टिभी प्रस्तोतालाई आजीवन कारावास


नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतले एउटा लोकप्रिय टेलिभिजनमा क्राइम सिरिजका प्रस्तोतालाई बुधबार सन् २००० मा आफ्नी पत्नीको हत्या गरेको अभियोगमा आजीवन कारावास सजाय सुनाएको छ।

इन्डियाज मोस्ट वान्टेड कार्यक्रम चलाउने सुहाइव इलायसीले आफ्नी पत्नी अन्जु इलायसीलाई छुरा प्रहार गरी हत्या गरेका थिए। तर उनले अदालतसमक्ष आफ्नी पत्नीले आत्महत्या गरेको बयान दिएका थिए।

अनुसन्धानबाट उनले पत्नीलाई माइतबाट थप दाइजो ल्याउन निर्मम यातनासहित दबाब दिने क्रममा उनको मृत्यु भएको पत्ता लागेको थियो। इल्लायसीका वकिलले अदालतको यस निर्णयविरुद्ध उच्च अदालतमा अपिल गर्ने जानकारी पत्रकारहरूलाई दिएका छन्।

इलायसीविरुद्ध मुद्दा चालउन उनकी सासूले प्रहरीसमक्ष माग नगरुन्जेलसम्म अन्जु इलायसीको मृत्युलाई आत्महत्या नै मानिएको थियो। सन् १९६१ देखि भारतमा दाइजो लिनु र दिनु गैरकानुनी मानिएको हो। तर अझैसम्म पनि समाजमा दाइजोप्रथा कायमै रहेको छ। भारतमा प्रशस्त दाइजो नल्याएकै निहुँमा हरेक वर्ष हजारौं महिलाको आफ्नै पतिको परिवारबाट हत्या हुने गरेको छ।