्भबाट राजधानीको डिल्लीबजारमा जन्मिएका थिए। नजिकैको पद्मोदय हाइस्कुल डिल्लीबजारबाट एसएलसी, २०१८ सालमा त्रिचन्द्र कलेज घण्टाघरबाट बिकम र २०२१ सालमा भारतको इलाहावादबाट संगीतमा बिम्युज गरेका उनले बाल्यकालदेखि नै पिताको पदचिह्न पछ्याउँदै संगीतकर्मलाई अगाडि बढाएका थिए। पढाइमा तेजिलो हुँदाहुँदै पनि उनको झुकाव संगीततिर थियो। छोराको झुकावलाई बुझेरै यज्ञराजले उनलाई गीत गाउने कला सिकाएका थिए।

यज्ञराज रत्न रेकर्डिङ ट्रस्टको पहिलो अध्यक्ष भए पनि चन्द्रराजलाई संगीत भर्न भने सिकाएका थिएनन्। चन्द्रराजले भने जटिलभन्दा जटिल धुन सिर्जना गरेर बाल्यकालमै सबैलाई आश्चार्यमा पारिदिएका थिए। त्यसपछि यज्ञराजले संगीतका आधारभूत ज्ञान र गुणहरु सिकाएका थिए। घरमै नेपालका विख्यात संगीतकार पिता पाएपछि चन्द्रराजले सानैमा संगीतमा आफूलाई निखार्दै लगे। त्यसो त उनका भाई सूर्यराज शर्मा नेपालका अर्का अब्बल संगीतज्ञ थिए।

रेडियो नेपालको स्थापना हुँदा चन्द्रराज केवल ९ वर्षका थिए। रेडियोमा गुञ्जने आवाजले भने उनलाई आकृष्ट गर्दथ्यो र त्यसमा प्रसारण हुने गीत सुनेरसमेत उनी आफूलाई परिष्कृत गर्दै जान्थे। रेडियो नेपाल स्थापना भएकै वर्ष पिताका साथ त्यहाँ पुगेका उनले २०१७ सालमा तारा भण्डारीसँग बिहे गरेका थिए। उनका दुई पुत्र नरेश र सुदेशराज शर्मा हुन्। दुवैले रेडियो प्रसारण र संगीत गरी भिन्दाभिन्दै विधामा ख्यातिप्राप्त छन्।

हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, मनमा माया तनमा माया, आँखाहरुले रुन नखोजे (चलचित्र कुमारी), चपला अबला एक सुरमा (चलचित्र भानुभक्त), मेरो माल मलाई फर्काइदेउ बाबु (चलचित्र जीवनज्योति), ए मेरी मुना नभन (गीति नाटक मुनामदन) जस्ता सदावहार र कालजयी गीतहरुका यी संगीत सर्जकले जीवनकालभर सार्थक र ओजपूर्ण गीतहरुको संगीत तयार पारे। उनीद्वारा संगीत सिर्जना गरिएका गीतहरु नारायणगोपाल, माणिकरत्न, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, रविन शर्मा, तारादेवी, गोपाल योञ्जन, प्रकाश श्रेष्ठ, लोचन भट्टराई, रामकृष्ण ढकाल, एम बराल, राजेशपायल राईजस्ता गायकगायिकाले गाएका थिए। खास गरी शास्त्रीय संगीतका यी गुरु र चेलाले शास्त्रीय, फिल्मी, नाट्य, भक्ति र राष्ट्रिय गीतहरुका लागि संगीत भरेका छन्। उनले संगीत भरेका दर्जनौं गीतहरु अहिले पनि सदावहार र कालजयी गीतका रूपमा अमर रहेका छन्।

मुनामदन, गौरी, सत्य हरिश्चन्द्र, कुञ्जिनी, धने, स्वतन्त्रको सम्मान, राजकुमार, विश्वान्तर, भृकुटी, श्रीकृष्ण लीला, मुटुको व्यथालगायतका नाटकमा जीवन्त संगीत भरेका चन्द्रराजले आफ्नो संगीत सिजनाले थुपै्र फिल्मलाई पनि धनी बनाइदिएका छन्। पहिलो रंगीन फिल्म कुमारीदेखि जीवनज्योति, धर्ती आकाश, श्रीस्वस्थानी, भानुभक्तजस्ता फिल्मका गीतका लागि संगीत तयार पारेका शर्माले सांस्कृतिक संस्थानमा संगीत विज्ञको रूपमा २०२९ सालदेखि कार्यरत रही संगीत विभागको निर्देशक पदबाटै २८ वर्षपछि लिएका थिए। संगीत क्षेत्रमा योगदान पुर्याएबापत उनी प्रबल गोरखा दक्षिणबाहु, वीरेन्द्र शुभराज्यभिषेक पदक, छिन्नलता विशेष पुरष्कार, नारायण गोपाल स्मृति सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाल सांगीतिक संघ सम्मान, रेडियो नेपाल सम्मान, शिक्षा पुरस्कार, रूपक स्मृति कला सम्मानजस्ता विभूषण र सम्मानबाट सम्मानित भएका थिए। उनको निधनको खबर पाएपछि संगीतपे्रमी बिहानै शिक्षण अस्पताल पुगेका थिए भने दिउँसो पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि समेत पुगेका थिए। उनको बिहीबार नै अन्तिम संस्कार गरिएको छ।