कुकुरहरूद्वारा मालिक्नीको विभत्स हत्या


वासिङ्टन, (एजेन्सी)
अमेरिकास्थित भर्जिनियाको ग्रामीण क्षेत्रका प्रहरीले एक महिलाको हत्यासम्बन्धी भयावह वास्तविकता सार्वजनिक गरेको छ। प्रहरीले ती महिलालाई गत साता आफैले डुलाउन लाँदै गरेका आफ्नै दुईओटा कुकुरले मारेको बताएको छ।

चार दिनपछि २२ वर्षीया बेथानी स्टेफन्सको शव भेटिएपछि उनको हत्याबारे फैलिएका विभिन्न हल्ला साम्य पार्न प्रहरीले दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ। शुक्रबार प्रहरीले शुरूमा दुईवटा कुकुरले ढुकेर बसेको चिज कुनै जनावरको सिनो हुनुपर्ने विचार गरेको थियो। तर सो लाश स्टेफन्सको थियो। ती पिटबुल कुकुरले उनको शव खाँदै थिए।

गुचल्यान्ड काउन्टिका प्रहरी जिम एग्न्युले भने– ‘म र मेरा सहकर्मी साथीहरूले ती कुकुरले लाशको करङको खोपिल्टाको मासु खाँदै गरेको देखेका थियौं। उनीमाथि सबैभन्दा पहिले उनको अनुहार र घाँटीमा डरलाग्दो आक्रमण भएको जस्तो देखिन्थ्यो।’

उनलाई भुइँमा पछारेर बेहोस बनाइसकेपछि ती कुकुरले उनलाई मारेको हुनुपर्छ। पीडित परिवारको चिन्ताको कारण शुरूमा यसबारे ग्राफिक विवरण सार्वजनिक नगरिएको हो। स्टेफन्सको खप्परको प्वालको आधारमा चिकित्सकीय अनुसन्धानकर्ताले त्यो कुनै जनावरको सिनो नभई मानव लाश भएको निर्णय गरेको हो।

स्टेफन्सका आफन्त र साथीहरू भने सानैदेखि पालिएका कुकुरले उनलाई किन मारे भनी आश्चर्यमा परेका छन्। ती दुईवटा कुकुरको वजन उनको भन्दा करिब दोब्बर बढी रहेको छ। परिवारकै अनुमतिमा मारिएका ती कुकुरको लाश पोस्टमार्टमका लागि सुरक्षित राखिएको छ। भर्जिनियाको रिचमन्डस्थित एउटा सानो जंगलमा स्टेफन्सको खोजी गर्ने क्रममा उनका पिताले उनको शव र टोन्का र प्याम्यान नामक ती कुकुर फेला पारेका थिए।