किस्ट मेडिकल कलेज एक सातादेखि ठप्प

0
Shares

भगवती तिमिल्सिना, काठमाडौं

किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एक सातादेखि स्वास्थ्य परीक्षण सेवा ठप्प भएको छ। कर्मचारी आन्दोलनमा उत्रिएका कारण अस्पतालको सेवा बन्द छ। आकस्मिक बिरामीलाई सघन उपचार गर्नुपरे पनि सेवा दिन सक्ने अवस्था अस्पतालमा नभएको आन्दोलनरत कर्मचारीले बताएका छन्।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्तरूपमा १५ सूत्रीय माग अघि सार्दै अस्पताल ठप्प पारेका हुन्।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पूर्वअध्यक्ष तथा वार्ता कमिटिका संयोजक उमेश बर्तौलाले व्यवस्थापनले बेवास्ता गरेका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो। ‘श्रम ऐनअनुसार प्रत्येक २ वर्षमा सामूहिक सौदावाजीमा टेकेर मागपत्र राखेका थियौं। व्यवस्थापन पक्षले सुनुवाई नै गरेन। श्रम कार्यालयमा ४ पटक वार्तामा बस्दा पनि निकास निस्केन’, उहाँले भन्नुभया– ‘व्यवस्थापकलाई पनि पटक–पटक आग्रह गर्यौं, सुनुवाई भएन।’ मंसिर २८ गतेबाट शान्तिपूर्णरूपमा काम छोड्ने भनेर काम नगरी बसेको जानकारीे दिनुभयो।

‘चिकित्सकको ऐक्यबद्धता छ प्रत्यक्ष संलग्नता छैन। आकस्मिक र फार्मेसीबाहेक सबै आन्दोलनमा उत्रेका छन्। आकस्मिक सेवा बन्द गर्दैनौं। आईसीयू पनि बन्द छ। हाजिर गर्ने वातावरण नभएसम्म सघन उपचार कक्ष पनि चल्दैन, चल्ने वातावरण बनाउन व्यस्थापन पक्षले वार्ताद्वारा निकास निकाल्नुपर्छ’ –उहाँले भन्नुभयो।

कर्मचारीले व्यवस्थापनसँग श्रम ऐनअनुसार तलब वृद्धि हुनुपर्ने, गाडी भाडा पाउनुपर्ने, नाइट सुबिधा पाउनुपर्ने, आउटसोर्सिङ कर्मचारी बन्द गर्नुपर्ने, कर्मचारीले उपचार सुविधा पाउनुपर्ने, दशैं तिहारको बिदा समान हुनुपर्ने, उमेर हदका कारण वा शारीरिक अशक्तताले अवकास पाएकालाई आजीवन ५० प्रतिशत स्वास्थ्य सेवामा छुटको व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको बढुवा तथा बिदाको पैसा दिने व्यवस्था हुनुपर्ने, विनियमावली संशोधन श्रम ऐनअनुसार हुनुपर्ने, अस्पतालको फार्मेसी अस्पतालकै हुनुपर्ने, औषधि खरिदमा कर्मचारीलाई २५ प्रतिशत छुट दिनुपर्ने, मातृशिशु स्याहारअन्तर्गते स्तनपानको लागि उचित स्थानको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण विभागमा कर्मचारी आवश्यकताअनुसार थप गर्नुपर्ने, जोखिम भत्ता र खाईपाई आएको सुविधा यथावत राख्नुपर्ने जस्ता माग राखेका छन् । यता अस्पतालका चिकित्सक डा. शुबबहादुर गुरुङले अस्पतालको सेवा अवरुद्ध भए पनि बोर्ड परीक्षा नरोकिएको र प्रयोगात्मक अभ्यास भने केही दिनका लागि स्थगित भएको बताउनुभयो।

यतिबेला चिकित्सकहरू आन्दोलनमा छैनन् कर्मचारीहरूले बन्द गराएका हुन्। कलेज बिदा भएकाले पठनपाठनमा खासै फरक नपरेको उहाँले बताउनुभयो। अस्पताल व्यवस्थापन पक्ष भने पटक–पटक फोन सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन्। यता प्रसूतिका लागि डेट लिएका महिलाहरू अस्पताल पुग्दा बन्दका कारण समस्यामा परेका छन्। मंगलबार मात्र एक गर्भवती महिला डेलिभरिका लागि अस्पताल पुग्दा बन्द देखेपछि अब कुन अस्पताल जाने भनेर छटपटाएको अवस्थामा एम्बुलेन्सले त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।

यता चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन प्राडा. जगदीशप्रसाद अग्रवाललका अनुसार लिखित परीक्षा सञ्चालन भए पनि प्रयोगात्मक परीक्षा बिरामी नभएका कारण २ साताका लागि स्थगित गरिएको छ। सोही विषयमा परीक्षा महाशाखाका सहायक डिन प्राडा.राजेन्द्र गुरागाईंले पनि प्रयोगात्मक परीक्षा स्थगित गरिएको जानकारी गराउनुभयो।