सुन्तलाको उत्पादन बढ्यो, १२ करोडको निकासी

0
Shares

गणेश घिमिरे, इलाम

गत वर्षको तुलनामा यस वर्ष इलाममा सुन्तलाको उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ। यस वर्ष ३ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ५ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जुन गत आवको तुलनामा भन्दा तीन प्रतिशत अर्थात् १ सय ६ मेट्रिक टनले बढी हुन आउँछ।

गत आवमा ३ सय ४० हेक्टरमा गरिएको सुन्तला खेतीबाट जिल्लामा ३ हजार ५ सय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ। सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाका सुम्बेक, नाम्सालिङ, जिर्मले, सोयाङ, बरबोटमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ। यस्तै सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मीपुरमा भने सुन्तलाको उत्पादन विगतका वर्षमा जस्तो नभएको कार्यालयका योजना तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताउनुभयो।

कृषिको तथ्यांकअनुसार यो वर्ष जिल्लाबाट उत्पादन भएको सुन्तलामध्ये १ हजार ९ सय ९५ मेट्रिक टन निकासी भएको छ। निकासी गरिएको सुन्तला प्रतिकिलो सरदर ६० रुपियाँका दरले बिक्री भएको छ। जसबाट जिल्लामा १२ करोड रुपियाँ भित्रिएको छ। यो गत आवको भन्दा डेढ करोड रुपियाँ बढी हो। गत आवमा १ हजार ७ सय ६१ मेट्रिक टन निकासी भएकोमा १० करोड ५६ लाख रुपियाँ इलामे कृषकले हात पारेका थिए।

जिल्लामा उत्पादन भएको सुन्तला पहाडी जिल्लाका साथै झापा, मोरङ तथा भारतका विभिन्न शहरमा निकासी हुँदै आएको छ। सुन्तला टिप्ने सिजनबाटै तराईका व्यापारी इलामे कृषकको बगान–बगान पुग्ने गरेकाले सुन्तला खेती गर्दै आएका कृषकलाई बजारको भने समस्या भने नभएको इलाम नगरपालिका ५ बरबोटे तोरीबारीका कृषक राजु घिमिरेले बताउनुभयो। तर, मूल्य भने सोचेजस्तो नपाएको उहाँले बताउनुभयो।

सुन्तला व्यापारबाट मात्रै इलाममा हरेक वर्ष करोडौं रुपियाँ भित्रिरहेको अवस्थामा माइजोगमाई गाउँपालिका–३ र ४ स्थित नाम्सालिङबाट मात्र यो वर्ष करिब ३ करोड रुपियाँ बराबरको सुन्तला झापा र मोरङका विभिन्न बजारमा निकासी भएको स्थानीय व्यापारीले बताएका छन्। तर, केही वर्षयता सुन्तला खेतीमा रोगको संक्रमण देखापरेपछि पछिल्लो वर्षमा सुन्तलाका बगान मासिने क्रम पनि बढ्दै गएको छ। जसबाट कृषक चिन्तित बन्दै गइरहेका छन्। सुन्तलामा ग्रिनिङ सिट्रसजस्ता भाइरल रोग देखापरेपछि जिल्लामा धेरै सुन्तलाका बगान सखाप भइरहेका छन्।