बिछोडिने पीडाले वृद्ध दम्पती रोए


टोरोन्टो, (एजेन्सी)
सात दशकभित्र पहिलो पटक क्रिसमसको एक साता पहिले आफूहरूलाई एक अर्काबाट अलग्याइने थाहा पाएर क्यानाडाका एक वृद्ध दम्पती निकै भावविह्ल भएका छन्।
लामो समयदेखि वृद्ध स्याहार गृहमा आफ्नी पत्नी ८९ वर्षीया एन्ड्री गुडाइनसँग बस्दै आएका ९१ वर्षीय हर्वर्ट गुडाइनलाई पत्नी छोडेर एउटा नर्सिङ होममा जान अनुरोध गरिएको छ। न्यु ब्रन्सविकका पर्थ एन्डोभरस्थित सो स्याहार गृहले शुक्रबार ती दम्पती चाँडै अलगिनुपर्ने सूचना दिएको थियो।

यस घटनाका कारण क्यानाडाभरि व्यापक जनआक्रोश फैलिएको छ। तिनीहरूका छोरी डियान्ने फिलिप्सले फेसबुकमा लेखेकी छिन्– ‘उहाँहरूसँग कुराकानी गर्दा यस दुःखद कुरा सम्झेर मेरी आमा रुन थाल्नुभयो। मेलै आमाको पछाडि बसिरहनुभएका बुबालाई पनि सुँक्क सुँक्क गरेको सुनें।

मेरी आमाले यसपालिको क्रिसमस उहाँहरूको जीवनकै सबैभन्दा खराब ठहरिएको बताउनुभयो। उक्त गृहले किन क्रिसमससम्म उहाँहरूलाई सँगै राख्न नसकेको होला?’

फिलिप्सको यो फेसबुक पोस्ट १५ हजार पटक सेयर भइसकेको छ। फिलिप्सले उक्त दीर्घकालीन स्याहार सुसार गृहले केही दिनअघि आफूलाई फोन गरी आफ्नो बुबाको स्वास्थ्य स्थिति खस्कँदै गएकाले थप उपचारका लागि उनलाई नर्सिङ होममा सार्नुपर्ने जानकारी दिएको बताएकी छिन्।