उजुरीको साहस बढे पनि रोकिएन बलात्कार



नेपाल समाचारपत्र, हेटौंडा ।
६ वर्षीया बालिका बलात्कृत हुन्छिन्, त्यो पनि २८ वर्षे युवकबाट । मानवताका सबै अंश बिर्सेर गरिएको कुकृत्यले मृत्युको मुखमा पुग्छिन् उनी । पछिल्लो समय भएका यस्ता घटना आङ नै सिरिङ्ग पार्ने खालका छन् ।

समाजमा यति निकृष्ट घटनाको सिलसिला चलिरहेछ । बोली फुटेर सुखद् बाल्यकाल नभोग्दै दानवको शिकार बनेका बालिका बलात्कारको घटना बालहिंसाको निकृष्ट नमूना त हो नै तर, यो सामाजिक मुद्दाका रुपमा उठ्छ वा उठ्दैन भन्ने चासोको विषय हो ।

संवेदनहीन समाजमा अपांग र अशक्त पनि छाडिएनन् । वृद्धासमेतको बलात्कार भएको घटना छ । आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको समाजमा अपराध बढ्नु स्वभाविक हो । तर, घटनाका पीडक कति नृशंस रहेछन् भन्ने घटनाको प्रकृतिले प्रष्ट पार्छ । यसअघि पनि बलात्कारका धेरै घटना उजुरी भए । तर, कतिपय घटनामा दोषी पक्राउसम्म परेनन् ।

पक्राउ परे पनि अनेकन हतकण्डा अपनाएर उम्कन सफल भए । बलात्कारीलाई उन्मुक्ति दिन सक्रिय हुनेको पनि कमी छैन । पत्थरको मन भएपछि स्वार्थका लागि जे पनि गर्न तयार हुन्छ मान्छे । यहाँ जिम्मेबार निकायमा पत्थरको मन भएकाहरुको हालीमुहाली छ । त्यसैले बलात्कारी प्रोत्साहित हुन्छन् र बलात्कारका घटना बढिरहन्छन् ।

यस्तो श्रृंखला मकवानपुरमा कम छैन । २०७३ पुस २ गते कैलाश गाउँपालिकाका ६६ वर्षीय वृद्धले बालिकालाई बलात्कार गरे । उनी हाल थुनामा छन् । सोही वर्ष माघमा बालिका बलात्कारको अभियोगमा प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर–१ का जितबहादुर कुँवरलाई पक्राउ गरेको थियो । माघ महिनामा नै बकैया गाउँपालिका वडा नम्बर–१२, ठिंगनका २८ वर्षीय ठूलोबाबु डिम्डुम पक्राउ परे । माघ २३ गते हेटौंडा–१२ का ५४ वर्षीय सानुकान्छा दाहाललाई प्रहरीले पक्राउ ग¥यो ।

२०७३ चैत १ गते बाराका अब्दुल रसईले हेटौंडा–१० मा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । बलात्कारका घटना २०७४ को वैशाखमा पनि भयो । वैशाख ७ गते २५ वर्षीय विकास लामाले १५ वर्षकी किशोरीलाई बलात्कार गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

जेठ १४ गते १४ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका वडा नम्बर–७ का लालबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको थियो । पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा हेटौंडा–८ का ५१ वर्षीय राजेन्द्र देउलालाई प्रहरीले जेठमा पक्राउ गरेको थियो ।

१० वर्षकी बालिका बलात्कार गरेको आरोपमा हेटौंडा–३ का २२ वर्षीय पुजन बललाई प्रहरीले पक्राउ ग¥यो । बलात्कार अभियोगमा भदौमा मकवानपुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा–९ का श्रीराम कार्की तथा १४ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा थाहानगरपालिका–११ का आकाश बललाई प्रहरीले पक्राउ गरेको थियो । कार्तिकमा १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा मनहरी–६ का ३२ वर्षीय विष्णु कार्की पक्राउ परे ।

मकवानपुरमा पछिल्लो समय बलात्कारका घटना भयावह बन्दै गएको छ । बालिका तथा किशोरी बलात्कारका घटना धेरै हुन थालेका हुन् । हेटौंडामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेक मकवानपुरले गरेको वार्षिक समिक्षामा इन्सेक मकवानपुर प्रतिनिधि प्रताप बिष्टले प्रस्तुत गरेको प्रतिवेदनमा बलात्कारका घटना भयावहढंगले बढेको देखिएको हो ।

मकवानपुरमा प्रत्येक महिना एक भन्दा धेरै महिला तथा बालिका बलात्कारको शिकार हुने गरिएको देखिएको छ । सन् २०१७ को जनवरीदेखि डिसेम्बरसम्म १६ महिला तथा बालिका बलात्कारको शिकार भएका छन् ।

बालिका र किशोरीबाहेक मकवानपुरमा सुस्तःमनस्थितिका महिला तथा १८ वर्षमाथिका महिला पनि बलात्कारको शिकार भएका छन् । इन्सेकले जारी गरेको प्रतिवेदनमा मकवानपुरमा सामूहिक बलात्कारको शिकार भएको देखिएको छ भने होटलमा जबर्जस्ती यौनधन्दा गर्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको घटनामा पीडित जहिले पनि खतरामा पर्छन् । त्यसैले बलात्कारीले पीडितको हत्या गरिदिन्छ । बलात्कारपछि पनि कहीं कसैलाई भनेमा वा उजुरी गरेमा ठूलो नोक्सान पु¥याइदिने धम्की दिइन्छ । धम्कीका कारण पीडित कसैलाई भन्न सक्दैनन् । जीवनभर पीडा गुम्स्याएर बाँच्न विवश हुन्छ ।

बलात्कारी झन् प्रोत्साहित भएर डरधम्की देखाएर बारम्बार बलात्कार गर्छ । बलात्कार घटना गुपचुप हुँदा बलात्कारी झन् उत्साही हुन्छ । जसका कारण उसल झन् धेरैलाई ‘हवस्’ को शिकार बनाउँछ । पीडितले कथम्कदाचित् आफन्त वा साथीसंगीलाई भनिहाले पनि लोकलाजको सम्भावनाका कारण घटना लुकाउन लगाइन्छ । यसले पीडितले आफूमाथि जहिले पनि खतराको महसुस गर्छन् ।

महिला र बालबालिका बलात्कारको घटना बढ्नु वा घट्नुको तथ्यांक प्रहरीमा परेको उजुरी र मुद्दा दर्तालाई मात्र आधार मानेर निक्र्योल गर्न सकिँदैन । बलात्कारका घटना कममात्र उजुरीमा पर्छ । यसका पछाडि समाजमा बलात्कृतप्रतिको परम्परागत मूल्य र मान्यता मुख्य कारक मानिएको छ ।

वर्तमानमा त्यसको सिलसिला चलिरहेछ । विगतमा घटनाको उजुरी सायदै हुन्थ्यो । पछिल्लो समय शिक्षा, चेतना र सशक्तीकरणले उजुरी गर्ने साहस बढेको इन्सेक प्रतिनिधि बिष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्